नेपाली बाल साहित्यमा कृष्ण बजगाईँ एक परिचित नाम हो । बेलायतमा बसेर नेपाली बाल साहित्यलाई पनि समृद्ध पार्न लेखक बजगाईँ तल्लीन छन् । प्रचलित एउटा लोक विश्वासमा आधारित भनाइलाई आधार मानेर लेखिएको ‘स्यालको सिङ’ (२०८२) कृष्ण बजगाईँको एउटा बाल उपन्यास हो । भाले स्याल कराउने बेलामा त्यसको सिङ निस्कन्छ र त्यसैबेला त्यस स्याललाई मारेर सिङ प्राप्त गर्न सकिन्छ भन्ने किंवदन्ती वा लोकोक्ति नै यस कथाको केन्द्र वा मेरूदण्ड हो । कथा स्यालकै सिङको खोजीको सेरोफेरोमा अघि बढेको छ ।
रोमाञ्चक बाल उपन्यास ‘स्यालको सिङ’ ले आजका बालबालिकाहरुलाई जोस, जाँगर र आँट वा साहस बढाउने काम गरेको छ । यो सांस्कृतिक मौलिकताले भरिएको र रहस्यको खोजीमा केन्द्रित उपन्यास हो । कथावस्तु अद्भूत र रोमाञ्चकारी यात्राको बारेमा छ । त्यस यात्राबाट बालबालिकाले थुप्रै कुराहरु सिक्न पाउनेछन् । यात्रा रमाइलो खालको भएकाले पाठकले यो उपन्यास पढेर मनोरञ्जन लिन सक्ने छन् । उपन्यासले बाल पाठककामा मनमा जिज्ञासा जगाउन सकेको छ ।
एक अर्कामा दया, माया, सहयोग, इमान्दारी, साहस र आत्मविश्वास बढाउनुका साथै एकतामा बल हुन्छ, मिलेर काम ग¥यो भने जस्तो असम्भव काम पनि सफल हुन्छ भन्ने जस्ता सकारात्मक सन्देश उपन्यासले दिएको छ । ‘स्यालको सिङ’ एउटा असम्भव वस्तुको खोजी हो । लोक विश्वासले नै कथालाई पात्रका माध्यमद्वारा अगाडि बढाएको छ । उपन्यासले बालबालिकालाई प्रमाण नभएका कुराहरुमा विश्वास गर्नु हुँदैन, हावाका भरमा विश्वास नगरी सत्य तथ्य बुझेर मात्र विश्वास गर्नुपर्छ भन्ने सन्देश दिएको छ । उपन्यासको कथा हाँसो र रोमाञ्चले भरिएको छ । यो उपन्यास पढ्दा पाठक कहिलेकाहीँ थोरै डराउने, कहिलेकाहीँ केही उत्साहित हुने र कहिले निराश हुने गर्दछ । कथाको अन्त्यमा चाहिँ अभयको पैसा कमाउने नयाँ योजनाका बारेमा सुन्ने उत्सुकतामा टुङ्गिएको छ ।
कथावस्तु
‘स्यालको सिङ’ को मूल्य पवन नामको पात्रले कुनै पसलेका मुखबाट सुनेर उपन्यासको सुरूवात भएको छ । त्यस पात्रले आफ्ना साथीहरुलाई आफूले सुनेको खबर सुनाएसँगै कथा अगाडि बढेको छ । ती पात्रहरु बालक भए पनि उनीहरुका मनमा धेरै पैसा कमाउने र छिट्टै धनी हुने विचार पलाएको छ । कथामा त्यति सानो उमेरमा नै उनीहरुमा व्यापारिक बुद्धि पलाएको देखाइएको छ । त्यही व्यापारिक बुद्धिले नै उनीहरुमा स्यालको सिङ खोज्ने साहस जगाएको छ ।
स्यालको सिङ हुँदैन भन्ने पात्र अभय पनि साथीहरुको लहलहैमा लागेर उत्सुकताका साथ उनीहरुको पछि लागेको छ । पवनले आफ्ना चार जना साथीहरुलाई स्यालको सिङको मूल्य सुनाएपछि ती पाँचैजना साथीहरु मिलेर तिहारको बेला रातको समयमा देउसी खेल्न जाने भनी घरमा ढाँटेर स्यालको सिकार गर्न धरानको महादेव चोकबाट पानबारी जाने बाटो हुँदै चारकोसे जङ्गलभित्र रहेको सेउती खोलासम्म पुगेका छन् । अन्त्यमा हात लागी शून्य भएको छ । असफलता हात लागेपछि उनीहरु केही निराश हुन्छन् । स्यालको सिङ भनेको हावा कुरा हो त्यसैले सत्य–तथ्य नबुझी हावा भनाइको पछि दौडनु हुँदैन, अनि निराशा वा असफलता नै अन्तिम बिन्दु होइन, यो त कुनै नयाँ कुरो सिक्न पाइयो भनी मनन् गर्नुपर्ने ज्ञान हो भन्ने सन्देश दिएर उपन्यास सकिएको छ ।
“जे भयो राम्रैका लागि भयो होला भनेर चित्त बुझाउनुपर्छ । जीवनमा आउने समस्या, असफलता र प्रयासबाट धेरै कुरा सिकिन्छ । हाम्रो जीवनमा काम लाग्ने राम्रो शिक्षा प्राप्त हुन्छ । मानिस कि त पढेर जान्ने हुन्छन् कि त परेर जान्ने हुन्छन्...।” (५४)
“वास्तविकता हो होइन पत्ता नलगाई दौडिने पाँचै जना दोषी थिए । कुरै नबुझी जोखिमपूर्ण यात्रा गर्दाको परिणाम र आ–आफ्ना उनीहरुलाई महसुस भयो । गल्ती महसुस गर्नु भनेको भविष्यमा यस्तै खालका अरु गल्ती नगर्ने पाठ सिक्नु हो ...।” (५५)
“असफलताले उनीहरुको मनमा असन्तुष्टि थपेको थियो । तथ्यको जाँच नगरी हावाको तालमा यात्रा गर्दा अलिकति लज्जाबोध भएको थियो...।” (५६)
अँध्यारो जङ्गलमा भेटिएको एउटा मान्छेको भनाइबाट पनि त्यो यात्रा असफल हुन्छ होला भनेर पाठकले अड्कल काट्न सक्छ, जस्तैः
“स्यालको पनि कहीँ सिङ हुन्छ ? कुकुरको सिङ देखेका छौ ? मान्छेको सिङ हुन्छ ? हामीलाई ढाँट्छौ ?” जुँगेले एकै पटक थुप्रै प्रश्नहरु सोध्यो (४९)
स्यालमारा नामको ठुलो ढुङ्गोको प्रसङ्गमा पात्रहरुले अवश्य पनि त्यहाँ स्याल भेट्छन् होला भन्ने पाठकका मनमा उत्सुकता जाग्छ । एक त औँसीको रातको अँध्यारो, त्यहीमाथि चारकोसे जङ्गल अनि जनावरहरुको डरका बीचमा भेटिएका मानिसहरु र भूतको त्रासको कथाले पाठकका मनमा कुतुहलता जगाउँछ ।
पात्र
धरानको चारकोसे जङ्गलमा ‘स्यालको सिङ’ खोज्न हिँडेका पाँच जना (पवन, अभय, विक्रम, प्रकाश र केशव) साहसी विद्यार्थी पात्रहरुको कथाले बुनिएको यो बाल उपन्यास हो । एउटै टोलमा घर भई एउटै स्कुलमा पढ्ने ती बालकहरुलाई अत्यन्तै साहसिक पात्रहरुका रुपमा चित्रण गरिएको छ । स्यालको सिङ खोज्ने क्रममा पात्रहरुले अनेक किसिमका चुनौतीहरुको सामना गर्नु परेको छ । एक त उनीहरुले आफ्नै आमाबुबालाई ढाँट्नु परेको छ, त्यसमाथि रातको समय, जङ्गलको निष्पट्ट अँध्यारो बाटोमा मन डराए पनि भित्रबाट साहस बटुलेर उनीहरु अघि बढेका छन् । कथामा अभय नामको पात्रलाई बढी साहसी र बुद्धिमानी देखाइएको छ भने पवनलाई अलि डरपोक पात्रका रुपमा प्रस्तुत गरिएको छ । कथालाई रोचक बनाउन दौडेका बेलामा पवनको जुत्ता खुलेको प्रसङ्ग रोचक छ । सबै पात्रहरुको बानी बेहोरा फरक फरक किसिमको देखाइएको छ । यसमा बालबालिकालाई पात्रमा माध्यमद्वारा सकारात्मक सोचको विकास गर्न सिकाइएको छ ।
पात्रको नाममा प्रतीकको प्रयोग गरिएको छ । यहाँ एउटा पात्रको नाम पवन छ । ‘पवन’ शब्दको अर्थ नेपाली वा संस्कृतमा ‘हावा’ हो । उसले हावाकै तालमा अरुले भनेको कुरा सुनेर पत्याएको छ । अर्को पात्रको नाम अभय हो । अभय शब्दको अर्थ भय नहुने अर्थात् नडराउने हो । कथा अनुसार अभयले पवनको कुरा वा हावा तालमा पवन र पसलेको कुरा पत्याउँदैन र ऊ डरपोक पनि छैन ।
