कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको महत्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा चिनिन्छ । २०३२ सालमा स्थापना भएको आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको १७५ वर्ग किलोमिटरमा फैलिएको छ । नेपालमा संरक्षित क्षेत्रको वर्गीकरणअनुसार एकमात्र वन्यजन्तु आरक्ष, रैथाने अर्ना पाइने एकमात्र आरक्ष, विश्व रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र, पन्छी अवलोकन, अध्ययन, अनुगमनको उत्कृष्ट क्षेत्रजस्ता अनेकौं विशेषताले भरिपूर्ण क्षेत्र हो, कोशी टप्पु वन्यजन्तु आरक्ष ।
जैविक विविधतामा ३१ प्रजातिका स्तनधारी, ४५ प्रजातिका सरिसृप, ५२६ प्रजातीका पन्छी, ७७ प्रजातिका पुतली, १२७ प्रजातिका माछा, ५०२ प्रजातिका सपुष्पकसहित अन्य कैयौं प्रजातिका जडिबुटी यहीँ पाइन्छन् । पर्याप्त अवसर सम्भावना बोकेको क्षेत्र भए पनि कोशीटप्पु वन्यजन्तु आरक्षले अपेक्षित लाभ लिन सकेको छैन । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको आरक्ष प्रचारप्रसार तथा पूर्वाधार विकास अपेक्षाअनुसार नहुँदा फस्टाउन नसकेको हो । पर्यटकका लागि रमणीय स्थल भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा अझैसम्म सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छैन ।
स्थानीयहरूले आरक्ष क्षेत्रमा केही होटल सञ्चालनमा ल्याए पनि सोचेअनुसारको व्यापार हुन नसकेको बताउँछन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका होटल सञ्चालक हिमाल उराँवले बाहिरी पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रा घुम्न आउने गरेको बताए । डेढवर्ष यता कोशीटप्पु वन्यजन्तु क्षेत्रमा होटल सञ्चालन गर्दै आएका उराँवले विदेशी पर्यटक थोरै आउने भएकाले अपेक्षित व्यापार हुन नसकेको बताए । पर्यटक भित्रिएमात्र व्यापार बढ्ने हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन पूर्वाधार विकास र प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ । विदेशी पर्यटक आउँदा उनीहरूको चाहनाअनुसार यहाँको वातावरण र व्यवस्थापन हुन नसकेको उराँवको अनुभव छ ।
‘विदेशी पर्यटकहरू जे सोचेर यहाँ आउछन् त्यो पाउदैनन्, सुविधायुक्त खानेबस्ने स्थान र सञ्चारको पनि समस्याका कारण हप्ता दिनसम्म बस्ने गरी योजना बनाएर आए पनि उनीहरू एक-दुई दिनमै फर्केर जान्छन् ।’ उराँवले भने । विदेशी पर्यटकलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा टिकाउन गाह्रो भएको अर्का होटेल सञ्चालक कुरमान मन्सुरीले बताए । यहाँका विशेषताको बारेमा बुझाउन नसक्दा उनीहरू यहाँबाट गलत सन्देश लिएर जाने गरेको मन्सुरीले बताए । पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र भए पनि पूर्वाधार विकास तथा प्रचारप्रसार अभावले पछाडि परेको उनी बताउँछन् ।
यता कोशी टप्पु वन्यजन्तु आरक्षमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १५ हजार १८५ स्वदेशी, २० जना सार्क देशका तथा ३१९ जना विदेशी पर्यटक आएको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । जसबाट ३५ लाख बराबरको राजस्व असुली भएको उनले बताए । यसैगरी आर्थिक वर्ष २०७४÷७५ सालमा २१ हजार ७२९ पर्यटक आरक्ष घुम्न आएका थिए । जसबाट ४१ लाख ११ हजार २६५ रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।
निकुञ्जमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या कम रहेको सूचना अधिकारी तिवारी बताउँछन् । आरक्षको परिभाषाका कारण निकुञ्जमा घुम्न आउने विदेशीको सङ्ख्या कम रहेको उनले बताए । नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा आरक्ष भन्नाले वन्यजन्तु संरक्षण र उनीहरूको बासस्थानको रूपमा छुट्टयाइएको बुझिने हुँदा विदेशी पर्यटक कम आउने गरेको तिवारीले बताए । उनले भने, ‘विदेशीले वन्यजन्तुको बासस्थान र संरक्षणको लागि आरक्ष स्थापना भएको बुझिने हुँदा त्यहाँ गएपछि जनावरहरूलाई बाधा हुने भन्दै कमै आउने गरेको बताए । विदेशीहरू भित्र्याउन त्यस्ता परिभाषा परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । यातायात, सञ्चार, पूर्वाधार विकास हुनुकासाथै सुविधायुक्त होटलहरूको पनि अभाव रहेको उनले बताए । पर्यटनका लागि निकै सम्भावना र अवसर बोकेको क्षेत्र भएको बताउँदै तिवारीले यसको संरक्षण र सम्बद्र्धन भए रोजगार बढ्ने र स्थानीयस्तरका सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आउने बताए ।