'साँझकी शशी'

alt
  • फाल्गुन १३, २०७६
  • सन्तोष थेवे

पहिलो प्रश्न यहीँनेर उठ्छ, यदि मान्छेले गीत गाउन छोड्यो भने के हुन्छ ? हामीले युगौं लगाएर खोपेको सामाजिक सौन्दर्य कस्तो देखिन्छ? अनेकन उत्तरहरुको एउटै गाँठो हुन्छ, मृत समाजको श्मसानयात्रा । यो मृत्युले पहिलो घातक प्रहार मानवचेतना र बोधमाथि गर्दछ । अनि बाँकी अवशेष भनेको त गन्हाउने सिनो मात्र हो । प्रकृतिको अनेक रङ, रुप, लय–विलयको केन्द्रमा उभिएर मान्छेले जुन गीत गाउँदै आएको छ, त्यसले मान्छेलाई अझ विवेकी बन्दै थप जिम्मेवारीहरु दिएको छ । मान्छे यो जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, कहिले काहीत्यहिमान्छेबाट यति अनपेक्षित कार्य भइदिन्छ कि गाउँदै आएका सारा गीतहरु एक ध्वनि प्रदूषण सिवाय केही लाग्दैनन् । गीत मान्छेको सभ्यतासँग जोडिएको छ । तर, मूलप्रश्न के छ भने, मान्छे आखिर किन आजकल खुशीको गीतगाउन सक्दैन? उसका गीतहरुमा किन मानव मूल्यहरु क्षयीकृत भइरहेछन् ? गीत किन महारोदनका आँसुहरु पिउन बाध्य छ ?

एकपल्ट शशी थापा सुब्बा कृत ‘साँझकी शशी’ गीतसङ्ग्रहसम्म पुग्नै पर्दछ । उनको कव्यिक चेतनाझर्झराउँदो अगुल्टो हो । उनी समकालीन समाजका आरोह अवरोहबाट असान्दर्भिक रहन सक्दिनन् । उनका गीतहरुबाट यस्तो लाग्छ, उनी घुम्ने मेच माथि बसेर गीत लेख्न सक्दिनन् । नत्र कसरी मानिसका पसिना र आँसु टिपेर यति हृदयस्पर्शी रचनाहरु रचिन्छन् ? उनी मानव जीवन, घात, प्रतिघात, सपना, विश्वास, आशा, निराशा जस्ता आवेगहरुलाई कलात्मकताले प्राण भरेर आवाज दिन चुक्दिनन् । उनको गीत लेखन चेत र कौशल यति धाराप्रवाह छ कि मान्छेको मनमस्तिष्कमा एउटा गहिरो छाप सजिलै छोडिदिन्छ र मान्छे एकपल्ट सोच्न बाध्य हुन्छ, आफैले हिँडेका जीवनका गल्लीहरु तिर फर्किएर ।

शशी थापा सुब्बाको “साँझकी शशी”ले कसरी पाठकहरुको आकाश उज्यालो पारिदिन्छ, हामी त्यतातिर नगए एक स्रष्टामाथि धरातलीय स्तुत्यको कलङ्क पनि लाग्न सक्छ । कसैको कृतिमाथि बोल्नु या विचार राख्ने गर्नाले यी कुराहरुमा ध्यान दिएन भने अवश्य पनि एक स्रष्टाको कृतिमा अपव्याख्या अतिव्याख्या या अनाव्याख्या हुन जान्छ । त्यसैले सन्तुलनको ठूलो आवश्यकता पर्छ । जसको अन्तिम हतियार भनेको स्रष्टालाई उसकै सिर्जनासित राख्न सक्नु हो। जसले स्रष्टालाई समीक्षकको छाँयाबाट स्वतन्त्ररुपले विचरण गर्दै आफ्नो अस्तित्वको बोध गराउँछ ।
त्यसो भए उनका रचनाहरुसित साक्षात्कार गर्नै पर्ने हुन्छ –
“निधारै भरि पसिनाधारा, मन तर चुलबुले
लाग्दैन बेर ढिँडो र गुन्दु्रक, बाटैमा तीनचुले
चौतारी ओछ्यान, ढुङ्गाको सिरान
ओढ्नु छ ताराजून
टायरको फ्याङ्टा टालेको दौरा
ढाकरमा ढिके नुन”
“मेरो गाउँमा उदाउने घाम तिम्रो गाउँमा अस्ताउँछ
भए भरका पीडा बोकी रात मलाई जिस्काउँछ”
“मखमली जोवन मेरो, गुराँस लजाउँछ
जूनतारा आरिसले, आँसु बगाउँछ ।”
“मनको बाँध भात्किएर आँखाको मूल फुटेको बेला
वाचा गर्न नआऊ प्रिय, आकाशमातारा टुटेको बेला ।”
“आजभोलि चित्त दुखाई छोडेको छु रुन
फेरि किन अँध्यारो छ मनको एउटा कुना?”
“कैले हिउँदे शीत भई कैले वर्षे झरी
किन आउँछ निष्ठूरीको याद घरिघरि ?”

