
झुमा सानैदेखि सुन्दर थिई। उसका गोरा र भुकुले गाला भेट्ने जति सबैले एकपल्ट चिमोट्थे। चिमोटिएका गाला राता हुन्थे। कोही त कति राम्रा गाला भनेर टोकी पनि दिन्थे। टोकिएका गाला दुखेर झुमा रुन थाल्थी। ठूल्ठूला आँखाबाट झरेका आँसुका दाना ती राता भएका भुकुले गालामा एकछिन अडिन्थे अनि अविरल तल झर्न थाल्थे।
सानी हुञ्जेल आमाका साथीहरु, बुबाका साथीहरु अनि काकाका साथीहरुले उसका गाला सुम्सुम्याउने, चिमोट्ने र दाह्री दलिदिने गर्थे। ठूली हुँदै गएपछि उसका गाला साथीहरुले पनि छुन थाले। खेल्दाखेल्दै धुलैधुलो भएको हातले गालामा छुइदिँदा झुमाको रिसले पारो ताथ्यो। अनि उसले पनि आफ्ना हातले धेरैजनाको गालामा चड्कन लाउन भ्याइसकेकी थिई।
झुमाले नौ वर्षको उमेर पार गर्नै लागेकी थिई। आमाका साथीहरु जसलाई ऊ आन्टी भन्थी। उहाँहरुलाई आफ्ना गाला छुन दिनै छाडेकी थिई। झुमा अब तरुनी भई, हामीलाई छुनै दिन्न भन्दै आन्टीहरु जिस्क्याउने गर्नुहुन्थ्यो ।ऊ भने रिसले आगो हुन्थी। सरला आन्टीले चाहिँ उसलाई धेरै जिस्क्याउनु हुन्थ्यो।
त्यो दिन पनि भन्दै हुनुहुन्थ्यो, ‘अब झुमा हामीलाई उसका गाला किन छुन दिन्थी र? ऊ त उसकै ब्वाइफ्रेण्डलाई छुन दिन्छे नि!’
सबै आन्टी होमा हो मिलाउँदै हाँस्दै हुनुहुथ्यो। झुमालाई साह्रै नरमाइलो लाग्यो। ऊ रुँदै आमासँग गई र आमालाई सबै कुरा सुनाई। आमाले झुमालाई काखमा राख्दै भन्नुभयो, ‘नानी छोरी तिमी साह्रै राम्री छ्यौ। तिमीलाई देख्ने जोकोही पनि एकछिन नहेरी र नछोई बस्न सक्दैनन्। अहिले त तिमी यस्ती छ्यौ, जवानीमा कस्ती हौली? तिमीलाई जोगाउन नसकिएला कि भन्ने पीर लाग्छ मलाई।’ आमा एकोहोरो कतै हेरिरहनु भएको थियो। झुमाले आमाका कुरा अलिअलि मात्र बुझी।आमाको अनुहार एकछिन हेरी अनि खेल्न दौडी।
सरला आन्टीका कुराले उसलाई पनि मेरो ब्वाइफ्रेण्ड को होला भन्ने जिज्ञासा लागेको थियो। कक्षामा उसले सबैको अनुहार हेरी। कोही पनि उसको ब्वाइफ्रेण्डजस्तो लागेन, जसलाई उसले आफ्ना गाला छुन दिन सकोस्।
काकाको एउटा साथीको नाम छोटु थियो। झुमा उसलाई छोटु काका भनेर बोलाउँथी। छोटु काकाले झुमालाई धेरै माया गर्नु हुन्थ्यो। कहिले बिस्कुट कहिले चकलेट किनिदिनु हुन्थ्यो। झुमालाई काहीँ भेटिएन भने छोटुको घरमा खोज्न जाँदा हुन्थ्यो। ऊ त्यही रमाइरहेकी भेटिन्थी।
झुमा रुपमा त साह्रै राम्री थिई।अब उसको शरीरमा पनि मादकता भरिन थालेको थियो। यौवनका उत्साहसँगै छाती पनि फक्रिन लागेका थिए। गालाको लाली र यौवनको लाजले धपक्क बलेकी थिई। जो पनि उसँग आँखा जुधाउन र उसलाई एकपल्ट छुन चाहन्थे।
अब त उसलाई प्रेमपत्र पनि आउन थालेका थिए तर झुमा राजलाई भित्रैदेखि मन पराउन थालेकी थिई। ऊ राजको प्रेम पत्रलाई पर्खेर बसेकी थिई। राजको कल्पनामा भित्रभित्रै रमाउँथी। उसका आँखामा आँखा जुधाउँथी। मुसुक्क मुस्कुराउँथी। लाजले गाला राता बनाउँथी अनि बिना स्पर्श नै कुत्कुतिन्थी। संवादबिनाको प्रेमले ऊ दिनदिनै लठ्ठिदै गएकी थिई। कुनै दिन त राजले थाहा पाउला उसको प्रेमका बारेमा ऊ मनमनै सोच्ने गर्थी।
