एशियाको चम्किलो वित्तीय केन्द्र हङ्कङ र पूर्वी नेपालको पहाडी काखमा बसेको धरान भूगोल, विकास र जीवनशैलीका हिसाबले यी दुई सहर फरक संसारका प्रतिनिधि जस्ता लाग्छन् । तर, गहिरिएर हेर्दा यी दुईबीच केही समान सपना र सम्भावनाको धागो पनि जोडिएको अनुभूति गर्न सकिन्छ । हङ्कङ गगनचुम्बी भवन, अत्याधुनिक यातायात प्रणाली र विश्वस्तरीय पूर्वाधारले चिनिन्छ । यहाँको जीवन द्रुत छ । यहाँको जीवनशैली समयसँग दौडिरहेको हुन्छ । वित्त, व्यापार र प्रविधिको केन्द्रका रूपमा स्थापित यो सहरमा विश्वभरका मानिसहरू अवसर खोज्दै पुगेका छन् । कतिपय यहाँको विकास, जीवनशैली र प्राकृतिक तथा कृत्रिम छटाको अध्ययन र अवलोकन गर्न पर्यटकको रूपमा पनि उत्तिकै पुग्ने गर्छन् ।
त्यसको ठीक विपरीत, धरानको गति सुस्त तर आत्मीय छ । हरियाली डाँडाकाँडा, सामुदायिक जीवनशैली र सांस्कृतिक विविधताले धरानलाई विशेष बनाएको छ । यहाँको दैनिकी बिहान चिया पसलमा गफिँदै सुरु हुन्छ भने बेलुकी साथीभाइसँगको भेटघाटमा दिन टुङ्गिन्छ । धरान विकासको गति समात्न नसकेको एउटा नेपालको सुन्दर सहर चाहिँ हो ।
पूर्वाधारको हिसाबले तुलना गर्दा हङ्कङ र धरानबीच आकास–पाताल फरक छ । हङ्कङमा मेट्रो रेल, व्यवस्थित सडक र स्मार्ट सिटी प्रविधि दैनिक जीवनको हिस्सा बनेका छन् । धरान भने अझै आधारभूत पूर्वाधार विकासकै चरणमा छ । सडक, स्वास्थ्य र खानेपानीजस्ता सेवा अपुगमा निरन्तर अल्झिरहेको छ । तर, सम्भावनाको कुरा गर्दा धरान पछाडि छैन । शिक्षा, खेलकुद र पर्यटनका क्षेत्रमा धरानले आफ्नो पहिचान बनाउँदै गएको छ । युवाशक्ति, वैदेशिक अनुभव बोकेका नागरिक र स्थानीय उद्यमशीलताले धरानलाई भविष्यमा एउटा सानो तर व्यवस्थित सहरका रूपमा विकास गर्ने आधार तयार गरिरहेका छन् । यहाँका जनप्रतिनिधिहरूले दीर्घकालीन योजना बनाएर काम गर्नसके धरान पनि एउटा सम्भावनाको सहर हो ।
हङ्कङले देखाएको विकासको बाटो केवल पूर्वाधार र लगानी मात्र होइन, सुशासन, दीर्घकालीन योजना र अनुशासनमा आधारित छ । समुद्रमुनीको मेट्रो रेल, बस सेवा, समुद्रमुनीको आधुनिक बजार हङ्कङको आधुनिक विकासका गहना हुन् । पहाडहरू फोडेर मेट्रो रेल सञ्चालन गरी गाउँ, सहर जोड्न गरिएको मिहिनेत विश्वका लागि उदाहरणीय विकासका नमुना हुन् । यी सबैकुरा धरानका लागि सिकाइ हुन सक्छन् ।
हङ्कङको आधुनिक यातायातः समुद्रमुनी मेट्रोदेखि पहाड फोडेर बनेका रेलमार्गसम्म
