सुनसरी । पछिल्ला तथ्याङ्कहरूले कोशी प्रदेशको माटोमा अत्यधिक अम्लीयपन भएको पुष्टि भए पनि त्यसको सुधारका लागि सरकारसँग ठोस कार्यक्रम र योजना भने नभएको पाइएको छ ।

सुनसरीको झुम्कामा रहेको प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले कोशी प्रदेशको ८६ प्रतिशत माटोमा अम्लीयपन पुष्टि गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ८५ प्रतिशत माटोमा अम्लीयपन पुष्टि भएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ८४ प्रतिशत माटोमा अम्लीयपन पाइएको थियो । जमिनको उर्वराशक्तिमा ह्रास आउने र उत्पादनमा गम्भीर असर पर्ने गरी अम्लीयपन पुष्टि भए पनि सुधारका लागि सरकारसँग ठोस योजना नभएको पाइएको छ । विज्ञहरूका अनुसार माटोको स्वास्थ्यका हिसाबले अम्लीयपन मुख्य चुनौतीका रूपमा देखिएको छ । उत्पादन राम्रो बनाउनका लागि अम्लीय र क्षारीय नभई तटस्थ माटोको आवश्यकता पर्दछ ।

तर लगातार माटोमा अम्लीयपन देखिनु चिन्ताको विषय भएको माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुखसमेत रहेका माटोविज्ञ दिगम्बर यादव बताउँछन् । ‘६.५ देखि ७.५ पिएच मान भएको तटस्थ माटो उपयुक्त हो । ६.५ भन्दा कम र ७.५ भन्दा बढी पिएच मान भएको उत्पादनका दृष्टिले राम्रो होइन’ यादवले भने, ‘अम्लीयपनले जमिनको उर्वराशक्तिमा ह्रास आइरहेको पुष्टि हुन्छ । यसले उत्पादनमा नकारात्मक असर गर्छ ।’

माटो परीक्षणका लागि आएका कृषकहरूलाई सुधारका लागि सुझाव दिने गरेको तर अम्लीयपन सुधारकै लागि छुट्टै अभियान भने सञ्चालन नभएको प्रयोगशालाका प्रमुख यादव बताउँछन् । ‘माटो सुधारका लागि अभियानकै रूपमा त त्यस्तो कुनै काम भएको छैन । विभिन्न शिविरहरूको आयोजना गरेर माटो परीक्षण भने गर्ने गरेका छौँ । त्यसरी प्राप्त भएको रिपोर्टका आधारमा हामीले सुधारका लागि सुझाव दिने र माटो सुहाउँदो बाली लाउनुपर्छ भनेर सचेत गराउने गरेका छौँ ।’

उता सङ्घीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाकी प्रमुख डा. शान्ता कार्की भने प्रदेश र स्थानीय तहहरूले माटो संरक्षणका लागि विभिन्न कामहरू गरिरहेको बताउँछिन् । उनले भनिन्, ‘सबै प्रदेशहरूमा माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ र त्यसमार्फत् कृषकहरूलाई माटो सुधारका लागि सुझाव दिने गरिएको छ । स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । मुख्यतया हामीले अम्लीयपन सुधारका लागि कृषि चुनको प्रयोग गर्न, प्राङ्गारिक पदार्थको प्रयोग बढाउन कृषकलाई सुझाव दिने गरेका छौँ ।’ 

माटो परीक्षणका लागि प्रयोगशालामा आएका किसानलाई कृषि चुन र प्राङ्गारिक पदार्थको प्रयोग गर्न सुझाव दिनेबाहेक सरकारी तहबाट अन्य ठोस कार्यक्रम भने हुन सकेको छैन । डा. कार्की भन्छिन्, ‘मुख्य रूपमा प्रदेश र स्थानीय तहले नै हेर्ने गरेका छन् । हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत् केही कामहरू गरिरहेका छौँ । अम्लीयपनको सुधारकै लागि भनेर चैं ठ्याक्कै त्यस्तो कुनै कार्यक्रम छैन ।’

सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारले नीति तथा कार्यक्रममै माटो सुधारको योजना ल्याएर पर्याप्त बजेट विनियोजन गर्नु आवश्यक देखिएको कोशी प्रदेशका पूर्व उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद मेहताले बताए । सबै तहका सरकारले बजेट विनियोजन गरेर माटो सुधारलाई प्राथमिकतामा नराखे कृषिक्षेत्रको सुधार हुन नसक्ने उनको दाबी छ ।  

‘हाम्रो स्वास्थ्यजस्तै माटोको स्वास्थ्य पनि ठीक हुनुपर्छ । कृषि ज्ञानकेन्द्र र प्रयोगशालामार्फत् कृषि चुनको प्रयोग गर्ने सुझाव किसानहरूलाई सरकारले दिने गरेको छ । त्यतिले मात्र पुग्दैन’ उनले थपे, ‘नीति तथा कार्यक्रममा ल्याएर पर्याप्त बजेट नै छुट्याएर माटो सुधारको काम गर्नुपर्छ । अम्लीयपनले उत्पादन धेरै नै घटाउँछ ।’