फोटोग्राफर राजेश शाक्य पूर्वका धेरै ठाउँमा पुगेर फोटो खिच्थे । उनका ती फोटोहरू नेपालमा मात्रै हैन, विदेशसम्म पुगेका छन् । धरान उपमहानगरपालिका–१२ महेन्द्र पथमा जन्मिएका उनले धरान आसपासका फोटो निकै कम खिचेका थिए ।

बजार क्षेत्रको तस्बिर खिचे पनि धरान आसपासबारे निकै कम जानकार रहेछु भन्ने ज्ञान उनले ‘स्वास्थ्यका लागि पदयात्रा’ मा हिँड्दा मात्रै थाहा पाए । “स्वस्थ पनि भइने, फोटो पनि खिच्न पाइने भनेर हिँड्न थालेँ । त्यसपछि थाहा भयो म त धरान बजारमा मात्रै थिएँछु” पदयात्राकै समयमा भेटिएका उनले भने, “धरान त कत्रो ठाउँ रहेछ । हेर्नलायक ठाउँहरू धेरै पो रहेछन् ।”

उनले अहिले पदयात्राको क्रममा धेरै स्थानको तस्बिर खिचिसकेका छन् । २०७६ सालदेखि निरन्तर पदयात्रामा छन् । उनी सिद्धार्थ हाइकिङ समूहको सदस्य पनि हुन् । त्यही समूहसँग प्रत्येक शनिबार उनी धरान आसपासका क्षेत्र डुल्छन् । “पहिलो त स्वास्थ्यका लागि नै हो” उनी भन्छन्, “त्योबाहेक फोटोका लागि राम्रा–राम्रा दृश्यहरू पोटे«ट र ल्यान्डस्केप खिच्छु ।” पदयात्राका कारण धरानका सबै डाँडाकाँडाको अवलोकन गरिसकेको उनी बताउँछन् । विशेषगरी यो समूह चिण्डेडाँडा, शूलीकोट, भेडेटार, विष्णुपादुका, दानाबारी, सुमनटार, पानबारी, जङ्गल क्षेत्र, तरहरासम्म पुग्ने गरेको छ ।

धरानमा औपचारिक रूपमा पदयात्राको थालनी सेवक अभियानबाट भएको हो । मर्निङ वाक जाने चलन पुरानै भए पनि पदयात्रा संस्कृतिको विकासमा सेवक अभियानको ठूलो भूमिका छ । २०७४ साल भदौ ३१ गतेबाट सेवक अभियानले पदयात्रा थालेको थियो । यो समूहमा करिब २४–२५ जना नियमित हिँड्थे । नियमित हिँड्नेमध्येका सिद्धार्थ हाइकिङ समूहका अध्यक्ष सहदेव लिम्बू पनि एक हुन् । उनका अनुसार २०७६ सालदेखि निरन्तर पदयात्रामा हिँड्दै आएका छन् । उनी भन्छन्, “राजीव हलुवाई दाइको थ्रोबाट हिँड्न थालेको हो, मेन सिकाउने चाहिँ उहाँ नै हो ।”

तर सेवक अभियानको टोली धरानबाहेक टाढा–टाढा जान थालेपछि भने उनका टिम छुट्न थाले । “टाढा–टाढा जाँदा हामी नभ्याउने, दुई–चार घण्टा हिँडेर घरमा आएर काम गर्नुपर्छ, त्यो भएर हामी छुट्न थाल्यौँ”–उनी भन्छन् । यही कारण दुई वर्षअगाडि धरान–८ सिद्धार्थ टोलको नामबाट सिद्धार्थ हाइकिङ समूह बनाई प्रत्येक साता हिँड्ने गरेका छन् । टोलीमा १५–१६ जना हुने गरेका छन् । “नियमित चाहिँ १०–११ जना हुन्छौँ”–उनले भने । उनी वैदेशिक रोजगार अन्तर्गत दक्षिण कोरियामा १४ वर्ष बिताएर फर्किएका हुन् । घरमा बसिरहँदा उच्च रक्तचाप, मधुमेहजस्ता रोगले ग्रस्त हुन थालेपछि ‘स्वास्थ्यका लागि पदयात्रा’ भन्दै हिँड्न थालेको उनले बताए । उनका अनुसार धरानमा झण्डै सयवटा जति पदयात्राका रूट रहेका छन् ।

सेवक अभियानका अभियन्ता एवम् हाल अध्यक्ष रहेका राजीव हलुवाईका अनुसार अनौपचारिक रूपमा २०७२ साल साउन ४ गतेबाटै सुरु भएको थियो । तर त्यो बेला बोलबमका भक्तजनहरूको भीडलाई नियन्त्रण गर्ने, सामाजिक तथा धार्मिक काममा मात्रै संलग्न हुने गरेको उनको भनाइ छ । “सुरुमा चाहिँ धार्मिक, सामाजिक काम गर्न थालेका थियौँ । स्वयम्सेवी संस्थाको रूपमा अगाडि बढाएका थियौँ” उनले भने, “२०७४ सालपछि मात्रै आफू पनि स्वस्थ हुनुपर्छ भनेर पदयात्रा थालेका हौँ ।”

उनका अनुसार सुरुमा धरान आसपासलाई गन्तव्य बनाई हिँड्ने गरेको भए पनि त्यसपछि अन्य स्थानहरूमा पनि जान थालेका थियौँ । सुरुमा धरानका सयवटा रूट नदोहो¥याई हिँडेको अनुभव साट्छन् । “अहिले त पदयात्रा संस्कृतिको रूपमा विकास भएको छ । खुसी लाग्छ” उनले भने, “हाम्रो अभियान देखेर अहिले धरानमै चार–पाँच वटा समूह बनेका छन् । कतिपय हाम्रै साथीहरूले खोलेका छन् ।”

उनका अनुसार २०७६ सालमा औपचारिकरूपमा धरान उपमहानगरपालिकामा दर्ता गरी अगाडि बढाइँदै आएको छ । हिँड्ने कारण कतिपय स्थान त ब्रान्डिङ (ख्याती) को रूपमा समेत रहेको छ । उनका अनुसार दानाबारी, चिण्डेडाँडा, भेडेटारका रूटहरू ब्रान्डिङ भएको छ । जसमा पुग्नका लागि चार–पाँचवटा फरक–फरक रूटहरू रहेको उनको भनाइ छ । “हाम्रै प्रेरणाबाट अहिले पदयात्रा हिँड्ने धेरै ग्रुप बनेका छन्, हिँड्नुपर्ने रहेछ भन्ने ज्ञान धेरैमा आएको छ”–उनले भने ।

धरान पदयात्राका लागि निकै नै राम्रो ठाउँ रहेको उनको बुझाइ छ । विशेषगरी दुई घण्टाको आसपासमा हिँड्न सकिने धरानका रूटहरूमा चराचुरुङ्गी, वनस्पति र जैविक विविधता भेटिने गरेको छ । “यहाँ चराचुरुङ्गी, वनस्पति सबै भेटिने भएकाले पदयात्रीहरूलाई एकदमै उपयुक्त ठाउँ हो”–उनले भने । यही दृश्यहरू देखिने भएकाले फोटोग्राफर राजेश शाक्य ‘डी एसएलआर क्यामेरा’ बोकेरै पदयात्रामा निस्किन्छन् । उनले पदयात्राका क्रममा दर्जनौँ तस्बिर कैद गरेका छन् ।

1000024113