‘स्यालको सिङ हुन्छ’ भन्ने लोक विश्वासमा सुरू भएको यात्राले खोज र अनुसन्धान गरेपछि पात्रहरुको सोचाइ र मनोभाव परिवर्तन भएको छ त्यो नै यस उपन्यासको विशेषता हो । पहिले स्यालको सिङ हुन्छ भन्ने हल्लालाई विश्वास गरेर पाँच जना पात्रहरु स्याल मारेर त्यसको सिङ प्राप्त गरेर धेरै पैसा कमाउने उद्देश्यले रातको समयमा जङ्गल पसेका छन् । त्यस यात्राले ती पात्रहरुलाई हावा कुराको पछाडि लाग्दा अन्त्यमा निराशा हातलाग्दो रहेछ, योजना बनाएर मात्र कुनै पनि काम गर्नुपर्छ भन्ने सोचको विकास भएको छ । स्यालको सिङ हुन्छ भन्ने सोच भएका पाठकलाई समेत झक्झकाउने काम उपन्यासले गरेको छ । पात्रहरुका हातमा असफलता लाग्दा पनि कथामा तिनले हार मानेका छैनन् । यस कथामा नयाँ उपाय खोज्ने र सधैँ साथीहरु सँगै मिलेर अगाडि बढ्ने सोच भएका पात्रहरुको चित्रण गरिएको छ ।
“यस साहसिक यात्राले हामीलाई धेरै कुराको शिक्षा दियो । कुनै पनि कुराको तथ्य जाँच नगरी पत्याइहाल्नु हुँदैन । कुनै पनि योजना बनाउँदा त्यसको सम्भाव्यता र हानि नोक्सानीको पनि ख्याल गर्नुपर्छ भन्ने कुरा थाहा भयो । यो शिक्षा त स्यालको सिङको मूल्य भन्दा पनि बहुमूल्य छ हाम्रा लागि” –अभयले सकारात्मक हुँदै भन्यो । (६४)
“हामीले जीवनमा हरेक क्षण केही न केही सिकिरहेका हुन्छौँ । यस यात्राबाट मित्रता, एकता र साहसको महत्व थाहा पाइयो” –विक्रमले आफ्नो अनुभव सुनायो ।
यो उपन्यास विद्यार्थी, शिक्षक र अभिभावक तीन वटै वर्गका लागि उपयोगी छ । यसले बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ, कसैले भन्यो भन्दैमा अरुको कुरा हावा तालमा पत्याउनु हुँदैन, साथीसँग मिलेर एकतामा कार्य गर्दा जतिसुकै ठुलो काम पनि सजिलैसँग फत्ते हुन्छ, एकले अर्कालाई परेका बेलामा मद्दत गर्नु पर्छ, मिलेर काम गर्दा समस्या समाधान गर्ने क्षमता बढ्छ भन्ने कुरा सिकाउँछ ।
यसले जीवन उपयोगी पाठहरु धेरै ठाउँमा सिकाएको छ । उखानहरुको प्रयोगले उपन्यासलाई जीवन्त बनाएको छ । बालमनोविज्ञानमा आधारित यो उपन्यासका पाठकले पात्रलाई आफूसँगै तुलना गर्दै पढी त्यसै प्रकारको रस धारण गर्नेछन् भन्ने बुझिन्छ । उपन्यासभित्र थुप्रै ठाउँमा बाल पाठकलाई नैतिक शिक्षा र जीवनमा उपयोगी वा व्यावहारिक शिक्षा दिइएको छ, जस्तैः
“हरेक मानिसले सपना देख्नु पर्छ । निदाएको बेला देखिने सपना होइन कुनै काम गर्ने योजनासहितको सपना देखनुपर्छ । त्यो सपना साकार बनाउन मिहिनेतसाथ काम गर्नुपर्छ । अनि मात्र सफलता हात पर्छ...।” (१२)
“छुट्टिनुअघि हिजो र आजको यात्राका छोटो समीक्षा गर्नुपर्छ । यात्रामा के के कुरा सिकियो । हामी कहाँ–कहाँ चुक्यौँ भनेर छलफल गरौँ”–अभयले प्रस्ताव राख्यो । (६४)
“योजनाको विस्तृत अध्ययन र लेखाजोखा गरिसकेपछि मात्र भन्नेछु” –अभयले जवाफ दियो । (६७)
“रातपछि दिन आउँछ । अँध्यारो हटेर उज्यालो आउँछ कि असफलतापछि अवश्य सफलता प्राप्त हुन्छ । यस्तै आशावादी कुरा सम्झँदा उनीहरुको मनमा त्यति नकारात्मक कुराहरु आएनन् ।“
