हिनताग्रन्थीको उपज हो : केकबारे अनर्गल प्रचार

alt
  • फाल्गुन १४, २०७६
  • युवराज बास्कोटा

सन्दर्भ : गएको फागुन ११ गते सङ्घीय सरकारको प्रमुख, देशको प्रधानमन्त्री केपी शर्मा ओली सिंचाइ, सडक, शिक्षा, स्वास्थ्य आदि क्षेत्रका कार्यक्रमहरू लिएर आफ्नो पुर्खौली थलोमा पुग्नुभयो । यसक्रममा उहाँले पाँचथरको १३.७ किलोमिटर उचाइमा रहेको जिल्लाकै सर्वाधिक विकट गाउँ यासोकमा ३२ सय घरपरिवार लक्षित खाने पानीको भरपर्दो वैकल्पिक व्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । तमोर करिडोर सञ्चालनमा आएसँगै तेह्रथुमको आठराइबाट ताप्लेजुङको साँघुसम्म पुग्ने ६५ किलोमिटर पक्की बाटो निर्माणकार्यको शिलान्यास गर्नुभएको छ । तेह्रथुमका दूरदराज प्रभावित क्षेत्रका लागि नेपाल बैङ्कको १ सय ७७ औँ शाखा उद्घाटन गरी कार्यारम्भ गराउनुभएको छ । आफ्नो ६९ औँ जन्मदिनको अवसरमा उहाँ जन्मिएको स्थललाई पूर्वी पहाडी जिल्लाका लागि शिक्षाकेन्द्रको रूपमा विकास गर्न गराउन उच्च प्राविधिक शिक्षालय सञ्चालनका लागि जमिनको प्रबन्ध हुने घोषणा गर्नुभयो । आफ्ना ४ सय बालसखालाई जाडोयाममा प्रयोग हुने न्यानो कपडा र २ हजार बालबालिकालाई शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको छ ।

केपी शर्मा ओली आलोचकका आँखामा एकजना व्यक्ति हो । तर, दुनियाँले जान्ने कुरा भनेको उहाँ देशको ठूलो राजनीतिक पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री हो । यसबेला उहाँसँग सङ्घीय सरकारका मन्त्रीहरू, सांसदहरू, प्रदेश मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, स्थानीय जनप्रतिनिधिहरू, दलका नेता कार्यकर्ता र सरकारी कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहने कुरा एकदमै स्वभाविक थियो र हो । गाउँठाउँको मानिस राष्ट्रको कार्यकारी प्रमुख भएर आउँदा स्थानीय समुदायले आफ्नो सांस्कृतिक बान्कीलाई पहिचानीकृत गरी झाँकीको रूपमा उभ्याएर प्रदर्शन गर्ने कुरालाई झन् स्वाभाविक मान्न सकिन्छ । यसबाहेक अतिरञ्जना सिवाय केही थिएन र होइन । तथापि, उहाँको उछितो काढ्नु आफ्नो कर्मप्रधान ठान्नेले यहीँबाट दिनचर्या आरम्भ गरेका छन् ।

ध्याउन्न
दलको प्रमुख नेताका रूपमा रहँदा होस् ! वा, सडकमा उत्रिएर सङ्गठन गर्दा होस् ! वा, सदनमा उभिएर जनभावना अभिव्यक्त गर्दा होस् ! वा, देशका कुनाकन्दरा पुगेर सङ्कल्प अघि सार्दा होस् ! वा, प्रधानमन्त्रीको रूपमा सरकारका नीति कार्यक्रमलाई अघि सार्दा होस् ! प्रधानमन्त्री केपी शर्मा ओली आफूले अघि सार्नुभएको सुखी नेपाली ः समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न उहाँ दृढ सङ्कल्पित र समर्पित देखिनुहुन्छ । जनस्तरका प्रत्येक ससाना गतिविधिहरूदेखि लिएर राष्ट्रिय गौरवका योजना परियोजनाहरू यो अभियानको सहयोगी र सारथी बनून् भन्ने उहाँमा ध्याउन्न देखिन्छ । दूरदराजका नेपालीको अपेक्षा, आवश्यकता र स्थानीय विशेषतामा आधारित समाजवादको प्रारम्भिक मोडल विकास गर्न चाहनुभएको देखिन्छ ।

