सुनसरी । जिल्लाको करिब ६४ प्रतिशत माटोमा अम्लीयपन पुष्टि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीले तीनओटा स्थानीय तहमा १ सय ९४ ओटा माटोको नमुना परीक्षण गर्दा १ सय २४ ओटामा अम्लीयपन पुष्टि भएको हो ।
ज्ञान केन्द्रले चैत्र अन्तिम साता दुहबी नगरपालिका–१० मा ५४ ओटा, गढी गाउँपालिका–१, मधेलीमा ८४ ओटा र भोक्राहा नरसिंह गाउँपालिका–६ मा ५६ ओटा नमुना सङ्कलन गरेको थियो । सङ्कलित नमुना माटो तथा मल परीक्षण प्रयोगशाला झुम्कामा परीक्षण गर्दा करिब ६४ प्रतिशतमा अम्लीयपन भेटिएको ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
सबैभन्दा धेरै गढीमा ८३.३३ प्रतिशत अम्लीयपन पाइएको छ । त्यस्तै दुहबीमा ५९.२६ प्रतिशत र भोक्राहामा ३९.२९ प्रतिशत अम्लीयपन पाइएको छ । त्यस्तै क्षारीय माटो २१.१३ प्रतिशत र तटस्थ माटो १४.९५ प्रतिशत पाइएको ज्ञान केन्द्रले जनाएको छ ।
माटोमा अम्लीयपन धेरै हुँदा उर्वराशक्तिमा ह्रास आउने र उत्पादन घट्ने भएकाले अम्लीयपन धेरै देखिनु चिन्ताको विषय भएको ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए । उनले भने, ‘माटोको उर्वराशक्ति कम भयो भने बालीनाली र बोटबिरुवाबाट राम्रो फल पाउन सकिँदैन । अम्लीयपन देखिनु चिन्ताको विषय हो । यसको सुधारका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै उत्पादन राम्रो बनाउनका लागि अम्लीय र क्षारीय नभई तटस्थ माटोको आवश्यकता पर्ने माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काका प्रमुख माटोविज्ञ दिगम्बर यादव बताउँछन् । ‘बालीनालीका लागि ६.५ देखि ७.५ पिएच मान भएको तटस्थ माटो उपयुक्त हुन्छ ।
६.५ भन्दा कम र ७.५ भन्दा बढी पिएच मान भएको माटो उत्पादनका दृष्टिले त्यति राम्रो होइन । अम्लीयपनले माटोको उर्वराशक्ति कमजोर भएको देखाउँछ’–यादवले भने । रासायनिक मल कम मात्रै प्रयोग गरेर कृषि चुन र प्राङ्गारिक पदार्थको प्रयोगमार्फत् माटोमा अम्लीयपन हटाउन सकिने यादवको भनाइ छ । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र किसानले पनि त्यतिकै सक्रियता देखाउनु आवश्यक रहेको उनको भनाइ छ ।