विश्वका विकसित सहरहरूमध्ये एक हङ्कङले आफ्नो जटिल भौगोलिक बनावटका बावजुद अत्यन्त प्रभावकारी र आधुनिक सार्वजनिक यातायात प्रणाली विकास गरेको छ । चीनको विशेष प्रशासनिक क्षेत्र मानिएको हङ्कङ टापु, काउलुन र न्यू टेरिटोरिज समावेश छन् । १ हजार १ सय १४ वर्गकिलोमिटर क्षेत्रफलमा करिब ७.५ मिलियन जनसङ्ख्या रहेको हङ्कङ विश्वको चौथो सबैभन्दा घना जनसङ्ख्या भएको मुलुक हो । सानो भू–भाग, घना जनसङ्ख्या र पहाडी संरचनाबीच यहाँ समुद्रमुनी गुड्ने मेट्रो, पहाड छेडेर बनाइएका रेलमार्ग तथा व्यवस्थित बस सेवाले यातायातलाई सहज, छिटो र भरपर्दो मात्र बनाएको छैन, विश्वकै नमुना यातायात बनाएको छ ।
हङ्कङको मुख्य रेल प्रणाली द्रुत सामूहिक रेल प्रणाली -Mass Transit Railway (MTR) विश्वकै उत्कृष्ट मेट्रो सेवामध्ये एक मानिन्छ । यस प्रणालीको विशेषता भनेको समुद्रमुनी सुरुङ बनाएर रेल सञ्चालन गर्नु हो । भिक्टोरिया हारवर (Victoria Harbour) मुनीबाट गुड्ने रेलले हङ्कङ आइसल्याण्ड, कोलोन (Hong Kong Island / Kowloon( लाई सिधै जोड्छ । यसले यात्रुहरूलाई छिटो, सुरक्षित र सहज आवागमनको सुविधा प्रदान गरेको छ । द्रुत सेवा, उच्च सुरक्षा प्रणाली र समयपालन यसको मुख्य विशेषता हो ।
हङ्कङको भौगोलिक संरचना पहाडी भएकाले रेलमार्ग निर्माण निकै चुनौतीपूर्ण हो । तर अत्याधुनिक प्रविधिको प्रयोग गर्दै पहाड फोडेर तथा सुरुङ खनेर रेलमार्ग विस्तार गरिएको छ । इष्ट रेल–वे लाइन र तुनमा लाइन (East Rail Line / Tuen Ma Line) जस्ता लाइनहरूले सहरसँगै टाढाका बस्तीहरूलाई पनि जोडेको छ । यसले ग्रामीण तथा नयाँ विकास भइरहेका क्षेत्रहरूमा आवतजावतलाई सहज बनाउनुका साथै आर्थिक गतिविधि विस्तारमा समेत टेवा पु¥याएको छ ।
मेट्रोसँगै हङ्कङको बस सेवा पनि उत्तिकै प्रभावकारी छ काउलन मोटर बस(Kowloon Motor Bus) र सिटी बस जस्ता कम्पनीहरूले सञ्चालन गर्ने दुई तले बसहरू सहरभरि चल्छन् । मेट्रो नपुगेका क्षेत्रहरूमा बस सेवा मुख्य आधार हो । सस्तो, पहुँचयोग्य र समयतालिकाअनुसार सञ्चालन हुने बस सेवाले यात्रुहरूलाई सहज विकल्प प्रदान गरेको छ ।
यसका अतिरिक्त, हङ्कङको यातायात प्रणाली पूर्णरूपमा एकीकृत छ । अक्टुपस कार्ड (Octopus) प्रयोग गरेर यात्रुहरूले मेट्रो, बस, ट्राम र फेरी सबैमा सजिलै भुक्तानी गर्न सक्छन् । एउटै कार्डले दैनिक जीवनका अन्य सेवाहरूमा समेत भुक्तानी गर्न मिल्ने भएकाले यो प्रणाली अत्यन्त उपयोगी बनेको छ । समग्रमा, हङ्कङले समुद्रमुनी सुरुङ, पहाडभित्र रेलमार्ग र सशक्त बस सञ्जालको संयोजनमार्फत् अत्याधुनिक र दिगो यातायात प्रणाली विकास गरेको छ । यसले सीमित भूगोल र चुनौतीपूर्ण संरचनाबीच पनि कसरी प्रभावकारी पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हो । सबै सेवा सिष्टममा चलेको छ । सडकमा ट्राफिक बस्नु पर्दैन । जथाभावी सडक काट्नेलाई २ हजार डलर जरिबाना, सार्वजनिक क्षेत्रमा चुरोट खानेलाई ५ हजारसम्म जरिबाना तोकिएको छ । कडा कानून र सरकारको निगरानीले सबै सिष्टममा चलिरहेको हुन्छ ।
