यतिखेर संघ र प्रदेशको प्रत्यक्षतर्फको चुनाव सम्पन्न भएको एक महिना पुगिसकेको छ । संविधानअनुसार समानुपातिकको परिणाम पनि सार्वजनिक भइसक्नुपथ्र्यो र नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुनुपथ्र्यो, त्यो हुन सकेको छैन । संविधान जारी गरेका कथित ठूला दलहरूकै सत्ता स्वार्थका कारण आफैंले निर्माण गरेको संविधानको द्विअर्थी भूमरीमा फसेका छन् र उनीहरूलाई महाभारतको चक्रव्यूह तोड्नु जत्तिकै गाह्रो भएको छ ।
[caption id="attachment_68052" align="alignleft" width="500"] हिरामणि दुःखी[/caption]‘वाम’ गठबन्धनले झस्किएको नेपाली कांग्रेसले पनि ‘लोकतान्त्रिक’ गठबन्धन बनाएर चुनावमा होमियो । परन्तु, गठबन्धनअनुरूपको नतिजा प्राप्त गर्न सकेन । प्रत्यक्षतर्फको चुनावमा त इतिहासकै सबैभन्दा कमजोर नतिजामा चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भयो । उता, ‘वाम’ गठबन्धनले भने राम्रो नतिजा प्राप्त गर्यो । एमाले र माकेको चुनावी तालमेलसँगै पार्टी एकताको प्रस्तावसहित स्थायित्व र समृद्धिको एजेन्डाले मतदातालाई प्रभावित गर्यो । त्यसका साथै कांग्रेस पार्टी र स्वयं प्रधानमन्त्रीसमेतले ‘वाम’ गठबन्धनको प्रचार गरिदिए । उनीहरूले नकारात्मक रूपमा गरेको टिप्पणी ‘वाम’ का लागि सकारात्मक प्रचार बनिदियो । कांग्रेसले ‘वाम’लाई कम्युनिस्ट शासन ल्याउन खोजेको भन्दै प्रचार गर्नाले जनतामा परेको कम्युनिस्टको भ्रममा मलजल पुर्यायो । जनताले खोजेको नै कम्युनिस्ट व्यवस्था थियो, त्यसैमा कांग्रेसले प्रचार गरिदिनाले न हो यो गठबन्धन त कम्युनिस्ट नै रहेछ भन्ने पर्न गयो त्यसैले पनि ‘वाम’ बाहेक अरूका कुरा सुन्न पनि जनता चाहेनन् । यिनै र यस्तै कारणले अहिलेको चुनावी नतिजा आयो । यही पृष्ठभूमिका बीचबाट माओवादी केन्द्रका अध्यक्ष दाहालको वर्तमानको राजनीतिक दाउपेच र उनलाई पर्न गएको संकटको चर्चा गर्नु यो टिप्पणीको उद्देश्य रहेको छ । अब त्यसतर्फ चर्चा गरौं ।
दाहाल आफ्नो पार्टी चुनावमा तेस्रो स्थानमा खुम्चिँदा पनि राजनीतिको मियो बनिरहेका छन् । यो उनका लागि अवसरको कुरा त हो तर अवसर कताबाट कुन तुरुप फ्याँकेर लिने भन्ने द्विविधामा परेर अन्यमनष्क अवस्थामा छन् । एउटा तुरुप प्रयोग गर्दा अर्कोको चक्रव्यूहमा फस्ने खतरा राम्रैसँग बुझेका छन् । लहरो तान्दा पहरो घर्किने र पहरो थाम्न खोज्दा जमिनै भासिने चुनौतीका बीचमा उभिएका छन् । यतिखेर उनलाई भेट्न आफ्नै पार्टीभित्र र बाहिरका पार्टी नेता, उद्योगी, व्यापारी, कूटनीतिक व्यक्तिहरू, वुद्धिजीवी आदिको लर्को दिनहुँ लागिरहेको छ । निवास, पार्टी कार्यालय, निर्वाचन क्षेत्र, सभा–सेमिनार, गोष्ठी, दलीय भेटघाट, बैठक आदि जहाँ गए पनि उनलाई पछ्याउनेको धुइरो नै छ । त्यसैगरी, राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रका प्रतिनिधिहरूले पनि उनैको फलोअप गरिरहेका छन् । यसबाट उनको चरित्रअनुसार मखलेल पार्ने त हुन्छ तर यो भेटघाट चुनौती, अवसर, थ्रेट सबै एकैसाथ उपस्थित भएर आउने गरेको छ । यसले उनलाई बेलाबखत निकै हैरानी र बेचैन पनि बनाउँछ, बनाएको देखिन्छ ।
दाहाललाई एमालेसँगको सहकार्य तोड्न नदिई ऊसँग एकता प्रकृया छिटो टुंग्याउने र नयाँ सरकार बनाई सत्तालाई स्थिरतातर्फ लैजान विलम्ब नगर्न दबाब र सुझाव छ भने अर्को तर्फको दबाब र सुझावमा एमालेसँगको सहकार्य तोड्ने र बरु उनकै नेतृत्वमा सरकार बनाएर गैर वाम घटकहरूसँगको गठबन्धन बनाउने रहेको छ । यो दुवै सुझाव वा दबाब प्रचण्डका लागि फाइदा कम बेफाइदा बढी देखिन्छ । प्रचण्डको भित्री मनसाय भनेको जनयुद्धको मुद्दाबाट उन्मुक्ति पाउने र प्रत्यक्ष जननिर्वाचितका रूपमा सके कार्यकारी राष्ट्रपति नभए प्रधानमन्त्री नै भए पनि एकपटक बन्ने र इतिहास बनाउने धोको हो । यो दुवै कुराको प्राप्ति उनलाई सजिलोसँग मिल्ने देखिँदैन ।
यतिखेर उनलाई आफ्नै पार्टीभित्रका दोस्रो तहका एकथरी नेता र कार्यकर्ताहरूले जनयुद्ध, माओवाद र संगठनको प्रमुख जस्ता विषय छोड्न नहुने दबाब दिइरहेका छन् । यी मुद्दा छोड्दा आफुहरूको स्थान असुरक्षित हुने देखेपछि उनीहरूले दाहालमाथि यस्तो दबाब बढाएको देखिन्छ । यहाँ स्मरण गर्नुपर्ने कुरा के छ भने अचेल विभिन्न अनलाइन, पत्रपत्रिका वा सामाजिक सञ्जालहरूमा ‘वाम’ एकता हुने वा गर्ने कुराप्रति माओवादी केन्द्र गुटभित्रबाट जेजति असन्तुष्टि, असहमति आदि स्वरहरू देखिन्छन्, त्यो कुनै क्रान्तिकारी आदर्श, मूल्य, सिद्धान्त र वर्गीय मुक्तिको चिन्तनबाट आएका होइनन् । माथिदेखि स्थानीय तहसम्मै अराजकता, निराशा, कुण्ठा, पलायनता र क्रान्ति भन्ने कुरा अब स्वैर कल्पना मात्र हो, जे जति भयो यहीँबाट आफ्नो जीवनको सुरक्षा खोज्नुपर्छ भन्ने चिन्तनले चिनियाँ पर्खाल जत्तिकै बलियो घर जमाएको छ । वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक भ्रष्टीकरण व्याप्त छ ।
आफुले के पाउन सकिन्छ, त्यसैमा बार्गेनिङ गरेर पार्टी कार्यकर्ता बन्ने प्रवृत्ति समग्र माओवादी आन्दोलनको समस्या बनेको छ । यस्तो चिन्तनको विकास गराउने स्कुलको नेतृत्वकर्ता स्वयं दाहाल हुन् । यसले पनि उनलाई दबाब सिर्जना गरेको छ । माकेभित्रको यस्तो अराजक र भद्रगोल संगठनात्मक संरचनाको जालोबारे एमालेलाई राम्रोसँग थाहा छ त्यसैले पनि एमालेले पार्टी एकतामा निकै नापीतौली विचार पुर्याएर सबै कुराको छिनोफानो गरेर मात्रै एकता गर्ने सोचमा केपी ओली र उनको गुट रहेको देखिन्छ । उक्त गुटले सरकार पहिला निर्माण गर्ने र नेतृत्व आफूहरूले लिने, पछि पार्टीको नेतृत्व पनि आफैंले लिने गरी एकताको प्रक्रिया बढाउने सोचमा रहेको देखिन्छ । पहिला पार्टी एकता गर्दा माधवकुमार, झलनाथ, वामदेवले खुलेर दाहालको समर्थन गर्ने र केपीलाई साइजमा ल्याउने खतरा पनि केपी गुटले अनुमान गरेको बुझिन्छ ।
‘वाम’ एकताको बाधक स्वयं दाहालको बोली पनि बनेको छ । चुनावअघि गठबन्धन बनाउने बेला उच्च नेतृत्व तहमा गरिएका कतिपय मौखिक जेन्टिलमेन एग्रिमेन्टका विषय बेलाकुबेला ठाउँ न कुठाउँ खोल्दै हिँड्नु र फिप्टी फिप्टी तवरले पार्टी नेताको टिम बनाउने, सरकार र पार्टी नेतृत्व आलोपालो चलाउनुपर्ने जस्ता प्रस्तावले पनि केपी गुट झस्किएको देखिन्छ । तसर्थ, पार्टी एकता त्यति सजिलो तरिकाले र छिट्टै हुने देखिँदैन । यदि पार्टी एकता हुन सकेन भने चुनावी म्यान्डेटविपरीत हुन जान्छ र यसले सरकार निर्माण प्रक्रिया पनि विभिन्न प्रकारका गठबन्धनीय बन्न जान्छ, जसले पाँच वर्षे कार्यकाल अस्थिरतामै बित्ने हुन्छ । यो संविधान निर्माता दलहरू र यो संविधानकै असफलता सावित हुन्छ । यो पनि चलाख दाहालले नबुझेको विषय होइन । पार्टी एकतासम्मै पुग्ने गरी ‘वाम’ गठबन्धन बन्नु र चुनावी घोषणापत्र एउटै बनाउनु दाहाल–केपीहरूको वैयक्तिक स्वार्थ र चाहनाले मात्र बनेको थिएन ।
यसका पछाडि पश्चिमाहरू (विशेषतः युरोपियन युनियन)को डिजाइन पनि अन्तर्निहित छ । पश्चिमाहरू यो एकताबाट एक गोलीबाट दुई सिकार गर्न चाहन्छन् । पहिलो ‘वाम’को नामबाट संसदीय कम्युनिस्ट एउटै बनाउने र कम्युनिस्ट नामको भ्रम दिएर सच्चा कम्युनिस्ट पार्टी र विचार समाप्त पार्ने । दोस्रो बहुदलबाट क्रमशः दुईदलीय सिस्टम स्थापित गर्ने र कम्तीमा पाँच वर्षे स्थायी सरकार बनाएर आफ्नो वित्तीय लगानी सुरक्षित गर्दै नवउदारवादी अर्थतन्त्र लागू गराएर नवऔपनिवेशको जग बलियो बनाउने । यो कुरामा भारतको सत्तापक्ष खुसी देखिँदैन । यद्यपि, उसले औपचारिक रूपमा चुनावी नतिजाप्रति बधाई दिए पनि आन्तरिक रूपमा उसले ‘वाम’ गठबन्धन तोड्न नै चाहन्छ । दाहाललाई पाँच वर्षे प्रधानमन्त्रीको अफर दिएर गठबन्धन तोड्न दबाब र सुझाव दिनुको कारण पनि त्यही नै हो ।
