विराटनगर । विराटनगरका ठूला अस्पतालभित्र र बाहिरका फार्मेसीहरूले औषधि भन्दै बिरामीलाई आर्थिक भार पर्ने गरी ‘न्युट्रास्युटिकल’ (खाद्यपूरक) सामग्री बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

नियामक निकाय औषधि व्यवस्था विभाग (डिडिए) निष्क्रिय भइदिँदा जसरी पनि कमाउ धन्दामा लागेका फार्मेसी सञ्चालकहरूले अहिले विराटनगरमा बिरामीहरूलाई मनलाग्दीरूपमा न्युट्रास्युटिकल सामग्री बिक्री वितरण हुने गरेको पाइएको हो ।

पाँच वर्षअगाडि औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री चिकित्सकले सिफारिस गरिदिने र औषधि भन्दै फार्मेसीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो । विभागले खाद्य पूरक सामग्री फार्मेसीमा बिक्री वितरण गरेको पाइए बरामद गर्न थालेपछि यो केही हदसम्म नियन्त्रणमा आएको थियो ।

अहिले फेरि विराटनगरका ठूला अस्पतालभित्र र बाहिरका फार्मेसीहरूबाट खुलेआम खाद्यपूरक सामग्री औषधि भन्दै बिरामीलाई बिक्री वितरण गर्न थालेका छन् । केही समयअगाडि डिडिएले खाद्यपूरक सामग्री फार्मेसीबाट बिक्री वितरण हुने गरेको जनगुनासो आएपछि अनुगमन गरी नियन्त्रण गर्ने र नष्ट गर्ने अभियान सुरु गरेको थियो । अहिले अनुगमनले निरन्तरता पाउन छोडेपछि फेरि बिरामीलाई औषधि भन्दै खाद्यपूरक सामग्री फार्मेसीबाट बिक्री गर्न सुरु भएको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–५ बगरगाछीस्थित लाइफगार्ड हस्पिटलभित्रको फार्मेसीले औषधि भन्दै बिक्रीको लागि राखिएको ठूलो परिमाणमा खाद्यपूरक सामग्री बरामद गरेको छ । 

हस्पिटलका सञ्चालक रञ्जित अग्रवालले सञ्चालन गरेको सो फार्मेसी (औषधि पसल)बाट १० लाख रुपैयाँभन्दा बढीको खाद्यपूरक सामग्री बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बरामद भएको खाद्यपूरक सामग्री १० लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको रहेको जानकारी डिएसपी जोशीले दिए । उनका अनुसार बरामद गरिएको १० प्रकारका सामग्री औषधि विभागको जिम्मा लगाइएको छ ।

प्रहरी र विभागको संयुक्त टोलीले बेस्टो सीएफ २ हजार ८० ट्याब्लेट, फेरिकम एक्सटी १ हजार ३ सय २०, ओक्सो माक्स ६ सय ९०, क्यू होप ५ सय ६०, प्रिमियर भिपी १ सय, एक्स्टेन्भिट ६ सय, रेस्भिनो गोल्ड १ हजार ३ सय २०, कोरल कल एचडी ६ सय, बोने कार्ट ३ सय २० र एमसी कार्ट ८ हजार ५ सय ट्याब्लेट बरामद गरेको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख कमल गुरागाईंका अनुसार फार्मेसीमा राखेर खाद्यपूरक सामग्री बेच्न पाइँदैन । ‘यो बिक्रीका लागि छुट्टै हिसाबले अनुमति लिनुपर्छ । अलग्गै काउन्टर हुनुपर्छ । फार्मेसीबाट औषधिसँगै बेच्न मिल्दैन । नियमविपरीत बेचिरहेको पाइएकाले बरामद गरेर ल्याएका छौँ’–उनले भने ।

उनका अनुसार खाद्यपूरक सामग्री औषधि हैन । तर, चिकित्सकले पोषक तŒवका रूपमा औषधिसँगै सिफारिस गरिदिने भएकाले बिरामीले पनि प्रयोग गर्ने गरेको गुरागाईं बताउँछन् । ‘औषधिसँगै चिकित्सकले किन सिफारिस गर्नुहुन्छ भन्ने चैं उहाँहरूको कुरा हो’ उनी भन्छन्, ‘प्रायः चिकित्सकले बिरामीका लागि पोषक तŒवका रूपमा खाद्यपूरक सामग्रीको सिफारिस गरेको पाइन्छ ।’

यसअगाडि पनि विराटनगरमा खाद्यपूरक सामग्री औषधि भन्दै बिक्री हुन थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरु गरेको थियो । त्यसबेला नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेसी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्वल फर्मा, फेसबुक फार्मेसी, शिवराम फार्मेसी, श्री गणेश ड्रग हाउस, विराट नर्सिङहोमभित्रको विराटनगर अस्पताल फार्मेसी, युनिक फार्मेसीबाट विभागले ठूलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपूरक सामग्री नियन्त्रणमा लिएको थियो ।

यस्तै विराटनगरको सप्तकोसी फार्मेसी, सीताराम फार्मेसी, झापाको दमकको मन्जिता फार्मेसी, सयरा फार्मेसी, तोयानाथ फार्मेसी, जुनतारा फार्मेसी,  अतुल्यन मेडिकल, आयुव फार्मेसी, मनमोहन अस्पताल फार्मेसीबाट खाद्यपूरक सामग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ । खाद्यपूरक सामग्री डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गरिने सामान हो । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्यपूरक सामग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्म पत्ताको हिसाबले औषधि भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो । यसरी डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गर्ने खाद्यपूरक सामग्रीलाई औषधि भन्दै बिक्री वितरण हुँदा पनि अहिले विभाग मौन बसेको छ । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्युट्रास्युटिकल’ सिफारिस गरिदिने गरेका छन् ।

खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको जथाभाबी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई पु¥याउने आर्थिक नोक्सान हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरूले अत्यन्त महँगा खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको सिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरूले त्यसको ठूलो आर्थिक बोझ चुकाउनु परेको छ । कतिपय बिरामीलाई चिकित्सकहरूले ६ महिनादेखि १ वर्षसम्मका लागि त्यस्ता सामग्रीहरूको सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरूले त्यस्ता सामग्रीहरू सिफारिस गर्दा फलानो पसलमा गएर किन्नू भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनूसमेत भन्ने गरेका छन् । यसबाट खाद्यपूरक वा आहारपूरक सामग्रीहरूको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्न कुरा पुष्टि हुने गरेको छ ।

खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका खाद्यपूरक वा आहारपूरक सामग्रीहरू औषधि पसलहरूबाट बिक्री वितरण गरेको पाइएकाले त्यस्ता सामग्रीहरू जफत गर्ने गरिएको छ । औषधि ऐन बमोजिम सञ्चालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामग्रीहरूको बिक्री वितरण गर्नु गैरकानूनी कार्य भएको विभागले जनाएको छ । विभागले यस किसिमका सामग्रीहरूको औषधि पसलबाट हुने बिक्रीलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्ने बताएको छ ।

खाद्यपूरक सामग्रीहरूको प्रयोग बिरामीको उपचारका लागि गर्नु हुँदैन । सो कुरा स्वयम् त्यस्ता सामग्रीहरूका खोलमा ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको हुन्छ । तर ठूला अस्पतालहरूबाट त्यस्ता सामग्रीहरूको सिफारिस हुने र अस्पतालअगाडि रहेका फार्मेसीबाट बिरामीहरूलाई विभिन्न किसिमका खाद्यपूरक वा आहारपूरक सामग्रीहरू बिक्री वितरण निर्वाधरूपमा हुने गरेको छ ।