पुरानो ट्रामवेज यातायात
हङ्कङले पुरानो इतिहासलाई पनि जीवित राखेको पछ । ट्राम प्रणाली (Hong Kong Tramways) संसारकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालनमा रहेको विद्युतीय सडक यातायातमध्ये एक हो । यसको इतिहास, विकास र आजको अवस्थालाई बुझ्दा हङ्कङको सहरी विकास नै राम्रोसँग झल्किन्छ । यसलाई हङ्कङ सरकारले जीवितै राखेको छ । विद्युतीय ट्राम प्रणाली जुन सडकमा बिछ्याइएको रेल ट्र्याकमा चल्छ र माथि तारबाट बिजुली लिन्छ । नेपालमा यस्तै ट्रली बस काठमाडौंमा चल्थे तर अहिले इतिहास बनेको छ ।
नेपाली प्रवासन नियति र रहर पुस्तकका लेखक तथा लामो समयदेखि हङ्कङमा बस्दै आएका पुराना पत्रकार डम्बरकृष्ण श्रेष्ठका अनुसार हङ्कङमा ट्राम सञ्चालनको योजना बेलायती औपनिवेशिककालमा सुरु भयो । सन् १९०१ मा निर्माण सुरु भएको र १९०४ देखि नियमित सेवा सुरु भयो । त्यो बेला हङ्कङ अझै सानो बन्दरगाह सहर थियो । सडक यातायात सीमित थियो । मानिसहरूको मुख्य यात्रा साधन पैदल, डुङ्गा र घोडागाडी थिए । ट्रामलाई सहरभित्रको द्रुत र आधुनिक यातायातको साधानका रूपमा ल्याइएको पाइन्छ ।
हङ्कङका ट्राम आज पनि केही अनौठा विशेषताका कारण विश्वमै चिनिन्छ । केवल हङ्कङ टापुमा मात्र सञ्चालित पूर्ण रूपमा विद्युतीय (overhead wire system) विश्वकै दुर्लभ दुई तला भएका बसहरू धेरैजसो मार्ग तटीय र सहरी भीडभाडयुक्त क्षेत्रमा यो विस्तार गरिएको छ । २० औँ शताब्दीको मध्यतिर ट्राम प्रणाली प्रमुख सार्वजनिक यातायात बनेको थियो । व्यापारिक क्षेत्र र आवासीय क्षेत्र जोड्ने मुख्य माध्यम यही थियो । पछि बस र मेट्रो आएपछि यसको भूमिका घट्दै गयो, तर सेवा बन्द भएको छैन । ती पुराना बसलाई मर्मत गरी पुरानो इतिहास झल्कने गरी सञ्चालनमा ल्याइँदै आएको छ ।
अझै पनि दैनिक लाखौँ यात्रु बोक्छ । पर्यटकका लागि सस्तो र लोकप्रिय माध्यम बनेको छ । हङ्कङको सांस्कृतिक पहिचानको प्रतीक बनेको छ । पुराना काठे डिजाइन भएका ट्राम र आधुनिक डिजिटल प्रणाली दुवै मिसिएको पाइन्छ । हङ्कङमा ट्राम केवल यातायात होइन, सहरको इतिहास बोक्ने सांस्कृतिक सम्पदा हो । स्थानीय जीवनशैली देखाउने र सहरको पुरानो र नयाँ रूप जोड्ने पुलको रूपमा यो स्थापित रहेको पाइन्छ । नेपालमा यस्तै पुरानो ट्रली बस सेवा थियो । तर अहिले त इतिहास बन्यो । हङ्कङको ट्राम सेवाजस्तै बचाएर राख्न नेपाली शासकले नसक्नु दुर्भाग्य हो ।
धरानका लागि हङ्कङस्थित नेपालीहरूले के गर्न सक्छन् ?
