हिउँ पर्यो फुरुरु मैच्याङ माथि–माथि खुम्बु लेकमा,
तिमीलाई लिन म आउँछु चौरी चर्ने लेकमा...
तामाङ शैलीको गाना बज्यो । मानेडाँडा गाउँमा । अस्ट्रेलियन पर्यटक कम्मर मर्काइ–मर्काइ नाच्न थाले । कोही थप्पडी बजाउने । कोही तालमा ताल मिलाउने । सञ्चारकर्मीको क्यामेरा त्यत्तैतर्फ तेर्सियो । रात छिप्पिँदै थियो । मौसम चिस्सिँदै थियो । माहौल तात्दै थियो । डाँडाबाट तल हेर्दा झलमल्ल धरान बजार । विदेशी पर्यटकका कारण थप रौनक । उक्त दृश्य कोकाहा कृषि सामुदायिक होमस्टे उद्घाटन कार्यक्रमको हो । करिब १ महिनाका लागि नेपाल आएका हुन् बेरी । उनलाई गाउँ देखाउन लगेका थियौं । धरान २० मा पर्छ मानेडाँडा गाउँ । त्यहाँ पुग्न धरानको मङ्गलबारे चोकबाट १० किमी यात्रा गर्नुपर्छ । सडक स्तरोन्नति कार्य भइरहेको छ ।

alina magar

देशभर पर्यटन वर्ष २०२० को चहलपहल बढ्दो छ । यता गाउँमा होमस्टेको चासो उर्लंदो छ । मानेडाँडाका महिलाहरूले समूह बनाएका छन् । होमस्टे सञ्चालनमा तात्तिएका छन् । समूहमा आबद्ध प्रायः सबै बुहारीहरू हुन् । सासु–ससुरा र श्रीमान्ले काँध थापेका छन् । महिलाहरू हौसिएका छन् । पर्यटकलाई स्वागत गर्न आतुर देखिन्छन् । अहिले नौं घर तयार छन् । एक पटकमा करिब ३५ जना अटाउन सकिन्छ । यहाँ पर्यटनको दियो बल्न शुरु भएको छ ।

डाँडाबजारका कृष्ण ब्लोनको माध्यमबाट करिब २ वर्षअघि भारतीय दुई नागरिक गाउँ पुगेका रहेछन् । भारतीयले गाउँको अवलोकन गरे । होमस्टे सञ्चालनका लागि सुझाए । गाउँले तात्तिए । समूह गठन गरे । होमस्टे भएका केही गाउँहरू भ्रमण गर्न पनि भ्याइसकेका छन् । मानेडाँडाका लागि नयाँ कार्य । शुरुवात कसरी गर्ने अन्यौल थियो । धरान पर्यटन विकास समितिले आफ्नो क्षेत्रको ग्रामीण भेगलाई पर्यटनमा संलग्न गराउने लक्ष्य लिएको छ । होमस्टेको प्रारम्भिक जानकारी गराउने उद्देश्यले दुई दिने सहजीकरण कार्यक्रमको आयोजना गरियो । उक्त सहजीकरण कार्यक्रममा कोकाहा होमस्टेका पदाधिकारीको सहभागिता दरिलो देखियो । आजकल प्रायःजसो तालिम लिएर प्रमाणपत्र सङ्कलन गर्नेको ताँती देखिन्छ । हाम्रो मनसाय प्राप्त ज्ञानलाई प्रयोगमा ल्याइयोस् भन्ने थियो । तालिमपश्चात् पनि कोकाहाका महिलालाई झक्झकाउन तीन पटक गाउँ पुग्यौं ।

