पृष्ठभूमिः हरित क्रान्तिको आगमनसँगै कृषिक्षेत्रमा उत्पादन वृद्धिका लागि धेरै मात्रामा आयातित स्रोतहरूको प्रयोगको शुरूआत भएको छ । खाद्यान उत्पादन बढाउनको लागि जथाभावी रूपमा रासायनिक मल, विषादि, सूक्ष्म तत्व आदिको प्रयोग हुन लाग्यो ।

जनसंख्या वृद्धिसँगै कृषि कार्य व्यवसायिक रूपमा बढ्दै जाँदा यी आयातित वस्तुको प्रयोगमा तीव्रता आएको तथा रोग र कीराको प्रकोप पनि बढ्दै गएको छ ।

रोग र कीराले मात्रै कृषि बालीमा २५ देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास ल्याउँछ । जनसंख्या वृद्धि, जलवायु परिवर्तनले वातावरण र कृषि उत्पादकत्वमा पारेको नकारात्मक प्रभाव, खाद्यान सङ्कट, युवा विदेश पलायनजस्ता समस्याहरूले कृषिक्षेत्र अति नै प्रभावित भएको छ ।

ती रासायनिक वस्तुहरूको प्रयोगले कृषि उत्पादनमा त क्षणिक वृद्धि हुन्छ तर विशेष गरेर रासायनिक विषादीको प्रयोगले मानिस र पशुवस्तुको स्वास्थ्य तथा वातावरणमा भने नकारात्मक असर पारिरहेको छ ।

यी रासायनिक विषादी अनियन्त्रित र जथाभावी रूपले प्रयोग गर्दा उत्पन्न हुने समस्या कृषकहरूले पनि भोग्दै आएका छन् । रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै एवम् रोग कीराको एकीकृत व्यवस्थापनलाई पनि सँगसँगै लाने क्रममा जैविक वा वानस्पतिक विषादीको अवधारणा आएको छ ।

केही कृषकहरूले रासायनिक विषादीको नकारात्मक असरबारे ज्ञान भैसकेकोले आफ्नै घरवरिपरि पाइने वनस्पति र जैविक वस्तुको प्रयोग गरी रोग कीरा व्यवस्थापन गर्न सकिने बताएका छन् ।

यति मात्र नभै हाम्रा पूर्वजहरूले प्रयोग गर्दै आइरहेका प्रविधिहरू पनि रोग कीरा व्यवस्थापन गर्न उपयुक्त मानिएको उनीहरू बताउँछन् । यी तरिकाहरूले मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर कम गर्न सकिन्छ ।

अर्को तर्फ, गाईवस्तुको गहुँत र गोबरको समुचित व्यवस्थापन नहुँदा लाखौं रूपैया बराबरको बोटबिरूवाका आवश्यक तत्वहरू खेर जाने र जलवायु परिवर्तनलाई सहयोग पुर्याउने हरित गृह निर्माणलगायतका ग्यास उत्सर्जन बढाउने कार्य भइरहेको छ ।

गाईवस्तुको गोबरभन्दा बढी शक्तिशाली पिसाबलाई समुचित व्यवस्थापन गर्न टड्कारो आवश्यकता देखिन्छ ।

पशुवस्तुको पिसाबको महत्वः गाईको गहुँतमा भएको विभिन्न रसायनहरू (क्रिएटिनिन, सल्फर, कार्बोलिक एसिड, फेनोल, केही लवण, भिटामिन आदि) मा एन्टिब्याक्टेरियल, एन्टिफङ्गल, एन्टिभाइरल, एन्टिक्यान्सर, भोक बढाउन एवम् पाचन, रगत, पिसाब, प्रजनन् (यौन दुर्बलता) सम्बन्धी समस्या समाधान गर्ने गुणहरू पाइन्छन् ।

धार्मिक र साँस्कृतिक हिसाबले पनि गोमूत्रको अति नै महत्व रहको छ । नेपालमा गाई, भैंसीको संख्या करिब १ करोड २५ लाख २५ हजार ४ सय ८५ रहेको छ । साधारणतया एउटा गाईवस्तुले (३०० किलो वजनको) १ दिनमा सरदर १८–२० लिटर पिसाब गर्छ तर कृषकको घरमा साना–ठूला गरी सरदर प्रतिदिन ४ लिटरका दरले अनुमान गरेर हिसाब गर्दा पनि नेपालमा ५० हजार मे.टन पिसाब निस्कन्छ । पिसाबमा सरदर १–२ प्रतिशत नाइट्रोजन पाइन्छ ।

तर औषतमा १.५ प्रतिशत मात्र मानेर हिसाब गर्दा पनि मोटामोटी ७५ हजार मे. टनभन्दा बढी नाइट्रोजन अर्थात् १ लाख ६० हजार मे.टन बराबरको युरिया हुन आउँछ ।

