के फेरि फुट्छ काङ्ग्रेस ?, काङ्ग्रेसको गुट सङ्घर्ष पुरानै

धरान ।
२००३ साल कात्तिक १५ गतेका दिन स्थापित नेपाली काङ्ग्रेस गुट–उपगुट र शक्ति सङ्घर्षबाटै उदाएको इतिहासले देखाएको छ ।

इतिहास अध्ययन गर्दै जाँदा भारतको काशीस्थित केही नेपाली युवाहरूले पहिलो पटक ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ गठन गरेका थिए । तत्कालीन समयमा सभापति देवीप्रसाद सापकोटा, उपसभापतिमा बालचन्द्र शर्मा, प्रधानमन्त्रीमा कृष्णप्रसाद उपाध्याय भट्टराई र प्रचारमन्त्रीमा गोपालप्रसाद उपाध्याय भट्टराई थिए । सोही सालको कात्तिक अन्तिमतिर कलकत्तामा डी.एन. प्रधान र डी.बी. परियारले ‘अखिल भारतीय गोर्खा काङ्ग्रेस’ खडा गरेका थिए । सुरुवात कालदेखि नै काङ्ग्रेसका फरक फरक गुट विकास भएको देखिन्छ । यसबारे नेपालको राजनीतिक दर्पण भाग १ मा लेखक गृष्मबहादुर देवकोटाले पृष्ठ ६२ मा २००३ सालमै फरक फरक दुई काङ्ग्रेस स्थापना भएको उल्लेख गरेका छन् ।

यी दुई काङ्ग्रेसहरूले सङ्गठनको रूपरेखा, सिद्धान्त र कार्यप्रणालीको निश्चय गर्न २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सभा बसी पार्टीको नाम ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ नामकरण गरेका थिए । उक्त पार्टीको झण्डा रातो भुइँमा सतो तीन तारे रहेको थियो । जसमा सभापति टङ्कप्रसाद आचार्यलाई राखिएको थियो । कार्यकारी सभापतिमा विश्वेश्वरप्रसाद कोइराला थिए । यसरी दुई काङ्ग्रेसबाट एक काङ्ग्रेस भएको पृष्ठभूमिबाट आएको नेपाली काङ्ग्रेस फेरि एक पटक फुटको सङ्घारमा उभिएको छ । 
राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, “काङ्ग्रेस गुट भएरै जन्मिएको पार्टी हो ।” खासमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनपश्चात् गगन थापा सभापति भएयता संस्थापन पक्षहरू रुष्ट छन् । उनीहरू यतिखेर पर्ख र हेरको नीतिमा मात्रै देखिएका छैनन् । उनीहरू वैकल्पिक शक्ति बनाएर अगाडि बढ्ने मनस्थितिमा देखिएका छन् । “कानूनी लडाइ पनि लडिरहेका छौँ र राजनीतिक लडाइँमा पनि छँदैछौँ” नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले फोनसम्पर्कमा भने, “हामी वैकल्पिक शक्ति निर्माण गरेर जाऔँ । अहिले अगाडि बढौँ भन्नेमा पुगेका छौँ ।”

औपचारिक रूपमा दुई पटक फुट
आठ दशक लामो काङ्ग्रेसको इतिहासमा सबैभन्दा कम फुट्ने पार्टीमध्येमा पर्छ । धेरै राजनीतिक विश्लेषकका अनुसार २००९ सालमा मातृकाप्रसाद कोइरालाले पार्टी फुटाएका थिए । विश्वेश्वरप्रसाद कोइरालाको प्रभावलाई कम गर्न तात्कालीन समयमा राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाएको विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषक डा. अमृतकुमार श्रेष्ठ भन्छन्, “विश्वेश्वर र मातृकाबीच विवाद भएको देखिन्छ । त्यो विवादले मातृकाले छुट्टै पार्टी बनाए । राजाले त्यो बेला मातृकालाई प्रधानमन्त्री बनाइदिए । विश्वेश्वर प्रभावशाली थिए भन्ने बुझिन्छ ।” तर गृष्मबहादुर देवकोटाद्वारा लेखिएको नेपालको राजनीतिक दर्पण भाग १ को पृष्ठ ६९ मा २०१० साल वैशाख महिनामा राष्ट्रिय काङ्ग्रेसको अधिवेशन भएको थियो । काठमाडाँैमा सम्पन्न उक्त अधिवेशनले जीवराज शर्मालाई सर्वसम्मतिबाट नेपाल राष्ट्रिय काङ्ग्रेसको सभापति चुनिएको उल्लेख छ । त्यही दिनबाट एउटै झण्डामुनि जीवराज शर्मा सभापति र डिल्लीरमण रेग्मी सभापति भएको दुइटा काङ्ग्रेस सञ्चालन भएको थियो ।

