नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ ।
सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय १८ को मृत्यु हुने गरेकामा अहिले आएर ३३ मात्र मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । नवजात शिशुमृत्युदर पनि प्रतिएक हजारमा ७८ बाट घटेर २१ मा पुगेको छ ।
पाँच वर्षमुनिका बालमृत्युदर भौगोलिक क्षेत्रअनुसार फरक रहेको छ । पहाडी क्षेत्रमा प्रतिएक हजारमा ३१ र हिमाली क्षेत्रमा एक हजारमा ५५ जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा प्रतिहजारमा २३ र सुदूरपश्चिम प्रदेशमा एक हजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सर्वेक्षणअनुसार पुड्कोपना पनि घटेको पाइएको छ । सन् १९९६ मा ५७ प्रतिशत पुड्कोपन रहेकामा अहिले २५ प्रतिशतमा झरेको छ । यसैगरी ७१ प्रतिशत जीवित बच्चा स्वास्थ्य संस्थामा जन्मिने गरेका छन् । तीमध्ये ६२ प्रतिशत सरकारी अस्पतालमा जन्मिने गरेको पाइएको छ ।
सर्वेक्षणले १९ प्रतिशत बालबालिका अझै पनि घरमै जन्मिने गरेको सर्वेक्षणमा देखाइएको छ । घरमा बच्चा जन्माउनेमा सबैभन्दा बढी मधेस प्रदेशमा ३२, कर्णाली प्रदेशमा २४ र कोशी प्रदेशमा १८ प्रतिशत रहेको छ ।
यसैगरी १८ प्रतिशत बच्चाको जन्म शल्यक्रियाबाट हुने गरेको छ । शल्यक्रियाबाट बच्चा जन्माउने बढी माध्यमिक शिक्षाभन्दा बढी हासिल गरेका ४८ प्रतिशत महिला रहेका छन् । यस्तै सम्पन्न परिवारका ३८ प्रतिशत महिला र सहरी क्षेत्रका २२ प्रतिशत महिलाले पनि शल्यक्रियाबाट बच्चा जन्माउने गरेका छन् ।
सर्वेक्षणअनुसार ७२ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेको र एक प्रतिशतले अझै पनि जन्मदर्ता नगरेको पाइएको छ ।