बेलायतको फार्नबोरोमा बस्दै आएकी साहित्यकार शान्ति लिम्बूको नवीनतम् कृति ‘कस्तुरी यात्रा’ हाइकु, मुक्तक र गीतको सँगालो हो । कृतिकारको भूमिकालाई हेर्दा उनको यो चौथो कृति रहेको थाहा पाइन्छ । झापाको महाभारामा जन्मिएर बेलायतलाई कर्मथलो बनाइरहेकी साहित्यकार लिम्बूको ‘कस्तुरी यात्रा’ मा कविताविधाकै लघुरुपहरु प्रस्तुत गरिएको छ ।

पूर्वीय काव्यशास्त्र परम्परालाई हेर्दा कविताको न्यूनतम् रुप द्विपदी वा दुई हरफको भेट्टाउन सक्छौँ । आयामगत आधारमा दुई हरफका कविता नै पूर्वीय काव्यशास्त्रमा सबैभन्दा लघुरुप हो । तर, उनले जापानबाट भित्रिएको पाँच–सात–पाँच सूत्रमा संरचित ‘हाइकु’ मार्फत् नेपाली समाजलाई केलाएकी छन् । सैद्धान्तिक दृष्टिबाट विहङ्गम गर्दा ‘हाइकु’ दुई हरफे कविताकै एउटा उन्नत रुपमा लिन सकिन्छ । तर यसको आफ्नै संरचना र विधागत वैशिष्ट्य हुन्छ ।

कृतिमा सयवटा हाइकु, ३० वटा मुक्तक र २० वटा गीत एकत्रित छन् । सूत्रबद्धका हिसाबका हाइकुमा अभिधात्मकभन्दा व्यञ्जनात्मकताको प्रखरता ज्यादा पाइन्छ । त्यो नै हाइकुको धर्म पनि हो । कवि शान्ति लिम्बूले आफूले देखेको भोगेको समाज र परदेशी हुनुको पीडालाई हाइकु, मुक्तक र गीतमार्फत् व्यक्त गरेकी छन् । उनका केही हाइकु उच्चतम् कोटीमा छन् । एउटा उदाहरण हेरौँः

सुन्दर फूल
हेर्दाहेर्दै टिपियो
पात रह्यो (पृ. ६)

यहाँ सुन्दर फूललाई एउटा सुन्दर नारीसँग तुलना गरिएको छ । नारीको अस्मितामाथि कुदृष्टि राख्दै बलात्कार गर्न पछि नपर्ने हाम्रो समाजको चरित्रलाई उदाङ्गो पारेकी छन् । हेर्दाहेर्दै टिपिएको सन्दर्भको अर्थ नारीमाथि हुने शोषण, दमन, हिंसा, बलात्कार नै हो । अझ लुटिएको अस्मिताको अर्थमै आएको छ । फूलविनाको वृक्ष हुनुको अर्थ भनेको अस्मिता लुटिएको सन्दर्भसँग जोड्न सकिन्छ । यो हाइकुमा उपमा अलङ्कार उच्चतम् नमुना फेला पार्न सकिन्छ ।

सयवटा हाइकुमध्ये केही हाइकु उन्नत किसिमको छ । समाजको कथाव्यथालाई छोटा कवितामार्फत् कसरी भन्न सकिन्छ भन्ने उदाहरण हो हाइकु । अर्को उदाहरण हेरौँः

भीरको फूल
निर्भीक फुलेको छ
रङ्गी बिरङ्गी (पृ. ७)

यहाँ बहुल समाजलाई स्वीकारिएको छ । उत्तर आधुनिकवादले स्वीकारेको बहुलता, विविधतालाई यो हाइकुमा भेट्न सकिन्छ । भीरको फूललाई सवाल्टर्न पात्रसँग तुलना गरिएको छ । अझ हाम्रोजस्तो नेपाली समाजमा आदिवासी, जनजाति, दलित, मुस्लिम, महिला, सीमान्तकृतको भावनालाई यो हाइकुले समेटेको छ । यसले सीमान्तकृत समुदायको प्रतिनिधित्व गरेको छ ।

कतै कतै प्रेम, रतिरागको मीठो कुरा गरी हाइकुलाई प्रेमिल बनाउन खोजिएको छ । एउटा उदाहरणः  

चिसो मौसम
न्यानो सम्झना आयो
ज्यानै तातियो (पृ. १३)

यहाँ प्रेम र रतिरागमा मग्न हुँदा आउने सम्झनालाई पुनर्ताजगी गरिएको छ । यहाँ चिसो मौसमको दृश्य निर्माण गरी आलिङ्गनमा बाँधिँदाको क्षणलाई व्यञ्जनात्मक अर्थ प्रदान गरिएको छ । यस्ता अनेकन विषयमा हाइकुमार्फत् व्यक्त गरेकी छन् । विधागत सचेतता मात्रै छैन, सामाजिक विकृति, विसङ्गति, वर्तमान समाजको युगीन बोध पनि गरेकी छन् ।

ठूलो महल
महँगा सामान छन्
खाली आँगन (पृ. १६)

यो वर्तमान नेपाली समाजको दृश्य हो । हरेक नेपालीको कथाव्यथा हो । वैदेशिक रोजगारीले भिœयाएको पीडालाई यसरी हाइकुमार्फत् व्यङ्ग्य गरेकी छन् । युगीन समाजको चित्रण गर्न सफल कवि लिम्बूका हाइकुहरु लोभलाग्दा छन् । तर सङ्ग्रहमा सङ्ग्रहित गीत र मुक्तक विधालाई उनले हाइकु जति न्याय गर्न सकेकी छैनन् । ३० वटा मुक्तकलाई सर्सर्ती हेर्दा विधागत अस्पष्टता हो कि भन्ने भ्रम पनि भावकलाई पर्छ ।

