धरान । सङ्घीय सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कोशी प्रदेश सरकारले पुनरावलोकन गर्ने भएको छ । सेवा प्रवाहको प्रभावकारिता र नागरिकको सहजतालाई ध्यानमा राख्दै बिदा व्यवस्थाबारे पुनर्विचार गरिने सरकारले जनाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गरिने जानकारी दिए । बजेट वक्तव्यमा सेवाको प्रभावकारिता र आम नागरिकको सुविधालाई मध्यनजर गर्दै विद्यमान व्यवस्था समीक्षा गरिने उल्लेख छ ।

सङ्घीय सरकारले लागू गरेको दुईदिने सार्वजनिक बिदाअन्तर्गत प्रदेशमा पनि आइतबार बिदा दिइँदै आएको छ । तर पछिल्लो समय प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले उक्त व्यवस्थाको औचित्यबारे छलफल थालेका थिए । 

उनले सामाजिक सञ्जालबाट सार्वजनिक रूपमा सुझावसमेत माग्दै बिदा व्यवस्थाबारे पुनर्विचार भइरहेको बताएका थिए ।