सुनसरी । कोशी प्रदेशको माटोमा अत्यधिक अम्लीयपन भएको पाइएको छ । माटोको उर्वराशक्तिमा ह्रास आउने गरी ८६ प्रतिशतसम्म माटोमा अम्लीयपन भएको पाइएको हो । सुनसरीको झुम्कामा रहेको प्रदेशस्तरीय माटो तथा मल परीक्षण प्रयोगशालाको वार्षिक प्रगति प्रतिवेदनले माटोमा अम्लीयपन पुष्टि गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार २ सय ४१ माटोको नमुना परीक्षण गरेकोमा ८६ प्रतिशतमा अम्लीयपन भेटिएको हो । त्यस्तै १ प्रतिशत माटोमा क्षारीयपन भेटिएको छ भने तटस्थ माटो १३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा पनि माटोमा अम्लीयपन ८५ प्रतिशत भएको पाइएको थियो । कार्यालयले उक्त आर्थिक वर्षमा १ हजार २ सय ६५ माटोको नमुना परीक्षण गरेकोमा ८५ प्रतिशत अम्लीयपन भेटिएको हो । माटोको उर्वराशक्ति र उत्पादनमा दीर्घकालीन असर पर्ने गरी रासायनिक मलको असन्तुलित प्रयोग, माटो परीक्षणविनै हाइब्रिड बाली लगाउने प्रचलनलगायत कारणले अम्लीयपन धेरै भएको कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद यादव बताउँछन् ।
त्यस्तै कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा माटोको अम्लीयपन ८४ प्रतिशत भएको पाइएको थियो । उक्त आर्थिक वर्षमा प्रयोगशालाले २ हजार ४ सय ४५ माटोको नमुना परीक्षण गरेको थियो । जसमा क्षारीय माटो ५ प्रतिशत र तटस्थ माटो ११ प्रतिशत पाइएको थियो । बर्सेनि एउटै अनुपातमा माटोमा अत्यधिक अम्लीयपन देखिनु चिन्ताको विषय भएको कार्यालय प्रमुखसमेत रहेका माटोविज्ञ दिगम्बर यादवले बताए । उनले भने, ‘लगातार करिब ८५ प्रतिशतको हाराहारीमा अम्लीयपनको जुन तथ्याङ्क आइरहेको छ, यो चिन्ताको विषय हो । यसले हाम्रो माटोको उर्वराशक्ति घटिरहेको देखाउँछ ।’
प्रयोगशालाले माटोको अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थलगायत आधारभूत परीक्षण गर्ने गरेको छ भने सूक्ष्म तŒवका रूपमा रहेका जिङ्क (जस्ता), मोलिब्डेनम, फलाम, म्यागनिज, कपर (ताँबा), बोरन (स्वाग) जस्ता तŒवहरूको पनि परीक्षण गर्ने गरेको छ । यस्ता विभिन्न परीक्षणका माध्यमबाट कृषकलाई माटो सुहाउँदो बाली लगाउन सल्लाह दिने तथा बालीका लागि आवश्यक खाद्य तŒवको आपूर्तिको व्यवस्था मिलाउने सुझाव दिने गरेको कार्यालयले जनाएको छ ।
विज्ञहरूका अनुसार माटोमा अम्लीयपन मुख्य चुनौतीका रूपमा देखिएको छ । साधारणतया ६.५ देखि ७.५ पिएचमान भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा कम पिएचमान भएको माटोलाई अम्लीय माटो भन्ने गरिन्छ भने ७.५ भन्दा बढी पिएचमान भएको माटोलाई क्षारीय माटो भनिन्छ । अम्लीय माटो सुधारका लागि कृषि चुनको प्रयोग गर्नु उपयुक्त हुने र अम्लीय तथा क्षारीय दुवै माटोमा प्रशस्त प्राङ्गारिक मल प्रयोग गर्नसके माटो सुधारमा समस्या नहुने माटोविज्ञ यादव बताउँछन् ।
‘अम्लीय माटो सुधारका लागि कृषकहरूको क्षमता हेरेर हामीले कृषि चुन र प्रशस्त प्राङ्गारिक मलको प्रयोग गर्न सुझाव दिने गरेका छौँ । बाहिर देशहरूमा अरू पनि माटो सुधारका विधिहरू छन्, तर हाम्रो परिवेशमा त्यही नै उपयुक्त हो ।’ उनका अनुसार माटोमा अम्लीयपन बढ्दा र माटोबाट बालीले लिए जति खाद्यतŒव आपूर्ति नहुँदा फलफूल, तरकारी र अन्न विभिन्न बालीको उत्पादनमा ह्रास आउँदै गएको छ ।
मापदण्डविपरीत प्राङ्गारिक मल माटो सुधारमा चुनौती
प्रशस्त
प्राङ्गारिक मलको प्रयोगले माटो सुधार हुने भए पनि अधिकांश प्राङ्गारिक मल
मापदण्डविपरीत उत्पादन हुने गरेको पाइएको छ । प्रयोगशालाको वार्षिक प्रगति
प्रतिवेदनमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४२ ओटा नमुना
परीक्षण गर्दा ८३ प्रतिशत प्राङ्गारिक मल मापदण्डविपरीत उत्पादन भएको
पाइएको हो ।
त्यस्तै बजारमा ४० प्रतिशत रासायनिक मलसमेत मापदण्डविपरीत
रहेको पाइएको छ । प्रयोगशालाका अनुसार प्राङ्गारिक मलको मापदण्डमा
नाइट्रोजन १.०%, फस्फोरस ०.५%, पोटास १.०%, चिस्यान २०%, प्राङ्गारिक
कार्वन २०% तथा पिएच ६.०–८.० सम्म हुनुपर्छ । गुणस्तरीय मलको उत्पादन र
प्रयोगका लागि कृषकहरूलाई तालिमको व्यवस्था हुनुका साथै राज्यका सबै तह,
निकायहरू सक्रिय भएर गुणस्तरहीन मल उत्पादन गर्नेलाई कारबाहीको दायरामा
ल्याउनुपर्ने माटो विज्ञ यादवको भनाइ छ ।