एउटा साथीले भन्यो, ‘मेलै एउटा मेजर विषयमा आमसञ्चार तथा पत्रकारिता राखेर फारम भरेँ ।’ अर्को साथीले नाक खुम्च्याउँदै भन्यो, ‘छ्र्या † पत्रकार त नहुने, बरु म मेजर इङ्लिसमा फारम भर्छु ।’ सन्दर्भ धरानको महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी सङ्कायतर्पm स्नातक तह प्रथम वर्षको फारम भर्ने थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा त्रिविअन्तर्गत आमसञ्चार तथा पत्रकारिताको अध्ययन शुरु भएको एक वर्ष मात्र भएको छ । यसभन्दा अगाडि धरानमा आमसञ्चार तथा पत्रकारिताको औपचारिक शिक्षा थिएन । यसअघि नै आमसञ्चार तथा पत्रकारिता विषयका लागि महेन्द्र बहुमुखी क्याम्पसबाट पहल भएको थियो तर त्यस बेलाको त्रिविको नियमअनुसार प्रमाणपत्र तहमा पत्रकारिता विषय लिएका विद्यार्थीले मात्र स्नातक तहमा आमसञ्चार तथा पत्रकारिताको अध्ययन गर्न पाउने प्रावधान थियो । यसले गर्दा त्यस बेला यो विषय धरानमा आउन सकेन तर अहिले जुनै सङ्कायका विद्यार्थीले पनि स्नातक तहमा आमसञ्चार तथा पत्रकारिताको अध्ययन गर्न पाउने प्रावधान छ ।
यसअघि धरानका केही कलेजमा पत्रकारिताको आंशिक अध्ययन हुन्थ्यो र केही निजी सङ्घ–संस्थाहरुले अनौपचारिक शिक्षा प्रदान गर्थे । त्रिविअन्तर्गत स्नातकमा अध्ययन शुरु हुन थालेको आमसञ्चार र पत्रकारिताको तीनवर्षे कोर्समा प्रथम वर्षमा आमसञ्चार र पत्रकारिताको परिचयको पहिलो पत्रको अध्यापन हुन्छ । दोस्रो वर्षमा मिडिया अनुसन्धानको दोस्रो पत्र र मिडिया इतिहास, मिडिया कानून, आचार संहिता र मिडिया व्यवस्थापनको तेस्रो पत्र गरी दुईवटा पत्रको अध्यापन हुन्छ । तेस्रो वर्षमा विज्ञापन, जनसम्र्पक र मिडिया मुद्दाको चौथो पत्र, पाँचौँ पत्रमा फोटो पत्रकारिता र एड्भान्स पत्रकारिता, रेडियो पत्रकारिता वा टेलिभिजन पत्रकारितामध्ये कुनै एक विषय छनोट गरी अध्यापन हुन्छ । साथमा कार्यात्मक पेपरमा मिडिया, पत्रकारिता र उद्घोषणको छैठौँ पत्र गरी तेस्रो वर्षमा तीनवटा पत्रको अध्यापन हुन्छ । अध्ययनको क्रममा विद्यार्थीलाई हरेक वर्ष स्थलगत भ्रमणमा लगिने र प्रयोगात्मक कक्षा पनि हुने भएकाले आमसञ्चार र पत्रकारिताको विषयमा सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षा हुन्छ । हरेक पत्रको पूर्णाङ्क १०० हुन्छ जसमध्ये ७० अङ्कको मात्र विषयगत परीक्षा दिनुपर्ने हुन्छ र ३० अङ्कको प्रयोगात्मक तथा भाइभा हुन्छ ।
