तेह्रथुम/दश वर्षअघि आफ्नो बारीमा बन्दाकोपीको खेती शुरु गर्दा लालीगुराँस नगरपालिका–१ डाँडाखर्कका किसान नरबहादुर तामाङसँग १ लाखभन्दा बढीको सम्पत्ति थिएन ।

बन्दाको व्यवसायिक खेती शुरु गरेको एक दशकको अवधिमा तामाङले १ करोड बढीको सम्पत्ति जोडे । उनले उत्पादन गरेको अर्गानिक बन्दाकोपी आजभोलि भारतीय बजारसम्म पुग्ने गरेको छ ।

डाँडाखर्कका कृषकहरूले यो सिजनमा आफुले उत्पादन गरेको बन्दाकोपी बेचेर गाउँमा १ करोडभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछन् । कृषकहरूले उत्पादन गरेको बन्दाकोपी धरान, विराटनगर, इटहरी, बिर्तामोड र भारतका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।

सबै युवाहरूलाई वैदेशिक मोहले तानिरहेको बेला डाँडाखर्कका युवाहरू भने गाउँघरमा नै सब्जी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । कृषिमा लगानी गरेर स्वदेशमा नै आत्मनिर्भर बन्ने सोच बनाएको स्थानीय लोकबहादुर पौडेलले बताए ।

आफुले २६ रोपनी जग्गामा लगाएको बन्दाबाट १२ लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । लालीगुराँस नगरपालिका चित्रेका अर्का किसान होम रायमाझी बन्दा खेती शुरु गरेको १२ वर्षमा तीनवटा गाडीका मालिक बनेका छन् ।

बन्दा खेतीबाट भएको आमदानीले उनले ट्रक, ट्याक्टर र मोटरसाइकल जोडेका हुन् । खेतीका लागि जग्गा जमिन प्रशस्त किनेका छन् । दु:खले परिवार पाल्ने यी किसान परिवारलाई बन्दाखेतीले छोटै समयमा करोडौंको मालिक बनाएको हो ।

बन्दाको खेतीबाट सोल्मा, सुङ्नाम, रातोपाटी, चित्रे र फुलेकका किसानले आफ्नो जीवन नै हराभरा बनाउनेको सुची लामो रहेको वसन्त माध्यमिक विद्यालयका शिक्षक रामकृष्ण निरौलाले बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिका–१ का किसान कुलबहादुर रायले यो वर्षको सिजनमा मात्र ८ लाख रुपैयाँ बढीको बन्दा बिक्री गरेको बताए । बन्दा बिक्रीबाट आएको पैसाले उनले जग्गा जमिनसमेत खरिद गरेका छन् । बन्दाको खेतीमा लागेका यहाँका प्रत्येक किसानले सिजनमा २ लाखदेखि १० लाख रुपैयाँसम्म आमदानी गर्छन् ।

बेमौसमी बन्दाखेती यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माध्यम बनेको भने होइन । यसका लागि किसानले मेहनत त गरेका छन् नै साथै आºनो उत्पादन आफै बजारमा पुर्याउने सफल नीति पनि अवलम्बन गरेका छन् ।

व्यापारीले आफ्नो उत्पादन थोरै मुल्यमा खरिद गरी धेरै नाफा खाएर बिक्री गर्ने गरेकाले किसानले आफ्नो उत्पादन तिनलाई नदिने निर्णय गर्र्दै सहकारी संस्था खोले ।

जसले यस क्षेत्रमा उत्पादन हुने बन्दालाई सोझै भारतीय बजारमा पुर्याउने काम गरिरहेको छ । सहकारी संस्था सञ्चालनमा ल्याएपछि किसानले आफ्नो उत्पादन व्यापारीलाई दिन छोडेका छन् । सहकारी संस्थामार्फत् बन्दा बिक्री गर्दा तौलमा नठगिने र मुल्य पनि बढी पाइने गरेको किसानको बुझाइ छ ।

तेह्रथुमसहित धनकुटा र सङ्खुवासभाका हजारौं किसानहरू व्यवसायिक रूपमा बन्दाको धन्दामा लागेपछि डेढ दशकको अवधिमा यी क्षेत्रका किसानको कायापलट भएको छ ।

यी किसानको जीवनशैलीमा अहिले परिवर्तन आएको छ । धनकुटाको बाटो भएर दैनिक २५ ट्रक बन्दा भारतीय बजारतर्फ जाने गरेको सिंधुवा बहुउद्धेश्यीय सहकारी संस्थाले जनाएको छ ।

साउन महिनाको पहिलो साताबाट माघ महिनाको अन्त्यसम्म बन्दाको धन्दा हुने यी ठाउँमा ६ महिनाको अवधिमा १५ करोड भारतीय रुपैयाँ भित्रिएको तथ्याङ्क छ ।

पहाडका गाउँमा बन्दाले भारतीय मुद्रा भित्रायाउन ठूलो सहयोग पुर्याएको छ ।

भारतीय यी बजारमा तेह्रथ’मका वसन्तपुर, सुङ्नाम, फुलेक, हमरजुङ, आङदिम, सङ्खुवासभाको तामाफोक र धनकुटाको मुर्तिढुङ्गा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भीरगाउँ, तेलिया लगायतका सडक दायाँ–बायाँका ठाउँको बन्दासमेत बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्छ ।

विशेषगरी तरकारीको रूपमा प्रयोग गरिने बन्दाको व्यवसायिक धन्दामा यी ठाउँका २० हजार बढी किसान संलग्न छन् । सहकारी संस्थामा आबद्ध भएर बन्दाको खेतीमा लागेका किसानको संख्या १५ हजार नाघेको छ ।

आफ्नाे उत्पादन व्यापारीलाई दिँदा उनीहरूले बढी मुनाफा खाएर किसानलाई कम मुल्य दिएको भन्दै किसान आफैले बजारको खोजी गरेका हुन् ।

पहिले नेपालका पुर्वी तराईका बजारमा मात्र खपत हुने बन्दाको माग केहीवर्ष अघिदेखि भारतीय बजार सिलिगुडीमा अत्यधिक छ ।

किसानले यो सिजनदेखि भारतीय बजार कलकत्तालाई पनि आफुले उत्पादन गरेको तरकारी बिक्री गर्ने अर्को गन्तव्य बनाएका छन् ।

डेढ दशकअघि सिप्रेड नामक संस्थाले यस क्षेत्रका कृषकलाई मौसमी र बेमौसमी बन्दासहित अन्य ताजा तरकारी उत्पादन गर्न तालिम र बीउ उपलब्ध गराएपछि किसानले यसको व्यवसायिक खेती शुरु गरेका हुन् ।

सिप्रेडले त्यस समय सिकाएको बन्दा उत्पादन गर्ने सीप अहिले यहाँका किसानलाई वरदान सावित भएको कृषकहरूको भनाइ छ । बाह्रै महिना चिसो रहने यो ठाउँ बन्दा खेतीका लागि सुहाउँदो हावापानी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

कृषकले यो क्षेत्रको भिरालो र काम नलाग्ने जग्गामा समेत बेमौसमी बन्दाको खेती गर्दै आएका छन् । उत्पादन गुणस्तरीय भएकाले उत्पादित बन्दालाई बजारको समस्या नभएको किसानहरू बताउँछन् ।

लालीगुराँस नगरपालिकाले किसानहरूको सब्जी खेती गर्न मोह बढेकाले यस आर्थिक वर्षमा मेयरसँग कृषि कार्यक्रममार्फत् किसानहरूलाई व्यवसायिक बनाउन २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

उक्त रकमबाट किसानहरूलाई कसरी बढीभन्दा बढी व्यवसायिक बनाउन सकिन्छ भनेर तालिम, गोष्ठी, मल, बीउ, रोग नियन्त्रण र बजारीकरणका बारेमा जानकारी गराउने नगरपालिका प्रमुख अजुर्न माबुहाङले बताए ।