झुमा रुँदै दौडेर आएको देखेर आमा छक्क पर्नुभयो। आमालाई हेर्दै नहेरी ऊ आफ्नो कोठातिर लागी। आमा उसको पछिपछि जानुभयो। ऊ अोछ्यानमा घोप्टो परेर रोइरहेकी थिई।
‘के भयो झुमा? किन रोएकी?,’ आत्तिँदै आमाले सोध्नुभयो।
ऊ झन्झन् जोडले रुन थाली। आमाले उसको टाउको आफ्नो काखमा राखेर सुम्सुम्याउनु भयो। ‘के भो?,’ फेेरि सोध्नुभयो।
उसले चुपचाप आफ्नो रगतले लत्पतिएको पेन्टी खोलेर आमालाई देखाई। आमाले हाँस्दै भन्नुभयो, ‘ए.... यति कुरामा पनि रुनु पर्छ त लाटी। तिमी अब ठूली भयौ। सबै केटीहरुलाई उमेर भएपछि यस्तो हुन्छ। बुबा, काका, दाइहरुलाई नछुनु। सात दिनसम्म भान्सामा पनि नछिर्नु।’
‘आमा ......हैन.... मलाई छोटु काकाले...’ झुमाले भक्कानिदै भनी।
‘के भन्छे ......? छोटु काकाले के गर्यो?’
‘हो आमा छोटुले.... ।’
आमा डाको छोडेर रुनुभयो। आमा रोएको सुनेर सबैजना त्यहाँ जम्मा भए।
‘के भयो?’ बुबा चिच्याउनु भयो।
‘छोटुले यसको इज्जत लुट्यो रे। यसको रुप देखेर म सधैँ यही कुराले डराउँथे,’ अामाले झुमालाई जोडले अंगालो मार्नुभयो।
काका त्यसलाई नमारिछाड्दिन भन्दै दौडिनु भयो।
बुबाले काकालाई च्याप्प समाउँदै भन्नु भयो, ‘हाम्रो इज्जतको सवाल छ। यसरी आत्तिएर हुँदैन। छोरीचेलीको कुरा हो धेरै सोच्नुपर्छ।’
बुबा, काका सबै चुपचाप बस्नुभयो तर आमा धेरैबेरसम्म झुमालाई अङ्गालेर रोइरहनु भयो।
झुमालाई रातभरि निद्रा लागेन। उसले बाँच्नुको कुनै अर्थ देखिन। उठेर अहिले नै आत्महत्या गरुँजस्तो लाग्यो। तर सोची, ‘मर्नु त छोटुले पर्ने हो। मेरो के गल्ती छ र मर्नु?’ आफैंलाई प्रश्न गर्थी।
मन त दुखेको थियो नै तन पनि भतभती पोलिरहेको थियो। यौनाङ्ग दुखेर सहन सकेकी थिइन। बाथरुमसम्म जान पनि अर्काले उठाइ दिनुपर्थ्यो। दुई खुट्टा फट्याएर हिड्नु पर्दा आँखाबाट आँसु अविरल बगिरहन्थे।
छोटु र झुमाको उमेरमा पन्ध्र वर्षकै फरक हुँदो हो तर पनि छोटु झुमालाई बिहे गर्न तयार थियो। आमा केही हदसम्म खुसी हुनुभयो। छोटु काका भनेपछि हुरुक्क हुने झुमा अहिले छोटुको अनुहार सम्झिन चाहन्नथी। उसलाई छोटुप्रति झन्झन् घृणा बढ्न थाल्यो।
त्यसदिन मोबाइलमा गेम खेल्न सिकाउँदै थियो छोटु। कत्तिखेर उसको काखमा बस्न पुगिछ। अाफ्नो शरीरमा कुद्दै गरेका छोटुका अौंला धेरैपल्ट पन्साएको याद छ उसलाई। उसका हातले लुगा खोल्न थालेपछि भने झुमाले छोटु काका गेम खेल्न दिनु न भन्दै भाग्न खोजेको याद छ।
उसले हातमा समातेर तानेपछि अङ्गालोमा बेर्दा डरले काँपेकी थिई। त्यो डर अहिलेसम्म पनि लागिरहेको थियो। छोटुसँग बिहे गराउन आमाले धेरै सम्झाउनु भयो तर झुमा मानिन। उसलाई राजको धेरै याद आउँथ्यो। राज छेऊमा आअोस्, तिम्रो केही गल्ती छैन झुमा उठ, यसरी चिन्तित भएर नबस भनोस् जस्तो लाग्थ्यो तर त्यहाँ राज किन पो आउँथ्यो र?
एक्कासि छोटुलाई आफ्नो अगाडि देखेर झुमा आत्तिई।
‘झुमा, म तिमीलाई धेरै माया गर्छु।’
‘माया.....? मेरो शरीरलाई?,’ झुमा फिस्स हाँसी।
‘म तिमीसँग बिहे गर्न चाहन्छु। जे हुनु भइसक्यो, त्यसको बारेमा चिन्ता गरेर के फाइदा? अब यसरी नबस....।’ छोटु बोलिरहेको थियो। झुमाले आक्रोश, अपमान र घृणाको बिष चुपचाप घुटुक्क पिई। छोटुले नदेख्ने गरी।
छोटुलाई एक नजर हेरी। घृणाले उसको अनुहारबाट नजर हटाई। जुरुक्क उठेर बाहिर जान खोजी। खुट्टा राम्ररी टेकिएनन्। छोटुले उठेर साहारा दिन खोज्यो। झुमाले हात झड्कारेर फालिदिई।
केही बर्षसम्म छोटुले बिहे नगरी पर्खेको थियो तर झुमाले मान्दै मानिन। बिहे गर्न नमानेकोले घरमा मौन नैराश्यता छाएको थियो। कहिले काहीँ आफन्तले हानेकोे चोटिलो वाणले झुमालाई घोच्थ्यो।आत्मा छियाछिया हुन्थ्यो। रातमा अनेकौँ पल्ट छोटुका हातहरु आफ्ना शरीरमा दौडेको सपना देख्थी। मुुटु जोडजोडले थर्थराउँथ्यो। हृदयमा बिनावर्षात् नै भीषण पहिरो जान्थ्यो। बिनाआगो नै डडेलो लाग्थ्यो। कसैको हेराइले मौन गति मै हृदय चिराचिरा बनाउँथ्यो। यसको अन्दाज कसले पो लगाउन सक्थ्यो र?
एक दिन राज उसको बिहेको निम्ता दिन आयो। राजको आफ्नै हातले झुमाको नाम लेखिएको देखेर ऊ दङ्ग परी। राजलाई विवाहको शुभकामना तथा बधाइ दिई।
‘तिमी त उस्तै रहिछौ झुमा। तिमी साह्रै सुन्दर छ्यौ,’ राजले मुसुक्क हाँसेर भन्यो।
‘मेरो सुन्दरताको के महत्व छ र राज?,’ झुमाले गहभरि आँसु पार्दै भनी।
‘तिमी वर्षौं पहिलेको घटनालाई मनमा लिएर अझै दु:खी भएर बसेकी छौ? जिन्दगीलाई नयाँ तरिकाबाट सोच। नयाँ तरिकाबाट जिउने कोसिस गर। त्यसमा तिम्रो के गल्ती थियो र?,’ राजले भन्यो।
‘राज! मेरो गल्ती थिएन तर सजाय त मैले भोग्दै छु नि! जसले अपराध गर्यो उसले त सजाय पनि पाएन।’
‘तिमी पनि बिहे गर। ती कुराहरुलाई बिर्सिदेऊ झुमा।’
‘बिहे...? कसले गर्छ मसँग बिहे?,’ झुमा फिस्स हाँसी।
‘किन र? तिमीसँग जसले पनि बिहे गर्छ नि,’ राजले हाँस्दै भन्यो।
‘राज.. ! तिमी गर्छौ मसँग बिहे?,’ आँखा जुधाउँदै उसले सोधी।
‘राज म तिमीलाई धेरै माया गर्थेँ। म तिम्रै आत्माबाट सिंचित हुन चाहन्थेँ। तिम्रै वीजबाट नयाँ सृष्टि रच्न चाहन्थेँ,जसले हाम्रो शेखपछि यो धर्तिमा सास फेरि रहन सकोस्। हाम्रो मिलनको चिनो यो धर्तीमा छोड्न चाहन्थेँ तर अफसोस मैले आफ्नो इच्छा तिमीसम्म पुर्याउन नपाउँदै छोटुले...। अब म तिमीसँग बिहे गर्न सक्दिन तर प्रेम गरिनै रहनेछु। बिहे गरेर साथै जिउनु मात्र प्रेम होइन। कसैलाई प्रेम गर्ने हिम्मत गर्नु र जीवनभर हृदयमा सजाउनु नै प्रेम हो। प्रेम गर्ने मेरो अधिकारबाट मलाई कसैले रोक्न सक्दैन। यो जन्म यस्तै भयो राज।’ झुमा दुबै हत्केलाले मुख छोपेर रुन थाली।
केही समयपछि उसले आँखा खोल्दा राज पर गइरहेको देखी।
‘अर्ति उपदेश त सबैले दिन्छन् राज! तर बलात्कृतलाई अपनाउने हिम्मत भने कसैले गर्दैनन्,’ झुमा आँसु पुछ्दै फुस्फुसाई।