एक सानी बच्चालाई स्कुलको बसले घरको अघिल्तिर छाडिदिन्छ । आमाबुबाको निर्देशनअनुसार ढोका खोलेर उनी घरभित्र पस्छन् । घरमा सहयोगी वा अरु कोही हुन सक्छन् । तर, उनका साथीसङ्गी हुँदैनन् । भाइबहिनी हुँदैनन् । आमाबुबा पनि हुँदैनन् । दुवै अफिस जान्छन् । बिहान आफूसँगै निस्किएका आमाबुबा साँझमा मात्र घर आइपुग्छन् । घर आएर पनि बुबा आफ्नै धुनमा रमाउनुहुन्छ । आमा भान्साको काममा । बच्चाले कोसँग खेल्ने ? कोसँग बोल्ने ? कोसँग रमाउने ? आधुनिक समाजमा बच्चा एक्ला छन् । नितान्त एक्ला । उनीहरुका लागि आमाबुबासँग समय छैन । दुवैले काम गर्नुपर्छ । जागिर खानुपर्छ । दिनभर व्यस्त हुनुपर्छ । आर्थिक सुरक्षा र भविष्यको चिन्ताले एउटा मात्र बच्चा जन्माएका छन् । उनीहरु अर्को बच्चा जन्माउन चाहँदैनन् । यस्तो अवस्थामा एकल बच्चाहरु एक्लोपनको शिकार बनिरहेका छन् । अहिले धेरै बच्चाको घर रित्तो छ । उनीहरुको साथी छैनन् । विद्यालयबाट घर फर्कदा रित्तो घरले स्वागत गर्छ । उनीसँग बोल्ने कोही छैनन्, खेल्ने कोही छैनन्, हाँसो ठट्टा गर्ने कोही छैनन्, बोलचाल गर्ने कोही छैनन्, प्रतिस्पर्धा गर्ने कोही छैनन् । त्यही कारण उनीहरुको अनुहारमा उमङ्गको भाव छैन । निराश छन् । उदास छन् । शान्त छन् । पाएसम्म मोबाइलमा गेम खेल्छन् । भिडियो हेर्छन् । खेलौना खेल्छन् । त्यसपछि होमवर्क, विद्यालय, प्रोजेक्ट वर्क । यसरी एकनासले बित्ने दैनिकी उनीहरुलाई कति पट्यारलाग्दो हो ? एक अनुमान अनुसार चालीस प्रतिशत बच्चा कुनै न कुनै रुपमा एक्लै रहनुपर्ने अवस्था छ । एउटा चर्चित अङ्ग्रेजी फिल्म छ, ‘होम अलोन’ । यस फिल्मले के दर्शाएको भने, जब बच्चा एक्लै घरमा बस्नुपर्ने अवस्था आउँछ, उनीहरुले अनेक परिस्थितिको सामना गर्नुपर्छ । भलै फिल्मले यसलाई मनोरञ्जनात्मक ढङ्गले पेश गरेको छ । सत्य चाहिँ के हो भने, जब बच्चा एक्लै घरमा बस्नुपर्ने हुन्छ, उनीहरु समस्याको घेराबन्दीमा पर्छन् । अष्ट्रेलियामा ४ सय २ बच्चामाथि भएको एक अध्ययनअनुसार, जब विद्यालयबाट घर पुगेपछि उनीहरुको गतिविधिको बारेमा सोधीखोजी गरियो, तब के पाइयो भने १४ प्रतिशत बच्चा घरमा पुग्दा उनीहरु एक्लो हुन्छन् । रित्तो घरमा उनीहरु बस्नुपर्ने हुन्छ । एक चौथाई परिवारमा बच्चाको आफ्ना दाजुभाइ वा दिदीबहिनी हुन्छन्, आमाबुबा हुँदैनन् । अमेरिकामा ५ देखि १३ वर्ष उमेरका दुई करोड बच्चाले घरमा आफ्नो ख्याल आफैले राख्नुपर्ने बाध्यता छ । मनोवैज्ञानिकहरुका अनुसार यसरी बच्चाहरु एक्लै बस्नुपर्दा उनीहरुमा अनेक किसिमको छट्पटी, निराशा हुन्छ । उनीहरुले असुरक्षा अनुभव गर्छन् । चिन्ता, तनाव आदिको कारण डिप्रेसनमा पर्न सक्छन् । यस्तो छट्पटीबाट उम्कनका लागि उनीहरुले अनेक बहाना खोज्छन् । यस क्रममा कोही यौनजन्य विकारको लतमा फस्छन् भने कोही लागूऔषधको । घरमा एक्लै रहने बच्चाहरु प्रायः बेखुस हुन्छन् । उनीहरुले तिरस्कृत अनुभव गर्छन् । जति–जति हुर्कदै जान्छन्, अभिभावकसँग संवाद पनि हुन छाड्छ । घरमा एक्लै बस्ने बानी भएकाले विद्यालयमा अरु साथीसँग घुलमिल हुन सक्दैनन् । एकान्तमै बस्न अभ्यस्त हुन्छन् । यसले उनीहरुलाई असामाजिक बनाउँदै लान्छ । बच्चालाई घरमामा उचित ख्यालविचार नराख्ने, मार्गदर्शन नदिने कारणले उनीहरु पथभ्रष्ट हुन सक्छन् । पारिवारिक परम्परा एवम् संस्कारको विकास हुन पाउँदैन ।