हङ्कङमा बसोबास गर्ने ३० हजारभन्दा बढी नेपाली, जसमा ठूलो हिस्सा लाहुरे समुदायको छ, उनीहरू धरानजस्तो सहरका लागि केवल ‘रेमिटेन्स’ को स्रोत मात्र होइनन् । उनीहरू अनुभव, सीप र दृष्टिकोणका वाहक पनि हुन् । विशेषगरी धरानबाट गएका करिब १८ हजार (नेपाली प्रवासन नियति र रहर पुस्तकमा उल्लेख भएअनुसार) मानिसले चाहेमा सहरको रूपान्तरणमा ठोस भूमिका खेल्न सक्छन् ।
हङ्कङमा बस्दै आएका नेपालीहरूले सानो–सानो लगानी कोष (community fund) बनाएर धरानमा पर्यटन, क्याफे संस्कृति, होटल, होम–स्टे वा मनोरञ्जन स्थल विकास गर्न सक्ने सम्भावना छ । व्यक्तिगत लगानीभन्दा सामूहिक लगानी प्रभावकारी हुन्छ । धेरै हङ्कङ निवासीहरू नेपालमा लगानी गर्न चाहन्छन् तर लगानी गर्ने वातावरण, लगानी सुरक्षाको चिन्ता उनीहरूमा छ । उनीहरूले हङ्कङमा कमाएको सम्पत्तिले नेपालका ठूला सहरहरूमा घर, जग्गाजमिन जोडेका छन् । लगानी सुरक्षाको ग्यारेन्टी राज्यले गर्न सके उनीहरू सेवामूलक क्षेत्रमा सामूहिक लगानी गर्न चाहन्छन् । लामो समयदेखि हङ्कङमा बस्दै आएका द नेप्लिज एसोसिएसनका अध्यक्ष धरान निवासी प्रदिप थापा पनि यो कुरामा सहमत छन् । नेपालले लगानीमैत्री वातावरण बनाएर विदेशमा बस्नेहरूको लगानीप्रति स्थानीय सरकार जिम्मेवार भए अर्बौंको लगानी धरान भिœयाउन सकिने थापाको धारणा छ ।
हङ्कङको अनुशासन, सफाइ, सेवा–संस्कृति र व्यवस्थापनशैली धरानमा भिœयाउन सकिन्छ । केवल संरचना बनाउनु पर्याप्त हुँदैन, त्यसलाई कसरी चलाउने भन्ने सीप झन् महŒवपूर्ण हुन्छ । हङ्कङमा भएका संरचना जस्तै धरानमा बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । जस्तैः मनोजकुमार मेन्याङ्बो नगर प्रमुख भएको बेला हङ्कङको भिक्टोरिया हार्वरको किनारमा रहेको हङ्कङ क्लक टावरको डिजाइनमा धरानमा घण्टाघर बनाइएको छ । यो धरानको आम्दानीको स्रोतसँगै पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । यस्तै अन्तर्राष्ट्रिय सम्पर्क प्रयोग गरेर धरानलाई ‘डायस्पोरा–फ्रेन्ड्ली सिटी’ बनाउन सकिन्छ । जहाँ विदेशमा रहेका धरानेहरू फर्केर लगानी गर्न र बस्न सहज होस् ।
हङ्कङबाट धरानले सिक्ने कुराहरूः