मलको स्थितिः पशुमूत्र सङ्कलन एवम् सदुपयोगको अभावमा मूत्रमा पाइने बिरूवालाई चाहिने नाइट्रोजन नोक्सान भैरहेको अवस्था एकातिर छ भने अर्कोतिर बाली बिरूवालाई चाहिने खाद्यतŒवहरूमध्ये सबभन्दा बढी नाइट्रोजन तत्व बाहिरबाट वर्षेनी आयात गर्नु परेको छ ।

रासायनिक मल हालसम्म नेपालमा बन्न नसकेकाले विदेशबाट आयात गर्नुपर्ने, अन्य तŒवहरू जस्तो यो स्थिर भएर रहन नसक्ने अवस्थामा बालीबिरूवालाई चाहिने नाइट्रोजन पूर्तिका लागि युरिया र डीएपी मल बाहिरबाट आयात गर्न सरकार तथा किसानहरूलाई धौ–धौ परेको छ ।

नेपालमा २०७३/७४ मा १ लाख १६ हजार ६ सय ३२ मे. टन युरिया प्रयोग गरिएको थियो र यस आ.व.२०७५/७६ मा १ लाख मे.टन (४६,००० मे.टन नाइट्रोजन) आयात गरिने योजना रहेको छ ।

तर धेरैजसो गाई, भैंसीको मूत्रबाट पाइने नाइट्रोजनमध्ये ८०–९०% त्यसै उडेर खेर गएको छ । गाई, भैंसीको गहुँतलाई सङ्कलन र प्रयोग गर्नसकेमा यसबाट प्राप्त हुने नाइट्रोजन विदेशबाट आयात गरिएको युरियाको तुलनामा सस्तो र प्रभावकारी हुन्छ ।

त्यसैले रासायनिक मलको असन्तुलित प्रयोगबाट मानव तथा वातावरणमा हुने नकारात्मक असरबाट बच्न पशुमूत्रमा भएको नाइट्रोजन बचाउन र सदुपयोग गर्नमा ध्यान दिनु जरूरी छ ।

अतः गाईवस्तुको गहुँतलाई समुचित सङ्कलन तथा प्रयोगबाट स्वस्थ बालीनाली उत्पादनमा वृद्धि तथा वातावरण जोगाउनमा समेत सहयोग पुर्याई जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ ।

पशुमूत्रको सङ्कलन तथा प्रयोगबाट फाइदा (क) युरिया मलमा पाइने नाइट्रोजन तथा म्युरेट अफ पोटासमा पाइने पोटास सजिलै परिपूर्ति गरी ठूलो रकम विदेशिनबाट जोगाउन सकिने, (ख) पशुमूत्रबाट वानस्पतिक विषादी बनाएर बालीनालीको रोग कीरा व्यवस्थापन तथा सूक्ष्म तत्वको पूर्ति गर्न सकिने, (ग) रासायनिक मल तथा विषादीको मात्रा घटाई उत्पादन लागत घटाउन सकिने, (घ) गाईवस्तुको भकारो सफा भई रोगव्याधी कम हुने र दूधको उत्पादन बढ्ने, (ङ) बालीबिरूवामा प्रयोग गर्दा पशुमूत्रबाट सिंचाइ पनि हुने, (च) गोबरग्यासमा प्रयोग गर्दा मिथेन ग्यास बढी उत्पादन हुने, (छ) गोठेमलको गुणस्तर बढाउन सकिने आदि ।

पशुमूत्र र युरियाको तुलनात्मक हिसाब नेपालमा मध्यम्वर्गीय किसान परिवारमा सरदर ५–६ वटा (वयस्क र बच्चा) गाईवस्तुको हिसाब गर्दा, उक्त गाईवस्तुबाट प्रतिदिन सरदर २० लिटर र प्रतिमहिना ६०० लिटर प्राप्त हुन्छ र उक्त पशुमूत्रबाट प्रतिदिन ३०० ग्राम र प्रतिमहिना ९ किलो नाइट्रोजन जुन प्रतिमहिना लगभग २० किलो युरिया बराबर हुन्छ ।

यसरी हिसाब गर्दा १.५ किलो नाइट्रोजन १०० लिटर पिसाबबाट पाइन्छ र १ किलो युरियामा ४६ प्रतिशत नाइट्रोजन पाइन्छ भने १ किलो युरियाको लागि ३१ लिटर पिसाब जम्मा गर्नुपर्ने हुन्छ ।

अब साधारणतया डेढ कठ्ठा वा १ रोपनी तरकारी खेती गर्ने कृषकलाई ११.५ किलो युरिया आवश्यक पर्दछ भने उक्त कृषक परिवारलाई ३ सय ५७ लिटर पशुमूत्र सङ्कलन गर्नु पर्दछ । सो युरिया पूर्ति गर्न प्रतिकृषक १ गाईवस्तु पाल्नेले १ सय ५२ दिन (५महिना) र ५ वटा पाल्नेले जम्मा १७ दिनमा पूर्ति गर्न सक्छ ।

यस्तै १ बोरा युरियाको लागि १,५३३ लिटर पिसाब जम्मा गर्न ५ वटा गाईवस्तु पाल्ने कृषकलाई २.५ महिना लाग्ने हुन्छ । उक्त कृषकले अरू तŒवहरू बाहेक सरदर २.५ महिनामा प्र्रतिबोरा रू. १,२०० का दरले युरियाबाट बचाउँदा प्रतिवर्ष ५ बोरा युरिया बराबर नाइट्रोजन पाउँदा वर्षमा रू. ६ हजारसम्म बचाउन सकिन्छ ।

गाईवस्तुको पिसाब सङ्कलन तथा संरक्षण गर्ने तरिका गाईवस्तुको मूल्यवान पिसाबलाई आफ्नो वरपर रहेको स्रोत साधन तथा क्षमताअनुसार निम्न तरिकाले सङ्कलन तथा संरक्षण गर्न सकिन्छः –भकारोको भूइँलाई सिमेन्टद्वारा पक्की बनाई मूत्र सङ्कलन ट्याङ्की बनाएर, –पाइपबाट प्लाष्टिक ट्याङ्कीमा जम्मा गरेर, –गोठभित्र सानो खाल्टो बनाएर, –गोठमा बाक्लो सोस्ने सोत्तर प्रयोग गरी मूत्रको संरक्षण गरेर आदि ।

गाईवस्तुको गहुँत प्रयोग गर्ने तरिका रोगकीरा व्यवस्थापन तथा बिरूवालाई पोषकतत्व पूर्तिको लागि किसानहरूले प्रयोग गर्दै आइरहेको तीतो, पीरो, अमिलो, टर्रो वनस्पतिहरू (नीम, बकाइनो, असुरो, तीतेपाती, आँक, हर्रो, बर्रो, लसुन, प्याज, खुर्सानी आदि) पिसाबमा मिसाई वानस्पतिक विषादियुक्त मल, चिया मल आदि स्थानीय तरिकाबाट बनाएर प्रयोग गर्न सकिन्छ ।

साधारणतया १५ दिन अवधि पुगेका पशुमूत्र बिरूवाको अवस्था हेरी १ भाग मूत्रमा ४ भाग, ६ भाग र ८ भाग पानी मिसाएर प्रयोग गर्न सकिन्छ । यसलाई गोबरग्यासमा, थोपा सिंचाइमा, स्प्रिङ्कलरमा पनि प्रयोग गर्न सकिन्छ ।

गोठको पक्की भूँइ तथा पिसाब ट्याङ्की बनाउन लागत खर्च पाँचवटा गाईवस्तुको लागि पक्की भूइँको खर्च आँकडा गर्ने हो भने सिमेन्ट ३ बोरा रू.३ हजार, बालुवा ९ बोरा रू. ४ सय ५०, गिट्टी १८ बोरा रू. १ हजार २ सय ५०, ढुङ्गा २५ टोकरी रू. १ हजार ५सय, मिस्त्री खर्च रू. २ हजार र श्रमिक (४ जना) खर्र्च रू. २ हजार गर्दा जम्मा लागत रू.१० हजार २ सयमा तयार हुँदा १० वर्ष आयु हुने ।

त्यस्तै पिसाब सङ्कलन गर्नका लागि प्लाष्टिक पाइप २–३ मिटर रू.२ सय, प्लाष्टिक ट्याङ्की १ सय लिटर रू.१ हजार वा पक्की ट्याङ्की रू.१ हजार गरी रू.२ हजार २ सय खर्च हुँदा कुल लागत रू.१२ हजार ४ सयमा गोठको पक्की भूइँ बनाउन सकिन्छ । यो खर्च १० बोरा युरिया बराबरको हुन आउँछ र जुन २ वर्षको पिसाब जम्मा गरी प्राप्त गर्न सकिन्छ ।

अतः नेपालको समृद्धिको नारालाई साकार पार्न गरिबी न्यूनीकरण, खाद्य सुरक्षा र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि कृषिक्षेत्रलाई दिगो बनाउन अति नै आवश्यक रहेको छ ।

अब सबै तहबाट दिगो कृषिको लागि मानव पशुस्वास्थ्य तथा वातावरण संरक्षण गर्नका साथै देशको ठूलो रकम विदेशिनबाट रोक्न पशुमूत्रको समुचित सङ्कलन तथा सदुपयोगमा ध्यान जानु जरूरी देखिन्छ ।

यसका लागि विशेष किसिमको कार्यक्रम ‘पशुमूत्रको उचित स्याहारः दिगो कृषिको मूल आधार’ नारा बनाई बृहत् रूपमा स्थानीय सरकारको नेतृत्वमा प्रदेश सरकार तथा सङ्घीय सरकार तथा अन्य दातृसंस्थाको सहयोगमा सञ्चालन गर्नु अति नै आवश्यक देखिन्छ । (मधेश दर्पण)