प्राकृतिक विपत्तिले निम्त्याउने भौतिक क्षति र आर्थिक बर्बादीका पाटा त आँखाअगाडि छर्लङ्ग देखिन्छन् तर यसले मानिसको मनमस्तिष्कमा पार्ने गहिरो घाउ देखिँदैन । विपत्तिपछि राहत र उद्धारमा समाज र राज्यको ध्यान गएको हुन्छ तर सर्वस्व गुमाएर पीडाको भुमरीमा बाँचेकाहरुको मानसिक पीडालाई सम्बोधन गरिएको देखिँदैन । आर्थिक र भौतिक सहायताविना जीवित राख्न सकिएला तर मानसिक स्वास्थ्यलाई सम्बोधन नगरिएसम्म त्यो पुनस्र्थापना पूर्ण हुन सक्दैन । गत भदौ १० गते बिहान रसुवामा आएको विनाशकारी हिमपहिरोले नेपाल–चीन सीमादेखि तल्लो क्षेत्रसम्म ठूलो जनधनको क्षति पुर्यायो । यस महाविपत्तिको कठिन घडीमा पीडितहरुका लागि खाद्यान्न, लत्ताकपडा र बासको व्यवस्था गर्न समाजले हात फैलाएको छ । तर कालको मुखबाट बचेर आएका, परिवार गुमाएका र बाढीको भयङ्कर गर्जनले विक्षिप्त बनाएका मानिसहरुभित्र सधै“का लागि बसेको मनोवैज्ञानिक त्रासलाई मेटाउने दिशामा भने अझै गम्भीरता देखिएको छैन ।
समयमै यस पक्षमा ध्यान नदिइए विपत्का घाउहरु दीर्घकालीन मानसिक विचलन र आघातजन्य तनाव विकारमा परिणत हुने खतरा रहन्छ । विपत् भोग्नुपरेका मानिसहरुको मानसिक स्वास्थ्यमा पर्ने आघात बहुआयामिक हुन्छ । आफ्नै आँखैअघि आफन्त बगेको वा ढलेको देख्नु, वर्षौंसम्म जोडेको सम्पत्ति पलभरमै नदिएर जानु र आफू स्वयम् मृत्युको मुखबाट बाहिरिनुले मानिसको स्नायु प्रणालीमा गहिरो धक्का पु¥याउँछ । पानीको बहाव, पहिरोको आवाज वा ठूलो आवाज सुन्नेबित्तिकै तर्सिने, झस्किने र रातमा डरलाग्दा सपना देखेर चिच्याउने समस्या पीडितहरुमा सामान्य बन्न पुग्छ । भोलि के खाने, कहाँ बस्ने र परिवारको भविष्य कसरी जोगाउने भन्ने अनिश्चितताले उनीहरुलाई सधै“ असुरक्षाको मानसिक दबावमा परिरहन्छन् । यस्तो असहज परिस्थितिमा बालबालिका र वृद्धवृद्धा सबैभन्दा उच्च जोखिममा हुन्छन् । अभिभावक र घरबार गुमाएका बालबालिकामा देखिएको भय, विद्यालय जान मान्ने जिद्दीपन र पढाइप्रतिको अरूचि भविष्यका लागि गम्भीर सङ्केत हो ।
जीवनको उत्तरार्धमा पुगेका वृद्धवृद्धाले आफ्नो थातथलो र सन्तति गुमाउँदा पर्ने मानसिक आघातले उनीहरुलाई थप रूग्ण र शोकाकुल बनाउँछ । अस्थायी शिविर वा आफन्तको शरणमा आश्रय लिएका विस्थापितहरुको जीवन विवशता र हीनताबोधले ग्रसित बन्न पुग्छ । मृत्यु भइसकेका मानिसलाई जीवन दिन नसकिए पनि बाँचेकाहरुलाई जिउने बलियो मनोबल दिन हामी सबैको दायित्व बन्छ । त्यसैले विपत् प्रभावित क्षेत्रमा भौतिक संरचनाको पुनर्निर्माणसँगै मनोसामाजिक उपचारलाई अभियानकै रुपमा अगाडि बढाउनु अपरिहार्य छ । प्रभावित व्यक्तिका कुराहरु विनापूर्वाग्रह, गहिरो सहानुभूति र धैर्यताका साथ सुन्ने वातावरण बनाउनुपर्छ । उनीहरुलाई एक्लोपनको अनुभूति हुन दिन हुँदैन । विशेषगरी सामाजिक सुरक्षाको आभास गराउँदै मनोचिकित्सकबाट नियमित परामर्शको व्यवस्था गर्नुपर्छ । धनसम्पत्ति गुम्दाको क्षतिपूर्ति कालान्तरमा हुन सक्ला, तर मानसिक सन्तुलन गुम्दा वा मनोविज्ञान भत्किँदा त्यसको परिपूरण गर्न असम्भवप्रायः हुन्छ ।
राज्यले राहत प्याकेजसँगै प्रत्येक शिविर र प्रभावित बस्तीहरुमा दक्ष मनोचिकित्सक र मनोपरामर्शदाताहरुको टोली अनिवार्य रुपमा खटाउनु पर्छ । यसबाहेक यस विपत्तिले प्रत्यक्ष क्षति नपु¥याए पनि टेलिभिजन, सामाजिक सञ्जाल र समाचारमार्फत् भयावह दृश्य हेरेर त्रसित भएका आम नागरिकलाई मानसिक रुपले सुरक्षित राख्न राज्यले विशेष मनोसामाजिक सूचना प्रवाह गर्नुपर्छ । भविष्यमा आउन सक्ने यस्ता प्राकृतिक प्रकोपहरुको पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउँदै नागरिकलाई प्रविधिमैत्री र सचेत बनाउनु नै यस्ता विपत्तिको दीर्घकालीन समाधान हो ।