जाडोको मौसम । चिसो पानीसँगै गोबर र सनपाटको सण्ठी अनि केही पराल । सडक र घरको वरिपरि लहरै राखिएको गोबरले छोपेको दाउरा साथै केही दाउराको कुन्यु । यो दैनिकी नै हो जीवनस्तर कम भएका ग्रामीण क्षेत्रका स्थानीयको । गोबर सामान्यतया मलखादका लागि प्रयोग गर्ने गरिन्छ तर, झापा कचनकवलका केही बस्तीमा जैविक इन्धनको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता छ । आधुनिकतासँगै परिवर्तन भए पनि कचनकवल–४ पक्लावान बस्तीमा गोबरबाट निर्मित दाउरा प्रयोग गर्दै जीवन गुजारिरहेको पाइन्छ ।
कम लागतको इन्धन
धुवाँबाट मानव स्वास्थ्यमा असर पर्ने विज्ञहरुले बताउँदै आएका छन् तर, कचनकवल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादव भने गोबरको गुइँठाबाट निस्कने धुवाँ स्वास्थ्यका लागि हानिकारक नहुने दाबी गर्छन् । अहिलेसम्म धुवाँका कारण कुनै पनि व्यक्ति बिरामी परेको नसुनिएको उनले बताए । सहजरुपमा दाउरा नपाएपछि यो नै उनीहरुको लागि इन्धनको विकल्प भएको उनको भनाइ छ । अन्य इन्धन प्रयोग गर्न स्थानीयको आर्थिक क्षमता नभएको समेत उनले बताए । एकपटक निःशुल्क रुपमा पाए पनि त्यसलाई पुनः प्रयोगमा नल्याउँदा गोबर दाउरा नै बनाउने गरेको उनको भनाइ छ । पशुपालन र खेती किसान गर्ने हुँदा गोबर सहजै उपलब्ध हुने उनले बताए । अन्य इन्धनमा भन्दा गोबरको दाउरामा पकाएको सामग्री स्वस्थ र स्वादिलो हुने उनले बताए ।
पशुधन भएका परिवारहरुको लागि कम लागत वा निःशुल्क स्रोतको रुपमा यसलाई लिने गरिन्छ । आधुनिक ऊर्जाका स्रोतहरुमा सीमित पहुँच भएका दुर्गम क्षेत्रका बासिन्दामा गोबर नै ऊर्जाको महŒवपूर्ण स्रोतको रुपमा रहेको छ । गोबरलाई परम्परागत रुपमा जलाउँदा श्वास–प्रश्वासका साथै स्वास्थ्यलाई असर नगर्ने, गोबरलाई जैविक इन्धनको रुपमा प्रयोग गर्न थप प्रभावकारी प्रविधिहरु ल्याउने प्रयास जारी छ । गोबर नेपालको एक महत्त्वपूर्ण जैविक इन्धनको स्रोत हो, विशेषगरी ग्रामीण क्षेत्रमा जहाँ विकल्पको अभाव छ । आधुनिक प्रविधिहरुसँग यसको परम्परागत प्रयोगलाई सन्तुलनमा राख्ने प्रयासहरु भइरहेका छन् ।
नेताले बोलेको पुर्याउँदैनन्
दुईवटा सनपाटको सण्ठीमा पराल राखेर गोबरले बाहिरबाट लेपन गरी सुकाएपछि बाल्नका लागि तयारी हुने ७० वर्षीया खतिजा मियाँले बताइन् । उनी हालसम्म इन्धनको रुपमा यही प्रयोग गर्दै आइरहेको बताउँछिन् । भोटका समयमा नेताले ग्यास र दाउरा उपलब्ध गराउने भनेपनि यतिका वर्षसम्म बोलेको नपु¥याएको उनको भनाइ छ । यो दाउरा बनाउन गोबर, पराल र सण्ठी अनिवार्य हुने हुँदा सबै चिज जुटाउन समस्या हुँदै आएको उनले बताइन् । घरमा गोबर नहुँदा गोबर सकङ्लनका लागि चरनमा लगिएका पशुबाट ल्याउँदा पनि सहजै नपाइने अख्तार मियाँले बताए । यो घरेलु ऊर्जाको रुपमा गोबर ब्रिकेट भएको उनको भनाइ छ ।
पहिले–पहिले जङ्गल गएर दाउरा ल्याउँदा दिन बित्ने उनको भनाइ छ । पछिल्लो समय जङ्गल जाने मान्छे पनि नभएको र जङ्गलमा दाउरा पनि सजिलै नपाएपछि यो विकल्प अपनाएको उनीहरुको भनाइ छ । हिउँदमा गोबरका दाउरा बाल्न सजिलो भए पनि वर्षायाममा भने डुबानका कारण यस्तो दाउरा जोगाउन मुस्किल हुने उनको भनाइ छ । कुनै पनि नेताले यी समस्याको सम्बोधन नगर्दा दुःख लागेर आएको ती बस्तीका मानिसले गुनासो गरे ।