नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेको छ । भ्रमणमा बाहिरी देशका २० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाएको छ । सरकारले ल्याएको योजनालाई साकार बनाउन यति बेला विभिन्न सङ्घ–संस्था, पर्यटन व्यवसायी, नेपाल सरकारका कर्मचारी, होटल व्यवसायीलगायतले अन्तरक्रिया, भ्रमण अवलोकन जस्ता कार्यक्रम शुरुवात गरिरहेका छन् ।

झापामा पनि केही दिन अघि झापा ट्राभल सङ्घले सरकारी कर्मचारी र पत्रकारलाई समेत लिएर भारतको सिक्किम राज्यको विभिन्न स्थानमा अवलोकन गर्ने निधो गरेछ । भारतका पर्यटन व्यवसायीले नेपलका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न आउने उद्देश्यले यो प्रबन्ध मिलाएको रहेछ । सङ्घले लैजाने नामावलीमा म पनि परेछु । प्रदेश नम्बर १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गाना, प्रशासन प्रमुख राकेश निरौला, विराटनगर एशोसिएशन अफ ट्राभल एजेण्ट अध्यक्ष फणीन्द्र अधिकारी, ट्राभल सङ्घ झापाका अध्यक्ष नेत्र कार्की, महासचिव पृथुराज (पृथम) गौतम, सचिव टीकाप्रसाद खरेल, कोषाध्यक्ष पेमा तामाङ, सदस्य हस्त तामाङ, दमक नगर अध्यक्ष केदार बस्नेत, भद्रपुर नगर सचिव निर्मलकुमार राजवंशी सञ्चारकर्मीहरू टीकाराम नेती, लक्ष्मी उप्रेती र राधा खनाल गरी १४ जनाको टोली भेला भएर भदौ १ गते विहान १० बजे काँकडभिट्टाबाट दुईवटा भारतीय बोलेरो गाडीमा हामी पर्यटन प्रचार प्रसारका लागि भारतको सिक्किमतर्फ हुइकिएका थियौँ ।

गाडीमा निर्मल राजवंशी, पेमा तामाङ, टीकाराम नेती, केदार बस्नेत, टीकाराम खरेल, हस्त तामाङ् र म थियौँ । त्यसैगरी दोस्रो गाडीमा बद्रीराज ढुङ्गाना,राकेश निरौला, निर बहादुर कार्की, फडिन्द्र अधिकारी, पृतम गौतम, लक्ष्मी उप्रेती र राधा खनाल । टोलीलाई पेमा तामाङ र निरबहादुर कार्की(नेत्र)ले नेतृत्व गरेका थिए । केहीबेरको यात्रापछि भारतको टिष्टा नदीमा पुगेर पहिलो अवलोकन र समूहगत फोटा लिने काम शुरु भयो । युद्धको क्रममा हतियार पखालेको ठाउँसमेत भनेर सो नदी परिचित रहेको पत्रकार नेतीले हामीलाई जानकारी गराए ।

पत्रकार उप्रतीले भने गाडीमा र हामी भेला भएको समयमा बेला बेलामा हसाउने गर्थे । यात्राको क्रममा हामी दिउँसो २ बजे सिक्किमको नाम्ची स्थित माउण्ट बोल होटलमा पुगेका थियौँ । होटलका सञ्चालक सचिन शर्माले टोलीलाई स्वागत गर्दै विहानको खाना तयार गरेका रहेछन् । खानापछि केहीबेर आराम गरेर नजिकै रहेको होटल हान्किममा हामीलाई स्वागत गर्दै नाम्चीका होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रियामा सहभागी भयौँ । अन्तरक्रियामा सिक्किम र नेपालबीचका पर्यटन तथा होटल व्यवसायीहरूले एक आपसमा समन्वय गरी दुवै देशको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने प्रतिबद्धता व्यक्त गरे । ट्राभल सङ्घ झापाका अध्यक्ष निरबहादुर(नेत्र) कार्कीले होटल एशोसियसन अफ नाम्चीका अध्यक्ष पिके राईलाई भिजिट नेपाल २०२० को निमन्त्रणा दिँदै पर्यटन वर्ष २०२० लाई सफल पार्नको लागि नाम्चीबाट जतिसक्दो धेरै पर्यटक नेपाल पठाउने वातावरण मिलाइदिन आग्रह गरे । कार्यक्रमपछि राईले बेलुकाको नास्ता र खानाको प्रबन्ध गरेका रहेछन् ।