३० मध्ये केही मुक्तकहरुले भने त्यो खाडललाई पूर्ति गरेको छ । कवि लिम्बूले मुक्तक र गीत विधामा केही ‘होमवर्क’ गर्नुपर्ने देखिन्छ । कविताविधाअन्तर्गत नै रहने मुक्तकको आफ्नो संरचना र लय विधान हुन्छ । एक श्लोकीय मुक्तकले शृङ्गारिकतालाई उद्बोधन गरेको हुन्छ । त्यसो त आजको अवस्थामा यसले सबै रस सिद्धान्तलाई अङ्गीकार गरेको पाइन्छ । त्यस्तै गीतको पनि आफ्नै संरचना र लय विधान हुन्छ । अझ सङ्गीतमा ढालेर त्यसलाई सुगन्धमय बनाउने काम गरिन्छ । संस्कृत कविताविधाका चिन्तकमध्ये ध्वनिवादी आचार्य आनन्दवद्र्धन र अभिनव गुप्तले कविताका मुक्तकदेखि युग्मक, विशेषक, कलापक र कुलकजस्ता पाँच पूर्वक्षणी र पर्यायबन्ध, परिकथा, खण्डकथा, सकलकथा र सर्गबन्धजस्ता पाँच उत्तरक्षणी गरी बढीमा जम्मा दश श्रेणीको चर्चा गरेका छन् (त्रिपाठी, पृ. ७) ।

विधागत संज्ञानलाई परिपूर्ति गर्ने प्रयास चाहिँ छ । एउटा उदाहरणः

जीवनमा एकै खालको कहिले पल हुँदैन
सुखजस्तै दुःख पनि कहिले अटल हुँदैन
सङ्कटहरु आउँछन् जुध्दै अघि बढ्नुपर्छ
सङ्घर्षविना जीवन कहिले सफल हुँदैन (पृ. १२०)

यो मुक्तकले सङ्घर्षमय जीवनको भाव व्यक्त गरेको छ । संरचनागत सचेतताभित्र अटल छ । उनी आफू झापाबाट बेलायतसम्मको यात्रा गर्दाको अनुभव र अनुभूतिलाई व्यक्त गरेको महसुस गराउँछ, माथिको मुक्तकले । जीवन सङ्घर्षमय हुने र सुखदुःख जीवनमा आइरहने कुरालाई सबैले स्वीकार गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । सङ्घर्षसँग डराउनु हुँदैन, यो जीवनको अभिन्न अङ्गको रुपमा रहेको छ भनी चित्रण गरिएको छ ।

गीत यात्रामा पनि उस्तै गरी कवि विचलित भएको आभाष पाउन सकिन्छ तर केही गीतले भने पूर्वीय दर्शनको आध्यात्मिक चेतलाई उजागर गर्न प्रेरित पनि गर्छ । कृतिको शीर्ष गीतमा पूर्वीय दर्शन ओतप्रोत रुपमा पाउन सकिन्छ । आफ्नै नाभीमा भएको सुगन्धलाई खोज्दै हिँड्ने कस्तुरी झैँ जीवन भएको प्रसङ्ग ल्याएकी छन् । खुसी खोज्ने नाममा जीवन व्यतित भएको र देश–परदेश हिँड्नु परेको कथालाई व्यक्त गरेकी छन् ।

यो गीतमा आध्यात्मिक चेतलाई यसरी प्रस्तुत गरिएको छः

जन्मपछि मर्नै पर्छ, ढिलो चाँडोमात्रै हो
अजम्बरी कोही छैन, एकदिन हुने माटै हो (पृ. १५९)

यहाँ कोही पनि अजम्बरी नहुने भएकाले सांसारिक माया, मोह, जाल, भ्रम आदि क्षणिक हुन् भन्ने कुरालाई दृष्टिगत गरेको छ । तर आजको विद्यमान समाजमा हरेक मान्छेको ‘विरोधाभाषी चरित्र’ भएकाले यस्ता आदर्शवान्, नैतिकताको पाठ सिकाउने साहित्यलाई आडम्बरी ठान्छन् । उनका अधिकांश गीतमा देशप्रेम, मानवता, मायाप्रेम, सुख–दुःखलाई उतारेकी छन् । उनका मुक्तक तथा गीतमा स्वच्छन्दतावादी प्रवृत्तिअन्तर्गत प्रकृतिप्रेम, मानवतावाद, आस्तिक र आध्यात्मिक चेतना र क्रान्तिचेत, अतीतप्रतिको मोह र भविष्यप्रतिको स्वप्निल परिकल्पनाका साथसाथै वर्तमानसँगका असन्तुष्टि, करूणा र व्यङ्ग्यचेत पाइन्छन् ।

फरक–फरक तीनवटा विधामध्ये उनी हाइकु विधामा सफल र सबल देखिन्छिन् भने मुक्तक विधाका लागि स्वअध्ययनको खाँचो औँल्याउन सकिन्छ । गीत विधामा पनि केही सङ्घर्ष गर्नुपर्ने देखिएको छ । जसरी जीवन सङ्घर्षमय छ, उसैगरी उनका लेखकीय धारलाई अर्जाप्नुपर्ने खाँचो छ । ओयाम सरोकार समाज काठमाडौँले हालै बजारमा ल्याएको यो सङ्ग्रह भावकीय दृष्टिले पठनीय नै छ ।

सन्दर्भग्रन्थः

लिम्बू, शान्ति (२०८०), कस्तुरी यात्रा, काठमाडौँ : ओयाम सरोकार समाज
त्रिपाठी, वासुदेव र अन्य (२०४६), नेपाली कविता भाग–४ (सम्पा.), ललितपुर: साझा प्रकाशन