चतरा/ वराहक्षेत्रस्थित चतराधाममा गत चैत २३ देखि १ महिनासम्म लागिरहेको कुम्भमेलामा आइतबार झण्डै २० हजार भक्तजनले कुम्भ स्नान गरी पूजाअर्चना गरे । नयाँ वर्षको उत्सवका कारण चतरास्थित कुम्भक्षेत्र र वराहक्षेत्र मन्दिरपरिसरमा श्रद्धालुको भीड देखियो ।
अघिल्ला कुम्भमेलाको तुलनामा न्यून प्रचार–प्रसारका कारण भक्तजनको उपस्थिति हुन नसकेको स्थानीय सरोकारवाला बताउँछन् । नेपाली भक्तालुको तुलनामा छिमेकी मुलुक भारतबाट उल्लेखनीय भक्तजन आउने गरेको यस पर्वमा भारतीय निर्वाचनका कारण नाकाबन्द भएकालेसमेत भक्तजन आउन नसकेको एकथरिको अनुमान छ ।
अघिल्लो कुम्भमेलामा पानीमात्रै बेच्ने व्यापारीले १ लाखभन्दा बढी कमाइ गरेको व्यवसायी बताउँछन् । अहिलेको कुम्भमा पनि उसै गरी कमाइ गर्ने अनुमान गरेका व्यवसायी हरेस खाएको सुनाउँछन् । साना व्यवसायीले पनि कम्तिमा १ हजार कार्टुन बोतलका पानी खरिद गरेका छन् । तर व्यापार नहुँदा व्यवसायी निराश छन् । वैशाखदेखि मेला भव्य लाग्ला भन्ने अनुमान गरेका व्यवसायीलाई नयाँ वर्षमा घुम्न आउने मानिसको भीडले केही राहत दियो । तर, वैशाखको दोस्रो दिन भने व्यापारी पुनः निराश भए ।
२ हजार भक्तजन पनि नआएको वैशाख महिनाको दोस्रो दिन व्यापारी झिँगा मार्दै बसेको अनुभव सुनाउँछन् । स्थानीय व्यवसायी प्रकाश राई भन्छन्, ‘पानीले डुबाउने भो ।’ यता लाखौंको पानी बेचौंला भन्ने अनुमानले बोतलको पानी थुपारेका व्यवसायीलाई चैते पानीले पनि उसै गरी दुःख दिएको छ । चैतमै वर्षा र हावाहुरी चलेपछि व्यवसायीका त्रिपाल उडाएको छ भने बासै बस्ने गरी बनाएका टहरा भताभुङ्ग पारेको छ । ‘कुम्भमा कन्तविजोग भयो’–झापाबाट आएका व्यवसायी मिलन थापाले भने ।
आन्दोलनमा व्यवसायी
खानेपानी, विद्युत् र बजार व्यवस्थापनबाट असन्तुष्ट भइरहेको व्यापारीहरूले गुनासो गरिरहेका बेला बिक्रीबट्टा पनि नभएपछि झण्डै १ सय बढी व्यापारी आन्दोलित भएका छन् । दुई ठाउँ बस पार्क निर्धारण गरिए पनि एक ठाउँमात्र स्थान कायम गरेपछि आफूहरूको व्यवसाय नभएको गुनासो गर्दै सय व्यापारी हस्ताक्षर लिएर बजार व्यवस्थापन उपसमितिसामु पुगेका छन् ।
उपसमितिले हस्ताक्षरसहितको मागपत्र मूल समितिलाई पेश गरेको छ । स्थानीय सामुदायिक वनको जग्गामा बसपार्क बनाएको मेला व्यवस्थापन समितिले सुनसरी –मोरङ सिंचाइ योजनाको बालचन खोरियातर्फ रहेको जग्गामा पनि बसपार्क निर्माण गरेको थियो । तर चतरातर्फमात्र यातायात साधन पार्किङ भएपछि खोरियाक्षेत्रका व्यापारीले व्यापार नभएको भन्दै आन्दोलन गरेका हुन् । समितिले यसको समाधान चाँडै निकाल्ने जवाफ दिएको व्यवसायी बताउँछन् ।
भिख माग्नेमात्र होइन, चन्दा उठाउने पनि धेरै
कुम्भमेला भनेपछि भिख माग्ने साधुदेखि भिकारीसम्म आउनु त स्वभाविक नै हो । उनीहरूलाई श्रद्धालुले धर्म हुने विश्वासमा चामल, दानदक्षिणा दिन्छन् तर कुम्भमेलामा पुण्य कमाइ हुने मनोविज्ञान लादेर आर्थिक समितिदेखि पुराण भन्ने पुरोहित, विभिन्न नाम गरेका बाबा, माता र धार्मिक संस्थाले रकम उठाइरहेका छन् ।
कुम्भमेला मूल आयोजक समितिले पुण्यका नाममा उठाएको दान, चन्दाको हिसाबकिताब पारदर्शी राखे पनि भिखमाग्नेहरूले पुण्यका नाममा आतङ्क सिर्जना गरिरहेको स्थानीय बताउँछन् । अघिल्ला कुम्भहरूमा ‘माता’ का नाममा करोडौं रकम असुलेकाहरूले ‘कुम्भ’ समितिलाई सुको नदिएको गुनासो आउने गरेको छ ।
कुम्भ क्षेत्रमा दानपेटिका मात्रै झण्डै पचास ठाउँ राखिएको छ । आर्थिक समितिका अनुसार अहिले दिनमा झण्डै ६० हजारसम्म एउटा दानपेटिकाबाट सङ्कलन हुने गरेको छ ।