ropaiसोलुखुम्बू/ एक पाथी धानको बीउ रोपियो भने कति फल्छ होला ? धानको उत्पादन राम्रो हुने ठाउँमा त चार÷पाँच मुरी नै उत्पादन होला, सोलुखुम्बूकै तल्लो क्षेत्र नेचा, सल्यानलगायतका बेंसीमा पनि त्यही हाराहारीमा उत्पादन हुने कृषक बताउँछन् । सोलुखुम्बुकै छेस्काममा भने चारपाथी धानको बीउबाट सरदर ६÷७ पाथी मात्रै उत्पादन हुने गरेको छ । तैपनि त्यहाँका कृषक पुस्तौंदेखि धान रोपिरहेका छन् ।चारपाथी धानको रोपाइँ गर्न असारमा उनीहरूलाई निकै चटारो हुन्छ तर मङ्सिरमा भियाउने समयमा निकै सप्रियो भने बढीमा आठ पाथी उत्पादन हुन्छ नत्र पाँच÷छ पाथी मात्रै हो ।

छेस्काम–९ बाछित्तोमा धुमधामसँग रोपाइँ गरिएको खेतबाट बीऊबराबर मात्र उत्पादन भएपनि रोप्नैपर्ने बाध्यता छ । यसको कारण हो वर्षभरिका लागि चाहिने अक्षता । कुलुङको कूलदेवता बुझाउन र बिरामी परेमा झारफुक गर्नका लागि स्थानीय उत्पादनकै धान÷चामल चाहिने विश्वास रहेकाले अक्षताकै लागि उनीहरू रोपाइँ गर्छन् ।

‘कुनै बेलामा त बीऊ आउन पनि मुश्किल पर्छ’, छेस्काम–६ का सरला कुलुङले भनिन्, ‘वर्षेनि पाँच पाथी धानको बीऊ रोप्छु, एकपटक धेरै सप्रिँदा आठ पाथी भित्राएँ, नत्र छ सात पाथी मात्रै हो ।’छेस्काम–६ कै विष्णुमाया कुलुङ पनि रोपाइँमा त्यत्तिकै श्रम खेर गइरहेको भएपनि अक्षताकै लागि रोपाइँ आवश्यक रहेको बताउँछिन् । भन्छिन्, ‘खानको लागि चामल त देउसाको बूढीडाँडाबाट किनेर ल्याइन्छ, तर वर्षभरिका लागि अक्षता त चाहियो नि ! चार पाथी रोप्दा छ, सात पाथी फल्छ, त्यसबाट चारपाथी त अर्को साललाई बीउ चाहिन्छ, बाँकीले वर्ष दिनलाई अक्षता पु¥याउनुपर्छ ।’

उत्पादन निकै कम हुने भएपनि अक्षताका लागि उनीहरूले अहिलेसम्म धान रोप्न छाडेका छैनन् । कूलपूजा, बिरामी पर्दा अक्षताजस्ता काममा स्थानीय उत्पादनकै धान÷चामल अनिवार्य चाहिने भएकाले धान रोप्नु उनीहरूको बाध्यता हो । उनीहरू धानको पराललाई घाँस तथा गुन्द्री बन्न प्रयोग गरेर श्रमको मूल्य पाएको भन्दै चित्त बुझाउँछन् ।