mandir-1

हाम्रो टोली पनि होटल व्यावसायी जुनु राई, ट्राभल व्यवसायी केशव ठटाल, होटल व्यवसायी सचिन शर्मा समेत मिलेर स्वरुची भोजनमा सामेल भयौँ । राती अबेरसम्म निकै रमाइलो गरेर पुनः टोली वासस्थानको लागि लुइँटेल रेसिडेन्सीमा फर्कियो । सुत्नेको व्यवस्था सचिन शर्माले जिम्मा लिएका रहेछन् । टोली नेता कार्कीले सुत्ने कोठाको रुटिङ् हामीलाई सुनाएपछि सोही अनुसार व्यवस्था मिल्यो । यात्राको दोस्रो दिन विहानै सिक्किमको चारधामले परिचित सिद्धेश्वर धामको अवलोकन गर्ने उद्देश्यले टोली त्यसतर्फ लम्कियो । यात्रालाई सहज बनाउने उद्देश्यले चारधामको पूरै दर्शन हुने गरी एकै ठाउँमा रहेको दृश्यले हाम्रो छोयो ।

सो स्थानमा बद्रीनाथ, केदारनाथ, रामेश्वरम् र द्वारिका र अलग्गै १२ ज्योतिर्लिङ्ग मन्दिर साँच्चै नै मेहनत र करोडौँ खर्च गरेर बनाइएको धार्मिक स्थलको दर्शन, अवलोकन गरेर व्यक्तिगत तथा समूहमा फोटा लिएर पुनः टोली लुइँटेलको रेसिडेन्सीमा पुग्यो । टोलीले तय गरेको रुटिङ अनुसार विहान १० बजे नाम्ची कै होटल सहयोग हाङका सञ्चालक प्रमोद राईले स्वागत गर्दै नास्ताको व्यवस्था मिलाएका रहेछन् । गर्मी क्षेत्रबाट गएको टोलीले जाडो र त्यसमा पनि तातो तातो नास्ता सारै मजाले हामीले ग्रहण ग¥यौँ । केहीबेरको छलफपछि सेन्दुक्चेको बुद्ध स्तुपा गुरु पद्यमाको अवलोकन गरियो । समुद्र सतहबाट ७ हजार ९ सय फिटमाथि रहेको स्तुपाको अवलोकन गरी विहान साढे ११ बजे राङ्लामा रहेको बुद्ध पार्कमा टोली ओर्लियो ।

बाहिरबाट हेर्दा बुद्धको सामान्य मूर्ति देखिए पनि भित्र बुद्ध जन्मेदेखि मृत्युसम्मका लिला राखिएका रहेछन् । सूचना पाटीमा समेत बुद्ध नेपालको कपिला (कपिलवस्तु) मा जन्मिएको लेखिएको रहेछ । करिब सवा घण्टाको अवलोकनपश्चात् नजिकै रहेको बुद्ध पार्क होटलमा खाना खाई दिउँसो दुई बजे सिक्किमको राजधानी गान्तोकतर्फ प्रस्थान ग¥यौँ । बाटोमा गाडी रोक्दै विभिन्न दृश्यको आनन्द लिदै जाँदा साँझ ७ बजे लोर्नाक रेसिडेन्सीमा हरिशाही ठकुरीले हामीलाई स्वागत गरे । रात्रीको खाना तथा वासस्थानको व्यवस्था रहेको थियो । यात्राको तेस्रो दिन गान्तोकबाट करिब १ सय ४० किलोमिटर उत्तर लाचेन, लाचुङ् तर्फको यात्रामा थप एउटा गाडीसहित टोली विहानको नास्ता खाएर सवार भयो ।

यात्राको क्रममा विभिन्न झर्ना, विद्युत् निकाल्न टिष्टा नदीमा जमाएको पानीको मजा लिदै दिउँसो दुई बजे राङ राङ जिरो प्वाइन्टमा खाना खाएर गन्तव्यतर्फ अगाडि लागियो । यात्रामा काँक्रा, चियालगायतका वस्तु खाँदै राती ७ बजे लाचुङको शिला भुटियाको होटलमा वास बस्ने प्रबन्ध मिल्यो । हामीलाई निकै राम्रो स्वागत सम्मानसहित खानपानमा सहभागी गराइयो । लाचेन कटेर जान नेपाली र भारतीय नागरिकलाई प्रवेश रोक लगाएको रहेछ । यो वर्षदेखि बङ्गलादेशी नागरिकलाई भने खुला गरेको लाचुङ्का सोनाम दोर्जेले जानकारी गराए । हामीलाई गान्तोकका हरि सरले गाइडको रूपमा नागरिकताको फोटोकपी र व्यक्तिको फोटो राखेर प्रहरीलाई धेरै अनुरोध गरेपछि हामीले अनुमति पाएका थियौँ ।

लाचुङबाट ४५ किलोमिटरको उत्तरतर्फको दूरी पार गर्दै चौथो दिन विहानै उकालो लागेका थियो । कुना कन्दरामा समेत स्तरीय सडक देखेर नेपालको सडकको दुर्दशा सम्झिएँ । विहान करिब १० बजे तिब्बत र चीनको सीमाना लाचुङको अन्तिम विन्दुमा टोली पुग्यो । समुद्र सतहबाट ४ हजार ८ सय मिटरमा रहेको उक्त स्थानमा अक्सिजनको मात्रा समेत कम भएकोले म, टीकाराम खरेल फणीन्द्र अधिकारीलाई अप्ठ्यारो महसुस भएपछि सामान्य अवलोकन गरेर फिर्ता आयाैँ ।

केही तल आइसकेपछि तातोपानीका कुवाहरू छन् । त्यहाँ डुब्यो भने सबै शरीरको रोग निको हुन्छ भन्ने चालक आचु सरले जानकारी गराएपछि हामीले विभिन्न स्थानमा रहेका कुवामा आ–आफ्नै तरिकाले शरीर चोबली रमाइलो गर्याैँ । त्यसपछि पुनः लाचुङ्मा दिउँसो २ बजे खाना खाएर पौने ३ बजे टोली गान्तोकतर्फ फिर्ता आयो । राती ८ बजे हरि सरकै होटलमा बास बसेर स्वरुची भोजन गरी यात्राको पाचाँै दिन गान्तोकबाट ११ बजे विहान रातो पुल, सिन्ताङ, रम्फू हुदै बिहीबार साँझ झापाको काँकडभिट्टामा आइपुगेका थियौँ ।

विभिन्न स्थानमा अन्तरक्रिया तथा छलफल गरेर निम्तासमेत दिएर हाम्रो यात्रा सम्पन्न भएको थियो । यात्रापछि प्रदेश नम्बर १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव वद्रीराज ढुङ्गानाले दुवै देशका पत्रकारसहित पर्यटन तथा होटल व्यवसायीहरूले एक आपसमा समन्वय गरी देखिएका समस्यालाई बाहिर ल्याउन जरुरी रहेको बताउँछन् । भारतमा जताततै सडकको पहुँच देखिए पनि नेपालमा सडक अभावले गर्दा पर्यटन प्रवद्र्धन गर्न नसकिएको उनको धारणा थियो । सुरक्षाको हिसाबले पनि भारत अब्बल रहेको सुनाए । नेपालमा ठाउँ ठाउँमा नेपालीलाई नै प्रहरीले चेकजाँच गरेर हैरान बनाएका कारण यात्रा गर्ने मन नहुने उनको धारणा थियो ।

पाँच दिनको भ्रमणबाट त्यहाँका धेरै कुराहरू टोलीको मन छोएको निष्कर्ष निस्कियो । मैले भ्रमण गरेको क्षेत्र भारतभन्दा धेरै पर्यटकीय स्थल नेपालमा रहेको पाएँ । भारतको जुनसुकै स्थानमा पहाड फोडेर भए पनि सडकको पहुँच पुगेको छ भने नेपालमा त्यस्तो पाइँदैन । नेपालका पहाडी क्षेत्र भारतका भन्दा धेरै सौन्दर्यपूर्ण छन् । तर, नेपाल सरकारले सडक पुर्याउने चासो नदेखाएका कारण वार्षिक रूपमा करोडाँै रकम भ्रमण तथा अवलोकनमा भारत जाने गरेको छ । विश्वको अग्लो शिखर सगरमाथा, बुद्ध जन्मेको देश, लुम्बिनी, पशुपतिनाथ लगायतका अनगिन्ती पर्यटकीय स्थल नेपालमा छन् । तर, पर्यटक भिœयाउने बारे सरकारी तवरले कुनै चासो देखाएको पाइदैन । देशको सबै समय राजनीतिक लडाइँमा नै बित्ने गरेको पाइन्छ । भ्रमण वर्षलाई मात्र लक्षित गरेर सरकारले योजना ल्याउनु भन्दा पनि पहाडका कुना कन्दारामा कालो पत्रेसहितको सडक निर्माण गरे भ्रमण वर्ष सधैँ रहेने पक्का छ ।

sikkim