झापाको भद्रपुर नगरपालिकामा अवस्थित धार्मिक, ऐतिहासिक तथा पुराताङ्खिवक महङ्खवको स्थल ’किचकबध’ नेपालकै लागि महङ्खवपूर्ण धरोहर हो । महाभारतकालीन इतिहास र शुङ्ग–कुषाणकालीन सभ्यताको साक्षी मानिएको यो स्थल अहिले राज्यको उपेक्षामा परेको छ । राज्यको उपेक्षाका कारण बजेट अभाव हुँदा उत्खनन् प्रक्रिया नै रोकिएको छ । हालै सम्पन्न नवौँ चरणको उत्खनन्सम्म आइपुग्दा जम्मा ३० प्रतिशत मात्र प्रगति हुनु आफैमा लज्जास्पद विषय हो । अर्कोतर्फ बजेट नभएको भनी काम रोकिनु अर्को चिन्ताको विषय हो । करिब १ करोड रूपैयाँ मात्र उपलब्ध हुँदा सम्पन्न हुन सक्ने उत्खनन् कार्य दशकौँसम्म अल्झिरहनुले हाम्रो पुराताङ्खिवक सम्पदा संरक्षणप्रतिको सरकारी उदासिनतालाई उजागर गरेको छ । 

विगतको इतिहासलाई हेर्ने हो भने २०३५ सालमा मेची क्याम्पसको इतिहास विभागबाट सुरू भएको उत्खनन् यात्रा २०५८ सालदेखि पुरातङ्खव विभागले आफ्नो मातहत लिई काम अगाडि बढाएको थियो । विभिन्न चरणमा भएका उत्खनन्बाट यहाँ प्राचीन ८ कोठाको दरबार, तबेला, सुरक्षा पोस्ट, २२ सयदेखि २३ सय वर्ष पुराना माटाका भाँडाकुँडा, दियो, थाल, वाण र प्राचीन इँटाहरु फेला परिसकेका छन् । कार्बन डेटिङ परीक्षणले समेत यो स्थल ईशापूर्व दोस्रो शताब्दीको शुङ्ग–कुषाणकालीन सभ्यताको भएको प्रमाणित गरिसकेको छ । पाँचौँ शताब्दीमा आएको महाभूकम्पका कारण ध्वस्त भएको अनुमान गरिएको यो वैभवशाली इतिहासको पूर्ण रहस्य खोतल्न अझै ७० प्रतिशत उत्खनन् बाँकी नै छ ।

किचकबध केवल एउटा भग्नावशेष मात्र होइन; यो त नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको एउटा बलियो खम्बा पनि हो । हरेक वर्ष स्वस्थानी पूर्णिमामा लाग्ने मेलामा नेपालका मात्र नभई भारतको पश्चिम बङ्गाल, विहार र आसामबाट समेत हजारौँको सङ्ख्यामा भक्तजन र पर्यटकहरु यहाँ आउने गर्दछन् । भीमसेन पोखरीमा नुहाउँदा रोगव्याधि निको हुने र दोष मेटिने जनविश्वास छ भने मेची र देवनिया नदीको दोभान नजिकैको प्राकृतिक सुन्दरताले चलचित्र छायाङ्कन र वनभोजका लागि मानिसहरुलाई आकर्षित गरिरहेको छ । यति ठूलो धार्मिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्र दिगो आम्दानीको स्रोत नहुँदा र स्थानीय तहको सीमित स्रोतका कारण खुम्चिनु विडम्बनापूर्ण छ ।

स्थानीय संरक्षण समिति र नगरपालिकाले यस क्षेत्रको विकासका लागि सामुदायिक भवन, मूर्ति र पोखरीको संरक्षण जस्ता केही प्रयास गरे पनि त्यो पर्याप्त छैन । जनश्रुति र प्राप्त प्रमाणहरुले यो क्षेत्र प्राचीन कालको कुनै शक्तिशाली शासकको केन्द्रविन्दु भएको सङ्केत गर्छन्; जसको पूर्ण खुलासा हुन बाँकी नै छ । हाम्रो पहिचान र इतिहास जोडिएका यस्ता पुराताङ्खिवक स्थलहरुको संरक्षण गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले, केन्द्र सरकार र पुरातङ्खव विभागले बजेट अभावको बहाना बनाएर बस्नुको साटो आवश्यक पर्ने न्यून बजेट तत्काल विनियोजन गरी रोकिएको उत्खनन् कार्यलाई तीव्रता दिनुपर्छ । किचकबधलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन, ऐतिहासिक खोजलाई पूर्णता दिन र यसलाई एउटा जीवन्त पर्यटकीय केन्द्रका रुपमा विकास गर्न अब तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय र ठोस कदमको टड्कारो आवश्यकता छ । इतिहास मेटिनु भनेको देशको पहिचान मेटिनु हो; यसतर्फ समयमै ध्यान जाओस् ।