उनको पुस्तकमा मातृकाप्रसाद कोइराला फुटेको कुनै अभिलेख पाइँदैन । अर्का राजनीतिक विश्लेषक खतिवडा भन्छन्, “२००९ सालमा मातृका र विश्वेश्वरबीचको तिक्तताले फुटेको थियो । त्यो पहिलो पटक औपचारिक रूपमा फुटेको थियो ।” यस्तै २०५९ सालमा शेरबहादुर देउवाले पार्टी फुटाएको इतिहास छ । २०५६ सालमा १ सय ११ स्थानमा जितेको काङ्ग्रेसबीचमा शक्ति सङ्घर्ष लामो चल्यो । कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गई एकल बहुमत आएको काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई, नेता शेरबहादुर देउवाबीचमा शक्ति सङ्घर्ष भएको थियो ।

प्रधानमन्त्री भएका भट्टराईलाई कोइराला पक्षका ६९ जना सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराए । दर्ता हुनुअगावै कोइराला पक्षका ११ जना मन्त्रीले सरकारबाट राजीनामा दिएका थिए । अविश्वासको प्रस्ताव पेश हुने भएपछि भट्टराईले २०५६ चैत ३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपश्चात् २०५६ चैत ७ गते गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । माओवादी विरुद्ध सेना परिचालन गर्ने कि नगर्ने भन्ने विषयमा राजासँग विवाद भएपश्चात् २०५८ साउन ४ गते कोइरालाले पनि राजीनामा दिए । त्यसपश्चात् २०५८ साउन ७ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । त्यो बेला सशस्त्र विद्रोह उत्कर्षमा थियो ।

त्यही समयमा २०५८ साल मङ्सिर ११ गते सङ्कटकालको घोषणा ग¥यो । त्यही सङ्कटकाल लम्ब्याउने कि नलम्ब्याउने विषयमा विवाद सुरु भएको थियो । त्यही विवादका कारण नै देउवाले ०५९ जेठ ९ गते संसद् विघटन गरिदिएका कारण कोइराला र उनीबीच विवाद बढ्यो । सङ्कटकाल थपेको र संसद् विघटन गरेको नाममा काङ्ग्रेस अनुशासन समितिले जेठ ९ गते देउवालाई पार्टीबाट निलम्बन गरेको थियो ।

सोही निलम्बनबाट नै पार्टी फुटको सङ्घारमा पुगेको थियो । देउवाले २०५९ असार ४ गते महाधिवेशन प्रतिनिधिको विशेष भेला डाकेर सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध ८ बुँदे अविश्वासको प्रस्ताव पारित ग¥यो । काङ्ग्रेसको विधान पनि संशोधन गर्दै काङ्ग्रेस सभापतिमा कोइरालालाई हटाएर देउवालाई चयन ग¥यो । सो विवाद निर्वाचन आयोगमा पुगेपछि २०५९ भदौ ३१ गते कोइराला पक्षलाई नै आधिकारिकता दिएको थियो । त्यसपश्चात् नै पार्टी औपचारिक रूपमा फुटेको इतिहास छ ।

काङ्ग्रेसका फरक फरक धार
सुरुवातदेखि नै फरक फरक धारको जन्म भएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । नेपालको राजनीतिक दर्पण भाग १ को पृष्ठ ७० मा २००५ साल साउन १ गते कलकत्तामा नेपाल प्रजातन्त्र काङ्ग्रेसको स्थापना भएको उल्लेख छ । यसको मुख्य उद्देश्य तत्कालीन राजा त्रिभुवनको मुक्ति र जनराज्यको स्थापना गर्ने भन्ने थियो । जसको झण्डा रातो भूइँमा सेतो चारतारे रहेको थियो । उक्त पार्टीको सभापतिको नामोल्लेख नभए पनि मन्त्रीमा महेन्द्रविक्रम शाह रहेका थिए ।

लगत्तै सोही सालको पुस १५ गते प्रथम अधिवेशन कलकत्तामा भएको थियो । उक्त अधिवेशनबाट सभापतिमा महेन्द्रविक्रम शाह बनेका थिए । २००६ साल चैत १४ गते नेपाल प्रजातन्त्र काङ्ग्रेसको सभापति र नेपाल राष्ट्रिय काङ्ग्रेसका कोइराला गुटका अध्यक्ष मातृकाप्रसाद कोइराला रहेका थिए । उनीहरू दुवैले संस्थाको एकीकरणको आवश्यकता देखाउँदै प्रेस वक्तव्य जारी गरेको लेखक देवकोटाले पृष्ठ ७१ मा उल्लेख गरेका छन् ।