विश्वका मानिसहरू हङ्कङ घुम्न जाने गरेका छन् । यहाँको भ्यू–प्वाइन्ट र पार्क संस्कृति निकै लोभलाग्दो छ । भिक्टोरिया पिक, ओसन पार्कजस्ता स्थानहरूले प्राकृतिक सुन्दरतालाई व्यवस्थित पर्यटनमा रूपान्तरण गरेका छन् । धरानमा पनि विजयपुर, चिण्डेडाँडा, भेडेटार, साँगुरीगढी, दानाबारी, विष्णुपादुका, शूलीकोटजस्ता डाँडाकाँडा, जङ्गल क्षेत्र छन् । यी क्षेत्रमा व्यवस्थित पार्क बनाएर पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ । यस्तै सुरक्षित पदमार्ग, केबलकार वा मिनी ट्रामजस्ता आकर्षण परिवारमैत्री पार्क र पिकनिक स्पटहरू बनाउन सकिन्छ ।
हङ्कङले सीमित जमिनलाई अधिकतम् उपयोग गरेको छ । धरानमा पनि खाली सार्वजनिक जग्गालाई पार्क, खेल मैदान, खुला जिम वा सामुदायिक स्पेसमा बदल्न सकिन्छ । हङ्कङको सबैभन्दा ठूलो विशेषता—सफा सहर हो । धरानमा पनि स्थानीय तह र नागरिक मिलेर क्लिन सिटी अभियान चलाउन सकिन्छ । यसमा डायस्पोराको आर्थिक र प्राविधिक सहयोग उपयोगी हुनेछ । यस्तै हङ्कङ राति पनि ब्युँतिरहने सहर हो । यहाँ २४ सै घण्टा बजार खुल्ला रहन्छ । धरानमा सुरक्षित ‘नाइट मार्केट’, फुड स्ट्रिट, सांस्कृतिक कार्यक्रम सुरु गर्न सकिन्छ, जसले पर्यटन र रोजगारी दुवै बढाउँछ ।
किन जरुरी छ डायस्पोराको भूमिका ?
धरानसँग सम्भावना छ, तर स्रोत सीमित छन् । हङ्कङमा बसेका धरानेहरूसँग पुँजी, अनुभव र दृष्टि छ । यदि यी तीन कुरा जोडिए भने पर्यटन बढ्छ । रोजगारी सिर्जना हुन्छ र सहरको अनुहार बदलिन्छ । धरानलाई हङ्कङ बनाउने कुरा यथार्थ होइन । धरानलाई धरानै बनाउने हो । तर हङ्कङले अपनाएको सोच—सफाइ, योजना, पर्यटन व्यवस्थापनजस्ता कुरा यदि धरानले सिक्न सक्यो भने धरान आफैमा एक आकर्षक, व्यवस्थित र जीवन्त सहर बन्न सक्ने कुरामा दुई मत छैन् । हङ्कङमा बसेका धरानेहरू केवल सम्झनामा सीमित रहने होइन, आफ्नै सहरको भविष्य निर्माणमा पनि सहकार्य गर्नु उचित हुनेछ ।
राज्यको भूमिका
धरानमा लगानी भित्र्याउने कुरा केवल डायस्पोरा वा निजी क्षेत्रको इच्छामा मात्र भर पर्दैन । यसको मूल चाबी सङ्घ, प्रदेश र स्थानीय नेतृत्वको भूमिकामा हुन्छ । नीति, विश्वास र वातावरण—यी तीन कुरा मिले मात्र लगानी आउन सक्छ । राज्यको नीति, भरोसाको आधार, कानूनी स्थिरता आवश्यक छ ।
लगानीकर्तालाई सबैभन्दा पहिले चाहिने कुरा हो, नियम नबदलिने भरोसा । लगानीमैत्री कानून, अनुमति प्रक्रिया सरल, जग्गा, कर, श्रमसम्बन्धी स्पष्ट नियम हुनु जरुरी छ । जस्तैः सिङ्गापुरले स्पष्ट नीति, छिटो अनुमति र भ्रष्टाचाररहित प्रशासनका कारण विश्वकै लगानी केन्द्र बन्न सफल भयो । यस्तै नेपाल सरकारले पनि गर्न सक्नु पर्दछ ।
