धरान । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सातमध्ये ६ प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक बजेटमध्ये बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो रहेको छ । गण्डकी प्रदेशको सबैभन्दा सानो छ । राजनीतिक विवादका कारण सुदूरपश्चिम प्रदेशले भने अझै बजेट ल्याउन सकेको छैन ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बागमती प्रदेशले ६६ अर्ब १३ करोड २३ लाख रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेशको बजेट ४३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

लुम्बिनी प्रदेशले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने कर्णाली प्रदेशले ३५ अर्ब ३९ करोड ५५ लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेशको बजेट ३२ अर्ब ११ करोड १९ लाख रुपैयाँ रहेको छ, जुन सार्वजनिक भएका प्रदेशहरूमध्ये सबैभन्दा कम हो ।

प्रदेशगत बजेटको आकार हेर्दा बागमती र मधेशपछि कोशी प्रदेश अग्रस्थानमा देखिएको छ । अधिकांश प्रदेशले पूर्वाधार विकास, कृषि, रोजगार, शिक्षा, स्वास्थ्य तथा पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

यता सुदूरपश्चिम प्रदेशमा भने सरकार र प्रतिपक्षबीचको विवादका कारण बजेट सार्वजनिक हुन सकेको छैन । प्रदेश सरकारले बजेट ल्याउने संवैधानिक समयसीमा नजिकिँदै जाँदा पनि सहमति जुट्न नसक्दा अन्योल कायम रहेको छ ।

https://datawrapper.dwcdn.net/PXvw0/1/