यी त हतार हतारमा टिपिएका केही प्रसङ्गहरु मात्र हुन् । उनले सङ्ग्रहभरि नै बहुतसंवेदनशीलताको साथ जीवनका विभिन्न पहलुहरु टिपेर जीवनमाला उनेकी छिन् । इमानदार भएर भन्ने हो भने यी दुर्लभ जीवनगीतहरु भोगाइको गहिराइमा डुबुल्की मारेपछि मात्र सम्भव हुन्छन् । यसबाट यो पनि प्रष्ट हुन्छ कि गीत लेखनमा उनको कति गहिरो साधना र प्रेम छ । यसरी जीवनका तरेली तरेली उघार्दै वैश्विक मानवचेतको झिल्का यति सरल र तरल ढङ्गबाट प्रस्तुतगर्न सक्नु चानचुने कुरो होइन । उनको यो कृति नेपाली गीति आकाशमा सधैं उदाइरहने जून हो र यसैमा सूर्यास्त पछिको रातको असीम सौन्दर्य गाँसिएको छ । साँझकी शशी यसरी नमुस्कुराइदिए के कुमुदिनी र पारिजातले आफ्नो बैंस सजाउन पाउलान् त ? मान्छेले जूनको शीतलमा थकाइ मारेर भोलिको यात्रा गर्न सक्लान् त ?

गीतकारको यो प्रौढता र कौशलता सङ्ग्रहभरि चम्किरहन्छ । जसले जीवनको केन्द्रमा गएर सञ्जिवनी रोप्छ । गीतको आफ्नै खाले रङ, रुप र स्वाद हुन्छ । गीत लेख्दा लेख्दै नै यसले आफ्नो भाका टिप्न थालिहाल्छ । उक्त कुरा शशीका गीतहरु पढ्दा थाहा लाग्दछ । यही शब्दमा स्वतन्त्र रुपले झङ्कृत हुन सक्ने गीतको शक्तिले पछि गएर सङ्गीतकार र गायकलाई एक ठाउँमा तानेर ल्याउने हो । गीतले अन्ततोगत्वा खोज्ने भनेको सरलता नै हो । यदि कुनै हालतले यो कुरा चुक्यो भने गीतमा प्राण भर्न हम्मे हुन्छ । र, सरलता गीतमा खिप्नु चानचुने कुरा होइन । यसमा हार्दिकता र बौद्धिकताको सम्मिश्रण गर्नु निकै चुनौतीपूर्ण हुन्छ तर यहीकुरा शशीको गीतिसङ्ग्रहमा झरनाजस्तो छङछङ बगेको पाइन्छ। जसले उनको गीतिलेखनको ल्याकतलाई प्रष्टरुपमा उजागर गरिदिन्छ ।

कहिलेकाहीँ गीत लेख्ने मनहरुलाई भनिएका स्थापित मानकहरुले पनि तगारो लगाइदिन्छन् । कतिले त गीतकारहरुको सिर्जनाधर्मितामाथि नै पनि धावा बोल्न सक्छन् । कुनै समय गुलजारको एउटा गीत “मेरे समान तेरे पास पडा हे, वो मुझे लौटा दो” लाई सङ्गीतकार आ.डि. वर्मनले यो पनि कुनै गीत हो भनेर इन्कार गर्दा पछि आशा भोस्लेले पुनः पढेर गाइदिँदा उक्त गीतले ख्याती र नयाँ जीवन पाएको प्रसङ्ग जीवित इतिहास बनेको छ । त्यसकारण पनि स्रष्टाहरुको सिर्जनालाई सम्वेदनशील मनहरुले पारख गर्नु निकै गम्भीर विषय बन्न जान्छ । भनाइको मतलब कहिलेकाहीँ सिर्जनाहरुलाई केवल धरातलीय रुपमानापतौल गरिन्छ र त्यस्तो ध्वंसात्मक कर्मबाट हामी सबै बच्नुपर्छ ।