होमस्टे सञ्चालनका लागि आधारभूत मापदण्ड पूरा गर्नुपर्छ । होमस्टेका स्थानीय स्थानको आकर्षण र गतिविधि मुख्य पाटो हो । कोकाहा होमस्टेको आकर्षण र गतिविधीलाई उहाँहरूसँगै बसेर खोतल्ने प्रयास ग¥यौं । स्थानीय खानपानको विषयमा कुरा उठ्दा स्थानीय सिस्नोको मदिरा पान गराउन सकिने महिलाहरूले बताए । पाहुनाका लागि ती चिज नयाँ हुन्छन् । हामीले पनि हौसायौं । अहिले उनीहरू गाउँ आउने पर्यटकलाई अर्गानिक खानपानको स्वाद दिन खोज गरिरहेका छन् । स्थानीय चिजको अधिकत्तम प्रयोग नै होमस्टेको मुख्य उद्देश्य हो । जसले गाउँमै रोजगारीको सिर्जना गराउँदछ । कम प्ँजी भएकाले पनि पर्यटन व्यवसायमा सहभागिता जनाउने अवसर हो । आर्थिक र सामाजिक महत्व फिजिने माध्यम पनि हो । यसले संस्कृतिको जगेर्ना गर्न प्रेरित गर्दछ । एकआपसमा भाइचारा सम्बन्धको विकास हुन्छ । होमस्टे संस्कार संस्कृति सिक्ने पाठशाला पनि हो ।

समूहमा ९ जना महिला आबद्ध छन् । समूहकी अध्यक्ष जुनमति तामाङ हुन् । उनको सासु फूलमाया तामाङले समूहलाई भरपूर सहयोग गरेकी छन् । फूलमाया २० नं. वडा सदस्य पनि हुन् । विभिन्न सभा सम्मेलनमा सहभागी हुँदा होमस्टेको विषयमा सुन्थिन् रे । चासो बढ्यो । बुझ्ने मौका पाइन् । होमस्टेको फाइदा बुझेपछि गाउँमा बुहारीहरूलाई साथ दिएकी रहिछन् । गाउँ आउने पाहुनालाई बेलुका तामाङ संस्कृति पस्किने चाँजो मिलाएका छन् ।

बिहान चियाको चुस्की लगाउँदै धरान बजार नियाल्न सकिन्छ । मर्निङ वाक गर्दै धार्मिक आस्था भएका पाहुनाहरूलाई विष्णुपादुका मन्दिर दर्शनका लागि लगिन्छ । गाउँमा गुम्बा बन्ने योजनामा छ । दुई रातभन्दा बढी बस्ने पर्यटकलाई थप चिण्डेडाँडा, व्रिटिस पार्क घुमाउन लैजान्छन् । गाउले परिवेशमा रम्न चाहने पाहुनाका लागि उनीहरूले गाउँका गतिविधि देखाउने सोच बनाएका छन् । दाउरा बालेर चुल्होमा खाना पकाएको, जाँतोमा अन्न पिसेको, लोकल मदिरा बनाएको, सुँगुरलाई चारो हालेको, गाई दुहेको, गोरु जोतेको, बाख्रा चराउन लैजाने गरेको, घाँस काट्ने, खेतबारीमा अन्नबाली रोप्ने वा गोडमेल गराउने किसिमका समायानुकूल क्रियाकलाप गराइन्छ । गाउँमा होमस्टे सञ्चालकहरू नयाँ–नयाँ खोजको प्रयासमा लागिपरिरहेका छन् ।

सूचना गरेर आएका पाहुनालाई स्वागत गरिन्छ । टीका र फूलको गुच्छाले । चिया ख्वाएर होमस्टेको विषयमा जानकारी गराइन्छ । होमस्टे समुदायले आफ्ना केही आचारसंहिता बनाएका छन् । त्यसको विषयमा पनि सुसूचित गरिन्छ ।

समूहले पाहुनाको सङ्ख्या हेरेर बाँडफाँड गरी आफ्नो भागका पाहुनालाई आ–आफ्नो घरमा लैजान्छन् । सांस्कृतिक गतिविधिमा रम्ने पाहुनाका इच्छानुसार सामूहिक संस्कृति प्रस्तुत गरिन्छ । होमस्टेमा आएका पाहुनालाई भान्साकोठामै राखेर स्थानीय खाना ख्वाइने व्यवस्था गरिएको छ । यसले फरक स्थानका व्यक्तिहरूबीचमा परस्पर सम्बन्धको विकास हुन्छ । भिन्न स्थानको चालचलन र रहनसहनका विषयमा ज्ञान प्राप्त हुन्छ । शुल्क तिरेर एकदिन बस्नमात्र आएका पर्यटक हुन् भन्ने भावना कम हुन्छ । आत्मीयताको विकास हुन्छ । जसबाट होमस्टेको अर्थ पूरा हुनेछ ।

kfkf