नेपाली चाडपर्व नजिकिएसँगै नेपाली समुदायको बाहुल्यता रहेको हङकङमा पनि चाडपर्वको रौनक बढेको छ । नेपालका हरेक चाड पर्वहरु हङकङमा पनि उस्तै उल्लासका साथ मनाउने गरिएको छ ।

हङकङमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । ४० हजार हाराहारीमा नेपालीहरु रहेको हङकङमा हरेक साता जस्तो विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुने गर्छन् । अझ नेपाली चाड पर्वहरु यहाँका बासिन्दाले रमाईलो गरी मनाउने गरेका छन् ।

IMG_20240912_205238

नेपाली महिलाहरुको चाड तीजका अवसरमा हङकङमा पनि विभिन्न संस्था र समाजहरुले विशेष कार्यक्रम आयोजना गरेर मनाएका छन् । नेपालमा जस्तै हङकङमा पनि झन्डै दुई साता अघि देखि नै तीजको रमझम सुरु भएको थियो ।

तीज भन्दा अघि र पछि पनि विभिन्न संस्थाहरुले तीजको अवसर पारेर महिलाहरुलाई निम्त्याएर विशेष कार्यक्रम आयोजना गरेका थिए । एनआरएनए हङकङ, महिला फोरम तथा नेपाली महिला संघ, त्यसैगरी ओभरिसिज नेपाली वकर्श एसोसिएसन, गुल्मी समाज हङकङ लगायतका संघ संस्थाले तीज बिशेष कार्यक्रम आयोजना गरेका थिए । 

teej (2) 18

एनआरएनए लगायतले आयोजना गरेको कार्यक्रममा नेपालबाट गायिका मिना लामा सहभागी थिईन् । सो कार्यक्रममा हङकङ नेपाली महावाणिज्य दुतावासको परिवारबाट शोभा राना मगर, भृकुटी राई, ओभरसिज नेपाली वर्कर्श एसोसिएसनकी अध्यक्ष पूणर्िमा जि शाह, हङकङ तामाङ घेदुङ अध्यक्ष अनिता तामाङ, नेपाल लोकदोहोरी शाखा हङकङकी संस्थापक अध्यक्ष मञ्जु थापा, हङकङ साहित्य श्रृंखलाकी भूतपूर्व संयोजक सुनिता गिरी, हङकङ अल्पसंख्यक फाउन्डेसनकी अध्यक्ष शिला घमाल, झापा मञ्च अध्यक्ष विष्णु मुखिया, हङकङ तामाङ घेदुङ आनी समूह संयोजक कमला तामाङ लगायत विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा महिलाहरुले दर खाएर नाचगान गरेका थिए । तीजको अवसरमा आयोजना हुने यस्ता कार्यक्रममा नेपाली कलाकारहरु समेत सहभागी हुने गरेका छन् । हङकङमा तीज मात्र होईन, नजिकिंदै गरेका दशैं, तिहार तथा विभिन्न समुदायका चाडपर्वहरु पनि उसैगरी रमाईलोसँग मनाउने गरिएको छ ।

teej (1) 18

हङकङमा धरान, पोखरा, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट स्थायी र अस्थाई रुपमा बसोबास गर्दै आएका नेपालीहरु भेटिन्छन् । उनीहरु मध्ये कतिपय चाडपर्वका बेला नेपाल आएपनि धेरैले हङकङमै आफ्नो संस्कार संस्कृतिको संरक्षण गर्दै चाडपर्व मनाउने गरेका छन् ।