हुन त यस गीत सङ्ग्रहमा विविध विषयवस्तुहरु उठाइएका छन् । यद्यपि शशीको कलमको सशक्तपक्ष प्रेममा गएर एउटा गतिलो उचाई र उडानले भरिन्छ । सङ्ग्रहभरि उनको यो सशक्तता अब्बल देखिन्छ । यो प्रेमिल विषयलाई उठाउन उनी निकै माहिर देखिन्छिन् पनि । उनले विषयलाई यति जिउँदो पाराले उठाउँछिन् कि मनमस्तिष्कमाथि छोइहाल्छ र सँगसँगै लागि हाल्छ कतै गीतकारले लुकेर मेरै कथाव्यथा उदाङ्गो पारिरहेकी छिन् । तर, यो सबै कुराको पछाडि एउटा गहिरो रहस्य छ । उनले जीवन र जगत्लाई कति सूक्ष्म तरिकाले पर्गेल्न सकिन् र त्यसमा कलाको लालित्यले शब्दहरुमा प्राण भरेर एउटा नयाँ जीवन दिन सफल भइन् । यो सबैको यश आखिर स्रष्टा शशीलाई नै जान्छ । हामी त केवल उनले खनेको गोरेटोमा हिँड्ने एक पथिकजस्तै हौं । किनभने, उनले यो सिर्जना नगरेको भए, साहित्यलाई यस्तो योगदान नगरेको भए, हामी यसरी यी स्रष्टाको सिर्जनामाथि आफ्नो निजत्व र प्रेम खोज्ने नै थिएनौं । अब उनको यो सङ्ग्रह हाम्रो पनि भयो । यसमा हाम्रो पनि हकदाबी लाग्दछ । यो हाम्रो एक अमूल्यसम्पदामा दरिएर बस्यो, बस्यो ।

राजन मुकारुङ खुलेरै दाबी गर्छन्ः –
“अब्बल शिल्पीका साथ लामो धैर्य साध्दै आएको यो कृति ‘साँझकी शशी’ ले मौलिक नेपाली बिम्ब निर्माणको आग्रह गर्दछ । कन्सर्ट क्रेजका लागि होइन,मानिसका खास भोगाइसित नजिक हुन, मोह र लोभभन्दा धेरै माथि उठेर मानिसले खास बाँच्नु र भोग्नुको यथार्थलाई लेखन गर्नमा यो कृति कठोरतापूर्वक जोड गर्छ ।” यदि राजन मुकारुङको यो विचारमाथि कुनै संशय छ भने यो कृति आफैमा साक्षी छ, जसले पाठकहरुको बोधगम्य स्वतन्त्रतालाई खुल्ला छोडेको छ । त्यस्तै गरी यस कृतिबारे शशी थापा सुब्बाको स्वीकारोक्ति पनि अर्थपूर्ण छ । उनी भन्छिन् ः “मेरा रचनाहरु मेरा लागि रहरे भावनाका लहरहरुमात्र होइनन्, यी त यथार्थको धरातलमा उथिएर सोच्दाका छटपटी र सुस्केराहरु हुन् ।

जीवनमा देखेका दुःख, सुख र विभिन्न परिवेशहरुसँग मैले यस्तरी मितेरी लगाएँछु कि आफ्नो खुशी, दुःखका अनुभव र उकुसमुकुसहरुलाई गीतमा पोखाउन थालेछु र मेरा गीतहरुको चाङ चुलिँदै आएछ ।” उनको यो अभिव्यक्तिले एकैसाथमा धेरै कुराहरु भन्दछ । जो सायद पाठकहरुले अघि नै बुझिसक्नु भएको छ । कुनै शङ्का छैन, उनले यतिलामो समय, लगन खर्चेर आफूलाई स्थापित गरी सकिन् । अब तुरुन्तै प्रश्न उठ्छ, हाम्रो सरोकार के हो, हामीले यी स्रष्टाहरुमाथि थप के गरेर आफ्नो निजत्व कायम गर्न सक्छौं । सङ्गीतका पारखीहरु, स्वरका धनीहरु अझै जुर्मुराउनु प¥यो । शब्दहरु टिपेर प्राण भर्नुप¥यो । युगौंदेखि बज्दै आएको, सुनिदै आएको स्वरमाथि स्वर थपेर नयाँ जीवनगीत गाउनु प¥यो । साँझ पर्खिएर शशीहरु जीवन आकाशमा उदाइरहनेछन् । तल धरतीमा बसेर मान्छेहरु मानवताको गीत गाइरहनेछन् ।

र, मनको आकाशमा भर्खरै साँझकी शशी मुस्कुराउँदै साउती गरिरहेकी छिन्........लाग्छ, जागेर रातभरि खेलिरहुँ...........खेलिरहुँ............ जीवनका सुन्दर तस्वीरहरु पल्टाउँदै......क्रमशः ....... !

सामान्य विवादमा छुरा ...

बिर्तामोड । झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिव ...

प्रदेश १ मा आइसोलेश ...

विराटनगर । प्रदेश नं १ मा कोरोनाको आशङ्कामा आइसोलेशनमा ...

चीनका सेनाद्वारा एक ...

धरान । चीनको सेनाले भारतको पूर्वोत्तर प्रदेश अरुणाञ्चलक ...

भारतमा एक वर्षसम्म र ...

धरान । भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायतको एक वर्ष ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved