chasok tangnam kelang photoपाँचथर/ किरात लिम्बू समुदायको प्रमुख पर्व चासोक तङ्नाम धुमधाम सँग मनाइने भएको छ । चासोकको अवशरमा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको किरात याक्थुङ चुम्लुङ पाँचथरले यस वर्ष पनि उत्सवको रुपमा चासोक तङ्नाम मनाउँने तयारी गरेको हो । फिदिममा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै चुम्लुङले यो वर्ष पनि झण्डै एक महिनासम्म विविध कार्यक्रमकासाथ चासोक तङ्नाम मनाउँने तयारी गरेको जनाएको छ । मंसीर २७ गते शुभकामना आदान–प्रदान सँगै साँझमा घर–घरमा दिपावली गरेपछि चासोक उत्सव सुरु हुने चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङले बताए ।

त्यस्तै मंसीर २८ गते ‘जहाँ ऐतिहासिकस्थल, त्यहाँ अन्तरक्रिया छलफल’ भन्ने नाराकासाथ जिल्लाको नागी, पञ्चमी र अमरपुर गाविसको त्रिकोणात्मक संगमस्थल ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रमा ताम्भुङ्भा (बनभोज) कार्यक्रम गरिने बताइएको छ । सो अवशरमा चासोक तङ्नाम पर्वको विषयमा कार्यपत्र प्रस्तुती सँगै बृहत छलफल गरिने चुम्लुङ पाँचथरका सचिव सुरेन शिशिर केरुङ्ले बताए ।चासोक उत्सवकै अवशरमा मंसीर २९ गते सदरमुकाम फिदिममा पालाम् तथा ख्याली प्रतियोगिता गरिनेछ ।

त्यो सँगै पुष १८ गतेसम्म जिल्लास्थित विभिन्न संघ–संस्थाहरु सँगको समन्वयमा चासोक रमाइलो मेला लगाइने अध्यक्ष केरुङले जानकारी दिए । त्यस्तै हाल सगरमाथा आरोहणको क्रममा रहेका पाँचथर माङ्जाबुङका शुसील शेर्माको सहयोगार्थ जिल्लास्थित विभिन्न संघ–संस्था, व्यक्ति र मातहतका शाखाहरु सँग समन्वय गरी पहल गर्ने समेत पत्रकार सम्मेलनको क्रममा बताइएको छ ।प्रकृतिपुजक लिम्बू जातिमा वर्षाद्को सिजनमा लगाएका अन्नवाली पाकेपछि आफूले खानुृ अघि कुनै किसिमको दुःख–बिमार नहोस, अन्नपातको सह रहोस् भनि सबैभन्दा पहिले बिधिपूर्वक प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रचलन छ ।

यहीं न्वागी पूजालाई नै चासोक तङ्नाम भन्ने गरिएको किरात याक्थुङ चुम्लुङका राष्ट्रिय परिषद सदस्य बुद्धराज लिम्बू बताउँछन् । लिम्बू जातिले प्रत्येक घरमा गर्ने र मनाउँने यो कार्यबिधि तथा पर्वलाई पछिल्लो समय चुम्लुङले सामूहिक रुपमा मनाउँने सुरुवात गरेको हो ।यो पर्वलाई उभौली पर्व पनि भन्ने गरिन्छ । यो अवशरमा प्रत्येक वर्षको मंसीरे पूर्णिमाको दिन नेपाल सरकारले सार्वजनिक बिदा दिंदै आएको छ । यो पर्वलाई हालसम्म आफूलाई किरातीको रुपमा चिनाउँदै आएका लिम्बूहरुले चासोक तङ्नाम, राईहरुले साकेवा उभौली, सुनुवारहरुले साँदर र याख्खाहरुले चासुवाको नामले आ–आफ्नै तरिकाले मनाउँदै आएका छन् ।