पाँचथर/ व्यवस्थित पदमार्ग बन्न नसक्दा पूर्वको गोसाइकुण्डको उपनामले चर्चित तीर्थस्थल तिम्बुङ पोखरी जादा तीर्थयात्री र पर्यटकले सास्ती खेप्नु परेको छ ।
पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङवा गाउँपालिका त्यस्तै भारत सिक्किम राज्यको त्रिकोणात्मक संगमस्थलमा अवस्थित तिम्बुङ पोखरीको दर्शन गर्न वर्षेनी थुप्रै तीर्थयात्री पुग्ने गर्दछन् ।
तिम्बुङ पुग्न सवारी साधनबाट ओर्लेपछि दुईदेखि तीन दिनसम्म पैदल यात्रा गर्नैपर्छ । तर तिम्बुङसम्म पुग्ने पदमार्ग व्यवस्थित नहुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती हुने गरेको छ ।
पाँचथर सदरमुकाम फिदिम देखि १८ कोष सुदूर उत्तरमा रहेको तिम्बुङ मेची राजमार्ग हुँदै पाँचथरको गणेशचोकबाट मध्यपहाडि लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैंचा वा ताप्लेजुङको कालीखोला हुँदै पुग्न सकिन्छ ।
त्यस्तै मध्यपहाडि लोकमार्गको उद्गमबिन्दु चिवाभञ्ज्याङ भएर पनि तिम्बुङ पुगिन्छ । इलामको पशुपतिनगरबाट सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङको यात्रा तय गर्न सकिन्छ ।
पहाड र अक्करबीच सानो गोरेटो बाटो पछ्याएर यात्रा गर्नुपर्दा निकै गारो भएको फिदिम–१, शनिबारेका मनोज गुुरुङले बताए । उनले भने– ‘पदमार्गलाई व्यवस्थित गर्न सकिएको रहेनछ, यसमा स्थानीय सरकारको ध्यान जान जरुरी छ ।’ गुरुङ जस्तै कठिन पैदल यात्रा गरेर तिम्बुङ पुगेका फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाँका शंकर आङदेम्बेको अनुभव पनि त्यस्तै रह्यो । उनले भने– ‘खानलाई गोठ भए पनि हिंड्ने बाटो साँघुरो र अप्ठ्यारो भयो, बाटोको स्तरोन्नती गर्न आवस्यक छ ।’
पाँचथरको याङवरक गाउँपालिका–२, बेतेनी र ताप्लेजुङबाट सिदिङवा गाउँपालिका–१, कालीखोलाको आकाशे गाउँ छाडेपछि कुनै वस्ती छैन । त्यसपछि चौरी र भेंडी गोठ बाहेक खाने–बस्ने व्यवस्था अन्यत्र छैन । खान र बस्नलाई गोठ भए पनि उच्च पहाडमा अप्ठ्यारो त्यसमा पनि अत्यन्तै साँघुरो बाटो भएर तिम्बुङ पुग्नुपर्दा तीर्थयात्री र पर्यटकलाई जोखिम र सास्ती दुबै हुने पहिलोपल्ट तिम्बुङ पुगेको सञ्चारकर्मी नारायण तुम्बापोले बताए ।
तिम्बुङ क्षेत्रमा राज्यको आँखा पर्न नसकेको ताप्लेजुङ सिदिङवा गाउँपालिका–१, कालीखोलाका फौदबहादुर भण्डारी बताउँछन् । बहूमूल्य जडिबुटिको भण्डार, धार्मिक आस्थाको केन्द्र, पाकृतिक सुन्दरता र जैविक विविधताको लागि महत्वपूर्ण क्षेत्र साथै चौरी पर्यटनको अपार सम्भावना भएर पनि उक्त क्षेत्र ओझेलमै रहेको भण्डारीले बताए । ‘स्थानीय सरकार आएपछि पनि तिम्बुङ क्षेत्रको पर्यटन प्रबद्र्धनमा खासै काम गर्न सकेको छैन’ उनले गुनासो पोखे ।
तिम्बुङसम्म पुग्ने पदमार्गलाई व्यवस्थित गर्न चालु आर्थिक वर्षमा कुनै बजेट नछुटिएको पाँचथर याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले स्वीकारिन् । उनले भनिन्– ‘तर पर्यटन बिकास बोर्ड लगायत अन्य निकायसँगसम्म पुगेर तिम्बुङ क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि केही न केही गर्ने सोचमा हामी छौं ।’
पाँचथरको याङवरक गाउँपालिका–२, हुँदै तिम्बुङसम्म सडक पुर्याउने गरी काम समेत थालनि भएको छ । तर त्यहाँको गंगावा र बेतेनी दुईमध्ये कुन ठाउँबाट सडक लैजाने भन्ने नै अहिलेसम्म टुंगो लाग्न सकेको छैन । यसमा केही बिबाद देखिएको स्वीकार्दै उपाध्यक्ष योङहाङले दुईमध्ये उपयुक्तलाई छानि आगामी दिनमा तिम्बुङ पुग्ने सडकलाई प्राथमिकता दिने बताइन् ।
उता ताप्लेजुङ सिदिङवा गाउँपालिकाले पनि तिम्बुङ पुग्न पदमार्गका लागि बजेटको व्यवस्था गरेन । आउदो आर्थिक वर्षमा पदमार्ग व्यवस्थापन गर्न बजेटको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले बताए । गाउँपालिका केन्द्र साब्लाखुदेखि आङ्खोप हुँदै तिम्बुङ जाने सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको कडरिया बताउँछन् ।
मोटरबाटो पुर्याउन समय लाग्ने भएकाले तत्काललाई पदमार्गलाई व्यवस्थित गर्नुपर्ने त्यहाँ जाने तीर्थयात्री र पर्यटक बताउँछन् । समुन्द्री सतहदेखि ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी जाने उपयुक्त सिजन असार देखि आसोजसम्म् हो ।
त्यसपछि भने हिउँ पर्ने र चिसो बढ्नाले तिम्बुङ पुग्न गाह्रो हुन्छ । प्राकृतिक सुन्दरतामा रमाउन, विभिन्न जडिबुटि, चौरी तथा भेंडी गोठको अवलोकन गर्न, जैविक विविधताको अध्ययन गर्न साथै पोखरीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वासका कारण वर्षेनी तिम्बुङ पोखरीमा तीर्थयात्री र पर्यटकको भीड लाग्ने गर्छ ।