रोजगारी र अवसर खोज्दै खाडी मुलुक धाउनु शायद धेरैको रहर नभएर बाध्यता हो । देशमा हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने साढे ४ लाख युवा जनशक्तिमध्ये साढे ३ लाखले देशभित्र रोजगारी पाउन नसकेपछि विदेशिन बाध्य छन् । यसरी विदेसिँदा मुलुकभित्रै ठगिनेहरु पनि प्रशस्त छन् । वैदेशिक रोजगारमा जाँदा आधिकारिक म्यानपावर कम्पनीबाट श्रम स्वीकृत लिएर जाने प्रावधान भएपनि दलालहरुले प्रलोभनमा पारेर एजेन्टमार्पmत् सस्तो र सजिलो तवरले विदेश लैजाने बहानामा ग्रामीण भेगका युवालाई बिचल्नी पार्ने गरेका छन् । एजेन्टको भर पर्दा लाखौं डुबाएर घरवारविहीन बनेका छन् । विदेसिनेहरुको चेतनास्तरको अभाव र राज्यको निरीहताले युवाहरु ठगिएका छन् । धन कमाएर परिवारको आर्थिक अवस्था समुन्नत बनाउने तथा बच्चाबच्चीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छे बनाउने सपना बोकेर विदेश हानिएका सयौं नेपाली दलालको फन्दामा परी ऋण परेर आउने गरेका छन् । साहुसँग चर्को व्याजमा ऋण काढेको रुपैयाँ दलालले खाइदिँदा बिचल्लनी परेका छन् । प्रमाणको अभावले उनीहरुले गरेको लगानीसमेत डुब्ने गरेको छ । वैदेशिक रोजगारीमा लैजाने नाममा सुनसरीमा दर्जनौं युवा ठगिएको समाचार सार्वजनिक भएको छ । सुनसरीका अबुल मियाँ भन्ने दलालले पैसा र राहदानी समेत फिर्ता नगरेको भन्दै केही युवाले प्रहरी कार्यालयमा उजुरी हालेपनि प्रमाणको अभावमा उनीहरुको सुनुवाइ हुन सकेको छैन । दर्जनौं युवाको लाखौँ रुपैयाँ डुबेको छ । यो त एउटा उदाहरण मात्र हो । देशभर हजारौं युवा दलालबाट ठगिएका छन् । राज्यले दलालहरुलाई नियन्त्रण गर्न सकेको छैन । वैदेशिक रोजगारमा जाने मापदण्ड तथा नीति–नियम भएपनि दलालको प्रभावमा युवाहरु ठगिएका छन् । यसरी ठगिने क्रमलाई न्यूनीकरण गर्न राज्यले कडा कदम चाल्न जरुरी छ । वैदेशिक यात्रामा दलालको हस्तक्षेप राज्यले कडाइका साथ नियन्त्रण गर्नुपर्छ । विदेसिने युवाले पनि आप्mनो सम्पत्ति कतिको सुरक्षित हुन्छ भन्ने र यात्रा सुनिश्चिताबारे गम्भीर हुनु पर्छ । वैधानिक बाटो छाडेर दलालको पछि लाग्न छाड्नु पर्छ ।