अभिनेत्री दीपाश्री निरौला भाङ भनेपछि १२ हात पर भाग्छिन् । यसको कारण हो, पहिलोपटक भाङ खाँदाको अनुभव । आखिर के भएको रहेछ त्यतिबेला ? सुनौं उनकै मुखबाट:
त्यतिबेला करिब १५-१६ वर्षकी थिएँ । शिवरात्रीको दिन घरमै भाङको घट्टा (दूधमा भाङ, चिनी, सुकुमेल आदि हालेर बनाइने झोल) बनाइएको थियो । बिहान खालीपेटमा परिवारका सबै सदस्यले बाँडेर खायौ ।
मलाई चाहिँ यसको स्वाद खुब मिठ्यो लाग्यो । त्यसैले थपि-थपि खाएँ । ५ गिलास जति खाएँ होला । दुईवटा भाङको लड्डु पनि खाइदिएँ । त्यसपछि त मेरो होस ठेगानामा रहेन । टाउको फन्फनी घुमाउन थाल्यो । आफू को हुँ भन्ने नै भेउ भएन ।
यस्तो बेला जति जे खाए पनि नअघाउने हुँदो रहेछ । परिवारका सबैजनालाई पकाएको एक कुकर भात म एक्लैले रित्याएँ । मालपुवा पनि प्रशस्त खाएँ । पेट फुट्ला झैं भयो तर भोक मरेन ।
मलाई दिनभरी नै भाङको नशाले सताइरह्यो । बिनाकारण पनि हाँसेको हास्यै गर्दो रहेछु । नाचेको नाच्यै गर्दोरहेछु ।
कुनै पनि चिजलाई यसको वास्तविक आकारभन्दा निकै ठूलो देखिँदो रहेछ । माथि काग उड्दा पनि प्लेन जत्रै देख्थेँ ।
रातिसम्म पनि न नशामा लठ्ठीएको थिएँ । बुवा र दिदीहरुले कसरी कसरी कन्ट्रोलमा लिएर सुताउनुभएछ । बिहान उठ्दा पो छ्यांग भएँ । बुवाले बेस्सरी गाली गर्नुभयो । पिउन त सबैजनाले पिएका थिएँ, तर अरुले थोरै पिएकाले खासै लागेन । मैले चाहिँ अघाउँजी पिइदिएकी थिएँ । त्यो घटनापछि मैले भाङ खान छोडिदिएँ । भाङको नाम सुन्नासाथ १२ हात पर भाग्छु ।