सडक, बिजुली, पानी, इन्टरनेट जस्ता आधारभूत कुरा नभएसम्म लगानी ल्याउन सकिँदैन । यसका लागि राज्यले वातावरण तयार गर्नु पर्दछ । दुबईले पहिला पूर्वाधारमा लगानी ग¥यो । एयरपोर्ट, सडक, बन्दरगाह बनायो । त्यसपछि निजी लगानी स्वतः भित्रियो । यसका लागि दुबईबाट पाठ सिक्नु पर्दछ ।
अर्को कुरा, लगानी सुरक्षित छ भन्ने अनुभूति दिनु राज्यको जिम्मेवारी हो । नीतिगत स्थिरता, विवाद समाधान, राजनीतिक हस्तक्षेप न्यूनीकरण हुनु पर्दछ । यदि बारम्बार नीति बदलिन्छ भने लगानीकर्ता डराउँछन् । नेपालमा धेरै परियोजना अल्झिनुको यही कारण हो । हङ्कङमा बस्ने धरानेहरू प्रदिप थापा, टङ्क राना, हेम राईलगायतले हङ्कङमा रहेको बिगबुद्ध जस्तै परियोजना धरान–४ स्थित बूढीमोरङमा सुरुवात गरेका थिए । तर कानूनी झन्झट, स्थानीय सरकारको असहयोगले त्यो परियोजना अगाडि बढ्न सकेको छैन । यसले विदेशमा बसेर नेपालमा केही गरौं भन्नेहरूका लागि निराशाजनक विषय हो । यद्यपि प्रदिप थापाले उक्त परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
अर्को कुरा, धरानलाई के बनाउने भन्ने प्रष्ट भिजन नेतृत्वसँग छैन । यहाँको नेतृत्वले ‘काम गर्ने वातावरण’ बनाउने हो । स्पष्ट भिजन हुनु पर्दछ । धरान कस्तो सहर बनाउने ? पर्यटन सिटी, शिक्षा हब, खेलकुद सिटी आदी भिजन स्पष्ट नभएसम्म लगानी पनि छरिन्छ । पोखराले आफूलाई पर्यटन सहरको रूपमा ब्रान्ड ग¥यो । होटल, एड्भेन्चर, रेस्टुरेन्ट स्वतः बढे । त्यहाँको विकास द्रुत गतिमा भइरहेको छ । धरानले पनि एउटा लय समात्नु पर्दछ । हङ्कङमा भए जस्ता केही संरचना जस्तै बिगबुद्ध, टेन थाउजेण्ड बुद्ध, ओसियन पार्क, पिकजस्ता संरचना धरानको स्थानीय पहिचानलाई समेटेर बनाउन सकिन्छ । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको स्पष्ट योजना हुनु जरुरी छ ।
निष्कर्ष
धरान पनि सम्भावनाको सहर हो । प्रष्ट नीति, स्थानीय सरकारको इच्छा शक्ति र विदेशमा बस्ने नेपालीहरूको लगानीको वातावरण तयार गर्न सकियो भने नेपालको सुन्दर सहर धरानलाई बनाउन सकिन्छ । अन्ततः हङ्कङ र धरान तुलना मात्र होइन, प्रेरणाका दुई ध्रुव हुन् । एउटा जहाँ पुगिसकेको छ, अर्को त्यहीँ पुग्ने यात्रामा छ । फरक यति हो, हङ्कङ परिणाम बनेको छ भने धरान सम्भावनामा अडिएको छ ।