विजयपुर । कोशी प्रदेशले ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।
सोमबारको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गरे । उनका अनुसार ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ रकम विनियोजन भएको हो ।
विनियोजित रकममध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ पाँच अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको योजनामन्त्री लिङ्थेपले जानकारी दिए । यो अनुमान चालु आवको विनियोजनको तुलनामा १२ दशमलव ७४ प्रतिशतले बढी रहेको छ ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ९ अर्ब १२ करोड, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड, समपुरक अनुदानबाट रु ८४ करोड, विशेष अनुदानबाट ४१ करोड र सोझै भुक्तानीबाट २० करोड खर्च व्यहोरिने र बाँकी अपुग रकम नगद मौज्दातबाट पाँच अर्ब व्यहोरिने योजनामन्त्री लिङ्थेपले बजेट वक्तव्यमार्फत जानकारी दिए ।