दाहाल संसदीय राजनीतिका समकालीन नेताहरूमा सबैभन्दा चलाख र ध्रूत खेलाडी हुन् । उनी आफ्नो स्वार्थ पूरा हुने देखेपछि एक्सट्रिममा सोच्ने र तुरुतै निर्णय लिने र आफ्नो पंक्तिमा लागू गराउन सक्ने नेता हुन् । ‘वाम’ गठबन्धन बनाउँदा एकतामा जान माओवादी विचार त्याग्न त राजी थिए नै कम्युनिस्ट नाम र झन्डा फालेर जान पनि तयार थिए भन्ने कुरा सम्बद्ध सूत्र बताउँछ । यसमा केपी ओली पनि तयारै थिए । तर, दुवैतर्फका तल्लो तहका कार्यकर्ता यो कुरामा तयार भएनन् । चुनावी गठबन्धन बनाउन दाहाललाई जति सहज भयो, त्यति पार्टी एकता गर्नलाई छैन । चुनावी गठबन्धनमा दोस्रो तेस्रो तहका नेताले पनि सहजै स्वीकारेका थिए । किनकि, तालमेल नगरेको भए अहिलेको जस्तो चुनावी नतिजा आउने थिएन । यो तालमेलबाट एमाले र माके दुवैलाई ठूलो उपलब्धि भएको छ । त्यसमा पनि एमालेलाई भन्दा बढ्ता फाइदा माकेलाई भएको छ । तालमेलले दोस्रो र तेस्रो तहका अधिकांश नेताको सिट सुरक्षित भएको छ । अब उनीहरू पार्टी र सरकारमा पनि सोहीअनुसारको भाग खोज्ने र आफ्नो प्रभाव सुरक्षित गर्न चाहन्छन् । त्यसले पनि दाहाललाई अप्ठ्यारो पारेको देखिन्छ ।
पार्टी एकता गरेर जाँदा सरकार स्थायी बनाउन त सहज छ तर दाहाललाई कांग्रेस र अरू बाहिर बसेका मधेसवादी दलहरूबाट असुरक्षा भने टर्दैन । जनयुद्धको मुद्दामा अदालत प्रयोग गर्ने र त्यो पनि नभए कथित मानवअधिकारवादी संस्थामार्र्फत अन्तर्राष्ट्रियकरण गर्ने खतरा पनि त्यत्तिकै छ । एमालेसँग एकता नगरेर कांग्रेस र मधेसवादी दल तथा स्वतन्त्र सांसदहरूको समर्थन लिएर दाहालले सरकार बनाउन त सक्छन् तर एउटै घोषणापत्र बनाएर चुनाव लडेका दाहाललाई एमालेलाई प्रतिपक्ष बनाएर सरकार टिकाउन र चलाउन सहज छैन । एकता नगर्दा संसद् बाहिर रहेका आफ्नै दलका नेता कार्यकर्ता धेरै एमालेमा प्रवेश गर्छन् । यसरी बाहिरिनेहरूको लर्कोलाई दाहालले ठूलो मूल्य चुकाएर पनि रोक्न सक्दैनन् ।
पार्टी एकता गर्दा असन्तुष्ट भएर बाहिरिनेको संख्या नगण्य मात्राको रहन्छ भने एकता नगर्दा एमालेमा जानेहरूको लर्को निकै ठूलो हुन्छ । मतदाताहरूको समर्थन पनि रहँदैन र पाँच वर्षपछि उनको दल पावरवाला चस्मा लगाएर खोज्नुपर्ने अवस्थामा पुग्ने खतरा रहन्छ । तसर्थ, चुनावपछिका दिन जसरी घस्रिँदै बितिरहेका छन्, दाहालका संकटका दिन झन्पछि झन् गहिरिँदै गएका छन् । विचार, सिद्धान्त, वर्ग, राष्ट्रप्रति घात गर्दा निस्केको परिणाम हो यो । दाहालले जतिजति हिजो आफैंले देखाएको सपनाप्रति घात गर्छन्, हिजो आफूलाई यो स्थानसम्म चढ्न भर्याङ बनेका वर्गप्रति अविश्वास गर्दै जान्छन् र साम्राज्यवादी विस्तारवादी शक्तिको सहारा लिन पुग्छन्, उतिउति फस्दै गएका छन् र अझ फस्दै जान्छन् ।