धरान/आज नाग पञ्चमी, अब बिस्तारै वर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौसम शुरु भइसक्यो र अब लाग्ने चर्को घाममा दशैंको आभाष पाइन्छ । चाडपर्वहरुलाई धर्मसंग मात्र नजोडेर संस्कारसंग जोड्ने हो भने हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरुले अझै धनी बनाएका छन्, आजको दिन सरिसृप अर्थात घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा अर्चना गरिने दिन हो ।
श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताकालागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्यम्, कम्बला, कारकोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णकोलागि आजकै दिन पूजा अर्चना गरिन्छ ।
यिनै नागहरु अङ्कित चित्र र डोराहरु लिएर ब्राह्मण पुरोहितहरु आ-आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाम्बाेमा टाँसिएको नागको चित्रले विषालू जीवहरूबाट परीवारको वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरु ल्याउने र टाँस्ने पुरोहितहरुलाई जजमानले गक्ष अनुसारको दक्षिणा, फलफूल र भोजन पनि गराउने चलन छ ।
नाग पञ्चमीको वास्तविक एतिहासिक जरो महाभारतसंग जोडिएको पाइन्छ । परिक्षीत नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डँस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्मजयले बुवाको मृत्युको प्रतिशोधकालागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ शुरु गर्दछन जसमा सिद्द ऋृषिमुनी, साधू र पण्डितहरुलाई आमन्त्रण गरे । उक्त यज्ञको हवन कूण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरु त्यहिं भष्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्मजयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे ।
तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जन्मजयसमक्ष माफिको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरुले त्यस पश्चात् आजैको दिन पुर्नजीवन पाएका हुन् । यस दिन नागदेवताको पूजा अर्चनाकालागि दुध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्पनै राखेर पूजागर्न डरलाग्दो र जोखिमयूक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
------------------------------
रक्षा बन्धन / जनै फेर्नेसमथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।
खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने अाफ्ना दाजूभार्इहरूकालागि राखी खरिद गर्नुभयो त ! अनि दाजूभाइहरुले भने अाफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ त आज ?
हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लार्इ दुर्इ बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलार्इ एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।"
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।
आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलार्इ तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलार्इ शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।
परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।
साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको "क्वाँटी" हो । आजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजार्इ राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
क्वाँटी पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाँटि तयार पारिन्छ । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई "न्वाँगी" भनिन्छ ।
देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न रु तपार्इ-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भार्इ, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालार्इ यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।
याे सामाग्री हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको हाे ।