वराहक्षेत्र/ वराहक्षेत्रलाई आध्यात्मिक ज्ञानको केन्द्र र धार्मिक पर्यटकीय हब बनाउन प्राचीन हरिद्वार चतराधाममा रहेको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठले गुरु योजना योजना निर्माण गरेको छ ।
सेवापीठले वराहक्षेत्रको विकासका लागि गुरुयोजनाको तवरमा धार्मिक अनुष्ठानलगायत अन्य दीर्घकालीन योजना अघि सारेको रामानन्दाचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरहीले बताए । हिन्दूहरूको पवित्र तिर्थस्थलमध्ये एक वराहक्षेत्र पर्यटकीय दृष्टिले जति सुन्दर छ, त्यति नै धार्मिक रुपमा महत्वपूर्ण छ ।
तर, विकासको मामिलामा अरू तीर्थस्थल भन्दा अझै पनि पछाडि नै रहेको स्थानीयको ठम्याइ छ । पर्यटकलाई आकर्षित गर्न सेवा पीठले आगामी माघ महिनामा १५ दिने लामो श्री राम तारक महायज्ञ गर्ने भएको छ ।
योसँगै पीठले वराहक्षेत्रलाई योगको केन्द्र बनाउन, चतराधाममा आयुर्वेदिक विश्वविद्यालय निर्माण गर्ने , युवालाई रोजगार सिर्जना गर्ने, हरित क्रान्ति र जल पर्यटनजस्ता ठूला गुरुयोजना अघि सारेको अध्यक्ष विरहीले बताए ।
जग्दगुरु रामानन्दाचार्यको प्राकट्य जन्म भएको अवसरमा साढे सात सय वर्ष अघि भारतमा श्रीराम तारक महायज्ञ भएको थियो । त्यसपछि नेपालमा मात्र आयोजना हुन लागेको तारक यज्ञले स्वदेशी तथा विदेशी (विशेषगरी भारतीय) पर्यटक भिœयाउने छ भने यसले स्थानीयलाई पनि आर्थिक उर्पाजन गर्ने विरहीको भनाइ छ ।
-योग केन्द्र अहिले विश्वमा पूर्वीय आध्यात्मिक ज्ञान धर्म दर्शन र योगको प्रभाव बढ्दो छ । योगबाट विभिन्न आसाध्य रोगसमेत निको हुने र शारीरिक, मानसिक र सामाजिक शान्तिको लागि योग अति महत्वपूर्ण छ ।
‘यसको महत्व बुझेर विदेशीले यसलाई अपनाउन थालेका छन्, तर हामी अझै पनि अन्योलमै छौँ यसकारण वराहक्षेत्रलाई नेपालकै योग केन्द्रको रूपमा विकास गरिन लागिएको हो ।’ विरहीले भने ।
जुन २४ मा रामानन्दाचार्य सेवापीठले चतराधाममा आयोजना गरेको विश्व योग दिवसको अवसरमा १ नम्बर प्रदेश मुख्यमन्त्री शेरधन राईलगायत उनको मन्त्रीमण्डल र सांसद्को टोली चतरा आएको थियो । कार्यक्रममा मुख्यमन्त्रीले चतरालाई योग सेन्टरको रूपमा विकास गर्न प्रदेश सरकारले सम्पूर्ण सहयोग गर्ने बताएका थिए ।
व्यक्तिको शारीरिक, मानसिक शान्ति, समृद्धि र व्यक्तित्व विकासका लागि अति–आवश्यक योग जीवनका लागि धेरै महत्वपूर्ण भएकाले यसको प्रचार–प्रसार र नेपालीमा चेतना जगाउन प्रत्येक वर्ष योगका कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष विरहीले बताए । ‘रामानन्दाचार्य सेवापीठको कदमप्रति स्थानीय र प्रदेश सरकार सकारात्मक भएकाले हामी थप उत्साहित भएका छौँ ।’ उनले भने ।
-आयुर्वेदिक विश्व विद्यालय वराहक्षेत्रमा आयुर्वेदिक विश्व विद्यालय स्थापना गर्न ५ वर्ष अघि ०७० वैशाख १९ गते वराहक्षेत्र आयुर्वेद विद्यापीठ, शिक्षण भवन शिलान्यास भएर काम अगाडि बढाइएको छ । स्वामित्व सम्बन्धी कारणले अड्किएको र अहिले नेपाल सरकारले भोगचलनको अनुमति दिएकाले काम अगाडि बढाइएको छ ।
आयुर्वेदिक विद्यालय निर्माण भएपछि सर्यौँ स्थानीयले जागिर पाउने छन् भने स्थानीयलाई सस्तो सुलभ दरमा जडीबुटी औषधिसमेत उपलब्ध हुने रामानन्दाचार्य सेवापीठका अध्यक्ष विरही बताउँछन् ।
-जल पर्यटन तथा केवलकार वराहक्षेत्रमा वराह भगवान्को मन्दिरलगायत दर्जनौँ धार्मिक मठमन्दिर तथा दर्शनीय स्थल छन् । यहाँ आयोजना हुन लागेको श्रीराम तारक महायज्ञमा आउने हजारौं तीर्थालुलाई जलका माध्यमबाट प्रसिद्ध वराह भगवान्को दर्शन गराइने छ ।
धनकुटास्थित पवित्र कौशिकी नदी मिसिएको त्रिवेणीको सयर गराउन सकिन्छ । अहिले कोशी नदीमा निजी लगानीमा जेटबोट सञ्चालन भएको छ । कोशीमा जल पर्यटनका लागि प्रदेश सरकारले पनि चासो देखाइरहेको छ ।
यसको भविष्य उज्ज्वल छ । यसका लागि वराहक्षेत्रलाई धार्मिकसँगै जल पर्यटनका विकासका लागि महत्वका साथ अगाडि बढाइने छ । वराहक्षेत्रस्थित प्रसिद्ध वराहक्षेत्र भगवान्को मन्दिर सूर्यकुण्ड, आदिवराह, लट्टेनीथान , भवानी थानजस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको विकासका लागि त्यहाँ केबलकार निर्माणका क्रममा सेवापीठ लागिपरिरहेको छ ।
-स्वरोजगार र हरित क्रान्ति वराहक्षेत्रमा धार्मिकसँगै पर्यटनको अपार सम्भावना छ । चार क्षेत्रमा एक वराहक्षेत्रमा धर्मसँगै पर्यटन, साहसिक पर्यटन (प्याराग्लाइडिङ, क्यानोनिङ) को परीक्षण पनि सफल भएको अवस्था छ ।
यसले गर्दा स्थानीयको जीवनस्तर उकास्नका लागि यो आयआर्जनको बलियो विकल्प बन्न सक्छ । यसले प्रदेश सरकारको टुरिजम सेक्टरलाई समेत राम्रो टेवा दिन सक्ने देखिन्छ । वराहक्षेत्रमा धर्म चेतना प्रवाह गरी संस्कारित नागरिक बनाउन र नदीको दोहन गरी आत्मनिर्भर रोजगारी उत्पन्न गर्नका लागि पीठ लागेको अध्यक्ष विरही बताउँछन् ।
‘हिन्दू धर्मशास्त्र पुराणहरूमा उल्लेख भएअनुसार वराहक्षेत्र अति–पवित्र पृथ्वीको पहिलो धाम हो, यहाँ आउनु सबै तीर्थ पुगे जत्तिकै लाभ हुन्छ ।’ विरही भन्छन् । उनले भारतीय (विशेष गरेर तमिल) तिर्थालुलाई आकर्षित गर्न अङ्ग्रेजी भाषामा प्रचार–प्रसार गर्ने तैयारी भइरहेको बताए । यसको प्रचार–प्रसारका लागि स्थानीय मिडियालाई थप सहयोग गर्न आग्रह गरेका छन् ।
मनोरम प्रकृतिको काखमा बसेको वराहक्षेत्र र यहाँ रहेको रामानन्दाचार्य सेवापीठले १२ विघा ८ कठ्ठा १९ धुर जग्गामा आयुर्वेदिक विश्व विद्यालय निर्माण गर्दैछ । सयौँ जडिबुटी उत्पादन हुने उद्यान, विराट हनुमानको मन्दिर स्थापित छ । तारक महायज्ञका लागि एक सय चार कोठे धर्मशाला भवनको शिलान्यास मुख्यमन्त्री शेरधन राईले भदौ १५ गते गरिसकेका छन् ।
वराहक्षेत्रको धार्मिक र प्राकृतिक भण्डारलाई सदुपयोग गर्न सके यो प्रदेशको लागि नै आर्थिक मेरुदण्ड बन्ने पक्का भएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका पीठाधीस कृष्णदास जी महाराज बताउँछन् । अहिले स्थानीय र प्रदेश सरकारसमेत सकारात्मक भएपछि यसको चौतर्फी विकास हुने कृष्णदासको विश्वास छ ।
सरुग्र वृहत्तर वराहक्षेत्रको विकासका लागि रामानन्दाचार्य सेवापीठले अगाडि बढाएको पवित्र उद्देश्यलाई सकारात्मक साथ सहयोगका लागि कृष्णदास महाराजले आग्रह गरेका छन् ।
उनले प्रदेश र स्थानीय सरकारले गरेको सहयोगलाई धन्यवाद दिँदै भने,‘आउने दिनहरूमा सरकारको अझै सहयोग पाउने आशा प्रकट गर्छु ।’
धर्म र प्रकृतिको कहिल्यै नसकिने अक्षय भण्डार वराहक्षेत्रमा रहेको र यी दुवै यस क्षेत्रको विकासको कोशेढुङ्गा भएकाले यसको लागि स्थानीयदेखि प्रदेश सरकार र निजी क्षेत्रको सहभागिता अझ बढाउनु पर्ने आवश्यकता रहेको कृष्णदास महाराज बताउँछन् ।