यस्तै चैत २७ गते दुवै संस्थाका प्रतिनिधिहरूको सम्मेलन सुरु गरिएको र दुवै संस्थालाई एकीकरण गरी नेपाली काङ्ग्रेस नामकरण गरिएको थियो । जसको सभापतिमा मातृकाप्रसाद कोइराला चुनिएका थिए भने झण्डा चाहिँ नेपाल प्रजातान्त्रिक काङ्ग्रेसकै कायम रहेको थियो । यस्तै २०१० सालमा नेपाल तराई काङ्ग्रेसको स्थापना भएको थियो । जसको अध्यक्षमा वेदानन्द झा रहेका थिए भने झण्डा नीलो र सेतो राखिएको थियो ।

गगन सभापति बनेपछिको घटनाक्रम
२०८२ साल पुस ३० गते नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भए । करिब ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरु भएको विशेष महाधिवेशनले बुधबार थापालाई औपचारिक रूपमा सभापति चयन गरेको थियो । गगन थापा–विश्वप्रकाश शर्मा समूहको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । त्यसयता देउवा पक्ष, कृष्णप्रसाद सिटौला पक्ष, डा. शेखर कोइराला पक्ष थापा समूहसँग रुष्ट बनेको थियो । काङ्ग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी महाधिवेशन भएको थियो ।  

थापालाई सभापति चयन गर्नुअगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीसमेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो । पक्षविपक्षका कारण नै इतर पक्षहरू अहिले वैकल्पिक शक्ति निर्माणमा जुटिरहेका छन् । राजनीतिक विश्लेषक खतिवडा भन्छन्, “यो पटक पार्टी फुटेमा ८० वर्षको इतिहासमा तेस्रो हुन्छ । तर फेरि पार्टी फुटाउने हिम्मत चाहिँ नगर्लान् कि । किनकि देउवाले पार्टी फुटाएको र असफल भएर फर्किएको इतिहास छ ।”

थापा नेतृत्वको काङ्ग्रेसलाई निर्वाचन आयोगले २०८२ माघ २ गते आधिकारिता दिएको थियो । निर्वाचन आयोगले दिएको मान्यतालाई २०८३ वैशाख ४ गते अदालतले पनि सदर गरिदिएको थियो । न्यायाधीशहरू शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानूनसम्मत ठहर्याएको थियो । 

राष्ट्रिय भेलाबाट पार्टी फुट्ला ? 
अहिले इतर पक्षले सर्वोच्च अदालतमा पुनरावलोकनको मुद्दा हालेका छन् । इतर पक्षका काङ्ग्रेस नेता मीन विश्वकर्माका अनुसार साउन १२ गते सर्वोच्च अदालतमा पुनरावलोकनको रिट दायर गरिएको छ । उनले भने, “राष्ट्रिय भेला बोलाएका छौँ, त्यहाँ गम्भीर छलफल हुन्छ । न्यायिक निकाय पुरावलोकनमा मुद्दा पनि दिएको छ । त्यसले पनि एउटा छिनोफानो गर्ला । मिलेन भने काङ्ग्रेसभित्र नै पनि वैकल्पिक शक्ति निर्माण बनाएर जाने भन्ने छ । ५०–५० को अवस्था छ ।”

उनका अनुसार अहिलेसम्म बाहिर रहेको कार्यसमितिले केन्द्रीय समितिले अर्को फोरम बनाएर जाने चर्चा भइराखेको छ । यता राजनीतिक विश्लेषक खतिवडाले राष्ट्रिय भेलाबाट पार्टी फुट्छ भन्ने ग्यारेन्टी गर्न गाह्रो रहेको बताए । अदालतमा पनि पुनरावलोकन मुद्दा भएकाले अदालतबाट फाइनल नहुञ्जेलसम्म फुट्ने अवस्था नभएको उनले बताए । “यिनीहरुको प्रोब्लम भनेको अन्त्यहीन झगडा हो” उनले भने ।

अर्का राजनीतिक विश्लेषक डा. श्रेष्ठले निर्वाचन आयोग र अदालतले पनि सदर गरेका कारणले काङ्ग्रेसभित्र शक्ति सङ्घर्ष भइरहेको देखिन्छ । “कोइराला र देउवाहरू नै बाहिर छन् । काङ्ग्रेस एक रहेन भनेर भन्नुप¥यो । निरन्तर चल्दै आएको सङ्घर्षकै उपज हो”–उनले फोनसम्पर्कमा भने । काङ्गेसले शनिबार पत्रकार सम्मेलन गर्दै साउनको अन्तिम साता राष्ट्रिय भेला बोलाएका छन् । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन् ।