कु–प्रचार
देशका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका यी विषयवस्तुहरू केही दिनयता कतिपय छापाहरूमा र बग्रेल्ती अनलाइन मिडियाहरूमा चर्चाका विषय बनेनन् । अध्ययन, अनुसन्धान र विश्लेषणका विषयवस्तुहरू बनेनन् । बरू, आफ्नो ६९ औँ जन्मदिनको अवसरमा काट्नुभएको केकबारेमा धेरै कुराहरू आइरहेका छन् । तर्क र कुतर्कमाझ सामाजिक सञ्जाल प्रयोगमा फुर्सदिला देखिने व्यक्तिहरूलाई जन्मदिनको अवसरमा प्रयोग गरिएको केक र यसबारे अवधारणा राख्न र राखिएका मर्यादित अवधारणामाथि पनि नकारात्मक टिका–टीप्पणी गर्न भ्याइनभ्याई भएको समेत देखिन्छ ।

नेपाली समाज, खासगरी प्रविधिमा पहुँच भएको युवापुस्ता, यसमा पनि स्मार्ट प्रविधि र नेटवर्किङ आबद्धतामा रहेको युवा, जो देशबाहिर छन्, यो शक्ति किन यसरी नै नकारात्मक टिका–टिप्पणीमा उत्रिइरहेको छ ? छुद्र अभिव्यक्तिका साथ सामाजिक सञ्जालमा ओर्लिएको छ ? कुन लालसाले, कुन स्वार्थले, कुन राजनीतिक,सामाजिक अन्तर्यले, कुन अभिष्टताले सामाजिक सञ्जाल यसरी घैमल हुने गरेको छ ! मर्यादा खस्कँदो भइरहेको छ ! राष्ट्रिय मुद्दामाथि मनोरञ्जनात्मक प्रस्तुतिको विषय बन्ने गरेको छ ! कतिपय सन्दर्भमा त अश्लीलता अभिव्यक्त हुने गरेको छ ! यसको मनोवैज्ञानिक पक्षको सूक्ष्म अध्ययन र यसको वस्तुनिष्ठ समाधान खोेज्नु आवश्यक छ जस्तो लाग्छ ।

यस्तो प्रचार भइरहेको छ मानौँ– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन राजश्री ठाँटमा तीर्थाटनमा निस्कँदै छन् ! जन्मदिन मनाउन मात्र ठूलो तामझाम र हर्षोल्लासका साथ तेह्रथुम जिल्लाको अठराइमा महिनौंयता डेराडण्डा जमाएर बसेका छन् ! राष्ट्रिय ढिकुटी रित्याएर आफ्नो जन्मदिन मनाइरहेका छन् !

अभिव्यक्ति
कम्युनिष्ट प्रधानमन्त्रीले पनि केक काट्ने ? यत्रो ठूलो केक काट्ने ? राष्ट्रिय ढिकुटी रित्याएर केक काट्ने ? नेपालको नक्शाअङ्कित केक काट्ने ? प्रधानमन्त्रीले राष्ट्रियता काट्न पाइन्छ ? नेपाल आमालाई यसरी टुक्रा टुक्रा पार्न हुन्छ ? आदि आदि ढङ्गले कैयौं प्रश्नहरू तेस्र्याइएका छन् । उताउला अभिव्यक्तिहरू राखिएका छन् । छाडा अभिव्यक्तिसँगै मनोरञ्जनका छाल–उछालहरू संवादमा ल्याइएका छन् । आवेग र संवेगहरू पोखिएका छन् । आग्रह, पूर्वाग्रह र दूराग्रहहरू छ्यापछ्याप्ती भेटिन्छन् ।

सामान्यतया हामी पनि आफ्नो घरपरिवारमा वा सामाजिक जीवनमा अमुक व्यक्तिकै नाम लेखिएकै केक काटिरहेका हुन्छौँ । यो सम्बन्धित व्यक्तिप्रतिको उच्च सम्मान हो । व्यक्ति विशेषको नाश सर्वनाशको परिकल्पना होइन । स्थापित कैयौं सङ्घसंस्थाहरूले आफ्नो विशेष वार्षिकोत्सव मनाइरहँदा सम्बन्धित सङ्घसंस्थाको लोगो अङ्कित केक आदिको प्रयोग गरेका हुन्छन् । यसको अर्थ, सम्बन्धित सङ्घसंस्थाको सर्वविनाश होइन । यसको उज्जवलताको कामना हो ।

