किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको हत्या प्रकरणमा सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय सुनाइएको छ ।
जिल्ला कारागार खाँदबारीमा २०८० साउन २४ गते मादी नगरपालिका–५, सङ्खुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटका कारण मृत्यु भएको थियो । अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका दुवै कैदीलाई सुरक्षाकर्मी र केही कैदीबन्दीले सामूहिक रूपमा कुटपिट गरेको खुलेको थियो ।
जिल्ला अदालत सङ्खुवासभाका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७१(१) बमोजिम सात प्रहरीसहित १५ जनालाई जन्मकैद सजाय सुनाएको हो । अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ ।
फैसलाअनुसार प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई तथा चौकीदार राम कार्कीलाई जन्मकैद सजाय भएको छ ।
यस्तै, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीबन्दी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैद सजाय सुनाइएको अदालतले जनाएको छ ।
घटनापछि पक्राउ परेका सात प्रहरीलाई धनकुटा कारागार र आठ कैदीबन्दीलाई तेह्रथुम कारागार पठाइएको थियो । यस प्रकरणमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । रासस