काठमाडौँ / राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे । 

खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल गर्‍यो । खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । उनले करिब ३० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

त्यस्तै खेलको ३०औँ मिनेटमा नेपालले दोस्रो अग्रता लियो । समिरले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाए । यसैगरी खेलको ५८औँ मिनेटमा माल्दिभ्सका लायन रसिदले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । 

तर ८८औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई जितको नजिक पुर्‍याए । त्यसपछि समीरले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे । समूह(ए)बाट सेमिफाइनलमा नेपाल र पाकिस्तान पुगेका छन् । माल्दिभ्स भने यस हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।