विषयगत परीक्षा ७० अङ्कको मात्र भए पनि समय भने ३ घण्टाकै हुन्छ । यसरी स्नातक तहको सिलेबस हेर्दा आमसञ्चार र पत्रकारिताको तीनवर्षे अध्यापन सकिँदा एउटा विद्यार्थी आमसञ्चार र पत्रकारिताको विषयमा दक्षता हासिल गर्न सफल हुन्छ ।श्रमजीवी ऐनअन्तर्गत अहिले पत्रकारको न्यूनतम तलब साढे १९ हजार रुपैयाँ तोकिएको छ । सरकारी कर्मचारीको तुलनामा यो तलब स्केलका आधारमा पत्रकारहरुको दर्जा कार्यालय सहायकभन्दा माथि मात्र रहेको पाइन्छ । सरकारी कार्यालयमा कार्यालय सहायकको योग्यता कक्षा ८ उत्तीर्ण भएको हुनुपर्छ र उसको न्यूनतम तलब साढे १७ हजार तोकिएको छ । सरकारी कार्यालयमा खरदार हुन प्रमाणपत्र तह उत्तीर्ण भएको हुनुपर्छ र उसको न्यूनतम तलब २२ हजार तोकिएको छ । पत्रकारितामा लागेर दाम कमाउन गाह्रो हुने र दाम कमाउने चक्करमा केही पत्रकारले भएको नाम पनि धमिल्याएकाले नामको मोह पनि घटेको अवस्थामा आमसञ्चार तथा पत्रकारिताको अध्ययन गर्न नयाँ पुस्ताले नाक खुम्च्याइरहेको अवस्था पाइन्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भनेजस्तै एक–दुईवटा पत्रिकामा लेख लेखेर, रेडियो वा टेलिभिजनमा एउटा–दुइटा कार्यक्रम सञ्चालन गरेर र विभिन्न सङ्गठनमा लागेर पत्रकारको दर्जामा आपूmलाई उभ्याइहाल्ने तर अध्ययन गरेर आचार संहितासहितको पत्रकारिता गर्न नयाँ पुस्ता तयार छैन ।
यस पेशालाई मर्यादित बनाउने जिम्मेवारी अघिल्लो पुस्ताले पनि लिन सकेको छैन । जसरी नेपाली फुटबल खेलाडी म्याच फिक्सिङमा परे, त्यसै गरी केही पत्रकारले पनि दलाल पत्रकारका रुपमा आपूmलाई उभ्याउने होडबाजी गरिरहेको अहिलेको अवस्थामा आमसञ्चार तथा पत्रकारिताको अध्ययनले यस होडलाई न्यूनीकरण गर्न सहयोग पु¥याउन सक्ने देखिन्छ, जसको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेको पाइन्छ । अहिले आमसञ्चारको क्षेत्र व्यापक भएको छ । अब हरेक सरकारी तथा गैरसरकारी संस्थामा सूचना अधिकारीको व्यवस्था गर्ने प्रावधान अगाडि ल्याइएको छ । नेपालको संविधानले सूचनाको हक प्रदान गरेको अवस्थामा कुनै पनि कार्यालयबाट सूचना प्राप्त गर्नुपरे सूचना अधिकारीबाट प्राप्त गर्न सकिन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक सकेपछि सूचना अधिकृतका रुपमा काम गर्न सकिन्छ, एनजीओ र आईएनजीओमा काम गर्न सकिन्छ, विभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिकामा पनि काम गर्न सकिन्छ । अरु विषय अध्ययन गरेजस्तै स्नातक सकेपछि अन्य क्षेत्रमा पनि यो योग्यता बराबरको काम गर्न सकिन्छ । पत्रकारिता अध्ययन गर्दैमा पत्रकार भइन्छ वा पत्रकार नै हुनुपर्छ भन्ने सोच गलत हो ।
पत्रकारले समाजको वकालत गर्दछ र यो पेशाबाट पनि राम्रो दाम कमाउन सकिन्छ भन्ने मानसिकता लिन जरुरी छ । पत्रकारितालाई मर्यादित बनाउन हामी सबैले हातेमालो गर्न जरुरी छ । त्यसैले अबको नयाँ पुस्ताले आमसञ्चार तथा पत्रकारिताको अध्ययनले पत्रकारितामा भविष्य बनाउनुका साथै समाजलाई विकासको बाटोमा अगाडि बढाउन मद्दत पुग्न सक्छ भन्ने सोच राखी यो विषय पढ्ने सोच बनाउनु जरुरी छ ।