“काम हुनुभन्दा अगाडि नै हल्ला गर्दै हिँड्यो भने हुन लागेको काम बिग्रन्छ भनेर हाम्री हजुरआमाले भन्नुहुन्थ्यो । यो योजना हामीबाहेक अरु कसैले थाहा पाउनु हुँदैन ।” (१५)
“बाँदर त मानिसका पुर्खा हुन् भनेर वैज्ञानिक चाल्र्स डार्विनले भनेका छन् । आफ्ना नातागोता आएको देखेर पछ्याएको होला”–अभयले ठट्टा गर्दै भन्यो । (५९)
उपन्यासले पाठकहरुलाई प्रत्यक्षरुपमा उपदेश थोपरेको छैन । कथाकै माध्यमद्वारा विभिन्न ठाउँमा उखानहरुको प्रयोग गरेर सिकाउने प्रयास गरिएको छ, जस्तैः–
“प्रतीक्षाको फल मिठो हुन्छ । केही समय धैर्य गर्नु पर्छ”–अभयले हाँस्दै भन्यो । (६७)
“बाँदरको पुच्छर लौरो न हतियार भनेजस्तै भयो” –केशवले असन्तुष्टि व्यक्त गर्दै भन्यो । (५९)
“कागले कान लग्यो भन्ने बित्तिकै कान नछामी कागको पछि दौडेजस्तै कुरै नबुझी जङ्गल पस्ने हामी अनि साहुजीलाई किन दोष दिनू ?”–विक्रमले भन्यो । (५५)
“अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा डराउँछ भने जस्तै उनीहरुको मनमा अचानक डर पस्यो ।” (५६ –५७)
परिवेश
यो उपन्यासको परिवेश धरान उपमहानगरपालिकाभित्र पर्ने स्थानीय ठाउँहरुको रहेको छ । धरानको महादेव चोक, चारकोसे जङ्गल, जङ्गलभित्रको स्यालमारा ढुङ्गा, पानबारी र सेउती खोलाको बगर, आदि सेरोफेरोमा कथा बगेको छ । शरद् ऋतुमा पर्ने कात्तिक महिनाको बेला देउसी–भैलो खेल्ने रमाइलो चाडको चित्रण, घर बजार वरिपरि झिलिमिली पार्ने उज्यालोको चित्रण र जङ्गलभित्र रातको समय भएकाले निस्पट्ट अँध्यारोको चित्रण गरिएको छ ।
भाषा शैली
यो उपन्यासको भाषाशैली सरल र स्पष्ट छ । बालबालिकाले सजिलैसँग बुझ्न सक्ने नेपाली भाषाको प्रयोग गरिएको छ । रङ्गीन चित्रहरुको प्रयोगले बाल पाठकहरुलाई उपन्यास पढूँ पढूँ लाग्ने खालको छ । उपन्यासमा नेपाली मौलिक भाषाको प्रयोग गरिएको छ, जस्तैः
चुक घोप्ट्याए जस्तो अँध्यारो रात थियो । (२२)
उपन्यासमा आफूभन्दा ठुला (आमाबुबा, गुरू) लाई ढाँटेको देखाइएको छ । यस्तो ढाँट्ने स्वभाव भनेको गलत काम हो भन्ने थाहा हुँदाहुँदै पनि पात्रहरुले घरमा झुटो बोलेका छन्, जस्तैः
‘अरुलाई हानिनोक्सानी पु¥याउने गरी ढाँटेको पनि होइन भनेर पवनले चित्त बुझायो ।’ (२६)
लेखकको यो उपन्यास लेख्नुको मुख्य उद्देश्य भनेको आफू जन्मेको ठाउँ धरान र नजिकैको पानबारीलाई चिनाउनु हो । त्यसैकारण उनले कथामा स्थानीयस्तरको विशेषता र त्यस ठाउँको चित्रण भने उत्कृष्ट ढङ्गले गरेका छन् ।
निष्कर्ष
‘स्यालको सिङ हुन्छ’ भन्ने लोक विश्वासमा सुरू भएको यात्राले खोज र अनुसन्धान गरेपछि पात्रहरुको सोचाइ र मनोभाव परिवर्तन भएको छ । पात्र र पाठकको मनोभाव परिवर्तन गर्न सक्नु यो उपन्यासको विशेषता हो । स्यालको सिङ हुन्छ भन्ने सोच भएका पाठकलाई समेत झक्झकाउने काम उपन्यासले गरेको छ ।
उपन्यासले दिएको शिक्षाप्रद पाठ भनेको कुनै पनि योजनाको विस्तृत अध्ययन र लेखाजोखा (अनुसन्धान) नगरी कामको थालनी गर्नु हुँदैन र कसैलाई आफ्नो योजना पनि सुनाउनु हुँदैन । पहिले नै आफ्नो योजना सुनायो भने काम बन्दैन भन्ने शिक्षाप्रद सन्देश उपन्यासभित्रको उत्कृष्ट पाटो हो ।