आम अभ्यास
राष्ट्रप्रमुख वा राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्ति विशेषको जन्मोत्सवको यो पछिल्लो प्रयोगको सन्दर्भमा नेपालमा नयाँ होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनका दिन प्रयोग भएको नेपाल नक्शा अङ्कित केक दुनियाँलाई चकित पार्ने घटना होइन ।

चर्चामा आएका पछिल्ला ताजा दुई तीनवटा मात्र सन्दर्भहरूलाई आधार मान्ने हो भने दुनियाँको महाशक्ति ठानिएको संयुक्त राज्य अमेरिकाका निवर्तमान राष्ट्रपति बराक ओबामाले देशको नक्शामाथि आफ्नो अनुहार कुँदिएको केक काटेर अमेरिकी सिनेट हाउसबाटै ‘बर्थ डे’ मनाए । गत वर्ष मात्र, चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काङ्ग्रेस चलिरहेका बेला पर्न गएको जन्मदिनको सन्दर्भमा राष्ट्रपति सी जिङपिङको प्रस्ट बान्की उतार्दै तयार गरिएको केक काटेर उनको सफल राष्ट्रपतीय कार्यकाल सम्पन्नताको कामना गरे ।

हाम्रो सर्वाधिक नजिकै छिमेक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले भारतको एकुरेट नक्शामा कुँदिएको आफ्नो तस्बिर अङ्कित केक काटेर भरखरै मात्र आफ्नो जन्मदिन बडो हर्षोल्लासका साथ मनाए । केक काट्ने संस्कृति गैरहिन्दुवादी संस्कृति हो । भारतीय प्रधानमन्त्री मोदी स्वयं हिन्दुवादी नेता हुँदाहुँदै पनि किन केक काट्ने तहमा आइपुगे ? यो त चर्चाको विषय कहिल्यै बनेन । हामीकहाँ किन यत्रो ठूलो स्वर ? किन स्वस्थ्यकर आलोचनको अभाव ? किन उग्र र विध्वंसात्मक मानसिकता ? नकारात्मक कुरालाई बढी महŒव दिने ग्रन्थी दिमागबाट यति चाँडो किन निस्किन्छ ? आफ्नो सफलताका लागि होइन, अर्काको असफलताका लागि मानिस किन लड्न, मर्न आतुर छ ? पात्रका हिसाबले मात्र होइन, पात्रताका हिसाबले यसबारे अध्ययन, मनन, विश्लेषण र व्यवस्थापन आवश्यक छ ।

समस्या
मनोचिकित्सक वा यससँग सम्बन्धित विज्ञहरू भन्दछन्– कहिलेकाँही मानिस आफूसामु देखिएको परिवर्तनदेखि डराउँछ । विकासको स्वाभाविक प्रक्रियादेखि तर्सिन्छ । यसका विरूद्ध यथास्थितिमै रमाउन आवश्यक वातावरण सिर्जना गर्न प्रयत्नशील रहन्छ । यसबेला दिमागमा नयाँ सोच सिर्जना गर्छ । भन्नुको अर्थ परिवर्तन र विकासविरूद्ध उद्वेलित हुन्छ । परिस्थितिले ल्याएको परिवर्तनलाई अवसरको रूपमा ठान्न सक्दैन । यसका विरूद्ध एकखाले मानिस परिवर्तनलाई सदा स्वागत गर्न चाहन्छ । समयसँगै आफूलाई बदल्न चाहन्छ । परिवर्तनसँग डराउने होइन, बरू डटेर परिस्थितिको सामना गर्न तयार हुन्छ । कहीँ यसको प्रभाव त होइन ?

निरन्तर हमला
नेकपा–स्थापित सिद्धान्तद्वारा निर्दिष्ट राजनीतिक वैचारिक पार्टी हो । दुईटा कम्युनिष्ट पार्टीहरू एक भएसँगै सहअस्तित्वमा रहेका राजनीतिक विचार अहिले सम्मिश्रित भएको छ । यो राजनीतिक अन्तरघुलनको विषय बनेको छ । यसक्रममा नेतृत्वमाझ विचार बन्ने, उघ्रने, समृद्ध हुने र सुरक्षित रहने यो यसको पृथक् पहिचान, गुण र धर्म हो । एउटा जीवन्त पार्टी र पार्टीको जीवनमा घटनाहरू घटिरहन्छन् । यो स्वाभाविक हो । राजकाजमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हुन्छ । तथापि, विषयवस्तुलाई यसरी खेती गरिन्छ, मानौँ अब विनाश भयो, सकियो । केही रहेन ।

एउटा घटनासँग सङ्घीय संसदका सभामुख कृष्णबहादुर महराको नाम आयो । सरकारले, दलले र दलको शीर्षस्थ नेतृत्वले बचाव गर्न आवश्यक ठानेन । स्वतन्त्र न्यायपालिकालाई छोड्दियो । यसले अनुचित ठहरायो । उहाँ कारबाहीको दायरामा आउनुभयो । बचाउनुपर्छ भन्दै कुनै पनि एकजना नेकपाजन सडकमा ओर्लिएन । संवैधानिक संयन्त्रको उल्लङ्घन र मानहानि गर्ने धृष्टता कुनै नेकपाजनले गरेन । तर, विडम्बना ! सारा शक्ति नेता महरा र महरा संलग्न राजनीतिक नेतृत्व र दलका खिलाफमा सङ्गठित भयो । यसलगत्तै नेपाल ट्रस्टमातहतका थुप्रै जग्गा र सम्पत्ति यति समूहसँगको सहकार्यमा अघि बढाउने प्रस्ताव अघि बढ्यो । सारा देशमाथि नै खेलवाड भयो, अनियमितता भयो भनेर नेतृत्व खुइल्याउने प्रयत्न भयो ।

यहीबीच एकाएक बालुवाटार जग्गा प्रकरण बाहिरियो, जुन विषय आफैमा नयाँ थिएन । तथापि, महासचिवको छोराको संलग्नताका कारण नेकपामाथि अश्रुग्यास बर्साउने काम भयो । यसलगतै तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरण बाहिरियो । प्रधानमन्त्री यस्ता गलत र अनुचित अभ्यासविरूद्ध हुनुहुन्छ । उहाँको विशेष सक्रियतामा भ्रष्टाचार रोकिने प्रयास जारी छ । नयाँ ढङ्गले कुनै भ्रष्टाचार भएको छैन । भ्रष्टाचारीको सङ्ख्या बढेको छैन । अध्ययन अनुसन्धानले भ्रष्टाचार न्यून गरेको छ । भ्रष्टाचारी कारबाहीका फन्दा आएसँगै बढेको हो कि भन्ने आभास पर्नु स्वाभाविक मात्र भएको छ । तर, पनि प्रधानमन्त्रीको उछितो काडिइरहिएको छ ।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई हतियारको रूपमा प्रयोगमा ल्याइँदै छ । उहाँमा निजी महŒवाकाङ्क्षा चुल्याएर संविधान नै संशोधन गर्ने कि भन्ने विषय नेकपामा पछिल्लो बहुचर्चाको विषय बनेको छ । यो कति उचित ! कति अनुचित ! समयले फैसला लेला ! युगान्तकारी राजनीतिक परिवर्तनको रणकौशल नेतृत्व गर्दै आएको वर्तमान नेतृत्वले यस्ता विषयमा प्रशस्तै विवेक पु¥याउला ! यो पनि प्रधानमन्त्री तथा एक्लो पार्टी अध्यक्षको योग्यतामापनको विषय बनाइँदै छ । यो निरन्तरको हमला कहिलेसम्म ? र, कसका लागि ? प्रश्नको उत्तर अनुमान लगाउन सके पनि यकिन भन्न सकिने अवस्था छैन ।

oli

सामान्य विवादमा छुरा ...

बिर्तामोड । झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिव ...

प्रदेश १ मा आइसोलेश ...

विराटनगर । प्रदेश नं १ मा कोरोनाको आशङ्कामा आइसोलेशनमा ...

चीनका सेनाद्वारा एक ...

धरान । चीनको सेनाले भारतको पूर्वोत्तर प्रदेश अरुणाञ्चलक ...

भारतमा एक वर्षसम्म र ...

धरान । भारतका प्रधानमन्त्री, राष्ट्रपति लगायतको एक वर्ष ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved