कच्चा पदार्थमा अत्यधिक परनिर्भर नेपालको औद्योगिक संरचनाले फेरि एकपटक आफ्नो कमजोर धरातल उजागर गरेको छ । भारतले सन् २०२६ को सेप्टेम्बरसम्म चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको उद्योग क्षेत्र पुनः गम्भीर सङ्कटको मोडमा पुगेको यहाँका उद्योगीहरुले बताएका छन् । विशेषतः जुस, बिस्कुट, चकलेट तथा कन्फेक्सनरी उद्योगहरु प्रत्यक्ष प्रभावित हुने सङ्केत देखिएको छ । नेपालमा चिनी उत्पादन हुने भए पनि देशको कुल माग धान्न पर्याप्त छैन । सरकारी तथा उद्योगी तथ्याङ्कले बजारमा केही मौज्दात रहेको देखाए पनि दीर्घकालीन रुपमा त्यो पर्याप्त नहुने स्पष्ट छ । विशेषगरी चाडपर्व नजिकिँदै जाँदा उपभोग ह्वात्तै बढ्ने भएकाले दसैं–तिहारतिर चिनी अभावको जोखिम देखिएकाले यस प्रति सरकारको ध्यान केन्द्रीत हुनु आवश्यक देखिन्छ । यस्तो अवस्थामा उत्पादन घट्ने मात्र होइन, बजारमा मूल्यवृद्धि, कालोबजारी र उपभोक्ता शोषणसमेत बढ्ने खतराप्रति सरोकारवाला जिम्मेवार बन्नु पर्दछ ।
चिनी सङ्कट केवल एउटा वस्तुको अभाव होइन, यो नेपालको औद्योगिक नीति, आपूर्ति प्रणाली र व्यापारिक निर्भरताको गम्भीर सङ्केत पनि हो । अहिले प्लास्टिक उद्योगहरु पनि मध्यपूर्व तनावका कारण कच्चा पदार्थ अभाव झेलिरहेका छन् । सामग्रीहरुमा उच्च मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प छ । उत्पादन ७० प्रतिशतसम्म घट्नु र हजारौँ श्रमिकको रोजगारी जोखिममा पर्नु अर्थतन्त्रका लागि चिन्ताजनक अवस्था हो । यदि खाद्य उद्योगहरु पनि यही सङ्कटमा फस्ने हो भने त्यसले समग्र औद्योगिक उत्पादन, राजस्व र श्रम बजारमा प्रत्यक्ष असर पार्ने कुरालाई नजरअन्दाज गर्न सकिँदैन । भारतले आफ्नो आन्तरिक माग धान्न निर्यात रोकेको निर्णय उसको राष्ट्रिय हितअनुसार स्वभाविक हुन सक्छ । तर नेपालले हरेक सङ्कटपछि मात्र विकल्प खोज्ने प्रवृत्ति बदल्न नसक्नु विडम्बना हो । वर्षौंदेखि एउटै मुलुकमा अत्यधिक निर्भर रहँदा यस्ता निर्णयले नेपाली बजारलाई सिधै प्रभावित बनाउने गरेको छ । खुला सीमाको भरमा अनौपचारिक आपूर्तिमा टिकेको बजार दीर्घकालीन समाधान हुन सक्दैन । नेपालले तेश्रो बजारको विकल्प तयारी नगर्नु गम्भीर समस्या हो ।
अब सरकार केवल मौज्दातको तथ्याङ्क सुनाएर ढुक्क बस्ने होइन । तत्काल तेस्रो मुलुकबाट चिनी आयात सहज बनाउन भन्सार सहुलियत, छिटो अनुमति प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सक्रियता देखाउन आवश्यक छ । यो त एउटा तत्कालको अस्थायी समाधान मात्र हो । दीर्घकालीन रुपमा स्वदेशी उखु खेती र चिनी उद्योगलाई प्रतिस्पर्धी बनाउने स्पष्ट नीति बनाएर स्वदेश मै चिनी उत्पादनलाई ग्राह्यतामा राखनु उचित हुनेछ । किसानलाई प्रोत्साहन, उत्पादन लागत न्यूनीकरण, भुक्तानी सुनिश्चितता र आधुनिक प्रविधिको प्रयोग विना आत्मनिर्भरता सम्भव छैन । उखु किसानका दुःख पनि बेला–बेलामा सार्वजनिक भइरहेका पनि छन् । कच्चा पदार्थ उत्पादनलाई राज्यले प्रोत्साहन गर्नु पर्दछ । नेपालले बारम्बार भोग्दै आएको यथार्थ यही हो कि कच्चा पदार्थदेखि उपभोग्य वस्तुसम्म वाह्य निर्भरताले राष्ट्रिय अर्थतन्त्रलाई असुरक्षित बनाइरहेको छ । सङ्कट आउँदा मात्र हतारिने अरु बेला कानमा तेल हालेर बस्ने प्रवृत्ति किमार्थ उचित होइन । समयमै वैकल्पिक आपूर्ति र स्वदेशी उत्पादन सुदृढ गर्ने नीति अवलम्बन गर्न राज्य अग्रसर हुनु पर्दछ । अन्यथा हरेक वर्ष कुनै न कुनै प्रतिबन्ध, युद्ध वा वाह्य निर्णयले नेपाली उद्योग र उपभोक्तालाई निरनतर सङ्कटमा पारिरहनेछ । राज्यलाई भैपरी आउने समस्याबारे चेतना हुनु जरूरी छ ।