विजयपुर । धरान उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै संस्थागत (निजी) विद्यालयलाई नियमविपरीत शुल्क नलिन तथा आवश्यक कागजात समयमै पेश गर्न निर्देशन दिएको छ ।


बिहीबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सबै संस्थागत विद्यालयलाई पत्राचार गर्दै आवश्यक विवरण तथा कागजात पेश नगरेसम्म कुनै पनि शुल्क नलिन निर्देशन दिएका हुन् । पत्रमा शैक्षिक सत्र २०८३ का लागि तोकिएभन्दा बढी शुल्क लिएको तथा अभिभावक भेलाबाट पारित नगराई मनोमानी ढंगले शुल्क असुल गरिएको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । विभिन्न संघ–संस्थाबाट विद्यालयहरूले मनोमानी रूपमा शुल्क उठाइरहेको भन्दै उजुरी परेपछि उपमहानगरपालिकाले उक्त निर्देशन जारी गरेको हो ।


प्रमुख प्रशासकीय अधिकृत राईद्वारा हस्ताक्षरित पत्रमा आगामी असार ८ गतेभित्र विद्यालयका आवश्यक विवरण उपमहानगरपालिकामा पेश गर्न भनिएको छ । तोकिएको समयभित्र माग गरिएका विवरण उपलब्ध नगराए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।


उपमहानगरपालिकाले विद्यालयसँग अभिभावक भेलाबाट दुई तिहाइ बहुमतले पारित गरेको मासिक शुल्क निर्धारणको प्रमाणित प्रतिलिपि, गत शैक्षिक सत्रको शुल्क विवरण तथा शैक्षिक सत्र २०८२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूको विस्तृत विवरण माग गरेको छ ।


साथै, चालु शैक्षिक सत्रमा लागू गरिने शुल्क अभिभावक भेलाको दुई तिहाइ बहुमतबाट पारित भएको प्रमाणित प्रतिलिपि पेश गरेपछि मात्र मान्य हुने जनाउँदै उपमहानगरपालिकाले अर्को सूचना जारी नभएसम्म अभिभावकबाट कुनै पनि शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ ।