Bhojraj
  असोज ३०
आज हेनान प्रदेश जाने तय भएको दिन । बेइजिङ पुगेकै दिनदेखि नै कार्यक्रमको तालिका  दिइएको थियो । त्यो तालिकाभित्र हेनान प्रदेशको काइफिङमा जानुपर्ने भनी लेखिएको थियो । काइफिङमा फिल्ड भिजिटका लागि तय गरिएको थियो ।

बेइजिङको घरेलु विमानस्थलबाट करिब डेढ घण्टा बादलमाथि उडेपछि झेनजाउ विमानस्थलमा ओर्लियौँ । हेनान प्रदेशमा पर्ने उक्त विमानस्थलमा आइपुग्दा ३ः३० बजेको थियो । हाम्रो टोलीमा आइबोबाट आएका चाइनिज नागरिकसहित ४० जना थियौँ । नेपालसहित लाओस, अजरबैजान, प्यालेस्टाइन, क्युबा, चिली, युगाण्डाका गरी ३७ जना थियौँ भने आइबोकी सुपरभाइजरसहित तीन जना थिए । हाम्रो टोली काइफिङतर्फ लाग्यो । त्यो सहर ऐतिहासिक भूमि रहेछ । सुङ वंशले १ सय ६८ वर्ष शासन गरेको उक्त ऐतिहासिक थलोका बारेमा स्थानीय पर्यटक गाइड आरोनले यात्राका क्रममा सुनाए । आरोन उनको अङ्ग्रेजी नाम हो । उनको चाइनिज नाम अन्य देशका नागरिकले उच्चारण गर्न कठिनाइ भएकाले पनि आरोन राखिएको रहेछ ।

झेनजाउ विमानस्थलबाट हामी पुग्ने होटलसम्मको दूरी झण्डै एक घण्टाभन्दा बढी थियो । प्राचीन स्मारक तथा सम्पदाहरूले भरिपूर्ण रहेछ, काइफिङ । करिब ५ बजेतिर भियाना इन्टरनेसनल होटलमा आइपुग्यौँ । होटलमा पुग्नुअघि नै सबैलाई आ–आफ्नो रुम नम्बरहरू वीच्याटमार्फत् जानकारी आइसकेको थियो । होटलमा लबीमा पुग्नुअघि नै हामीलाई काइफिङमा चिनियाँ स्वागत गरियो । स्वागत गर्ने टोली काइफिङमा बसुञ्जेलका लागि स्वयम्सेवकको रूपमा खटिएका रहेछन् । उनीहरू सुङ वंशले लगाउने पहिरनमा सजिएका थिए । उनीहरू विभिन्न विश्वविद्यालयबाट आएका हुँदारहेछन् ।

होटलको लबी तथा रिसेप्सनमा प्रवेश गर्नेबित्तिकै हामीलाई पनि सुङ वंशले लगाउने पहिरन छान्न लगाइयो । आ–आफ्नो साइजअनुसारको पहिरन छान्यौँ । नेपालबाट पाँचजनाको प्रतिनिधि थियौँ । हामीलाई पाँचौँ तलामा बस्ने सुविधा रहेछ । कोठाको चाबी लिएर लिफ्टको सहारामा आ–आफ्नो कोठा पुग्यौँ । त्यहाँ पनि समय र तालिका दिइएको थियो । कति बजे के गर्ने ? भनी सबैकुरा निधो गरिएको थियो ।

त्यो पुगेको साँझ ६ बजे टोलीलाई काइफिङका मेयरले स्वागत गर्ने कार्यक्रम थियो । त्यसका लागि हामीसँग पर्याप्त समय थिएन । किनकि हामी आ–आफ्नो कोठामा पुग्दा ५ः२९ भइसकेको थियो । पहिलो फ्लोर अर्थात् बेन्क्वेट हलमा स्वागत कार्यक्रम राखिएको थियो । माथि नपुग्दै तल झर्नुपर्ने बाध्यता थियो । कोठामा पुगेर हातगोडा धोएर ठिकठाक पर्दा झण्डै ६ः०५ बजिसकेको थियो । तल झर्दा सबै साथीहरू झरिसकेका रहेछन् । केही आउन बाँकी पनि थियो । कार्यक्रमस्थलमा नपुग्दै कार्यक्रम सुरु भइहाल्यो । मेयरले आफ्नो कुराहरू राखे । उनको कुरालाई अङ्ग्रेजीमा अनुवाद गरियो । स्वागत कार्यक्रमलाई मेयरले ‘चेयरअप’ गरेपछि खाने कार्यक्रम सुरु भयो । खानेकुराको मेनु वीच्याटमार्फत् अगाडि नै प्राप्त भइसकेको थियो । त्यहाँ बस्दा सबै कुराको जानकारी वीच्याटमार्फत् नै प्राप्त हुन्थ्यो ।

China_visit1

के हुँदैछ ? के के कार्यक्रम छ ? के पहिरन लगाउने ? कता कता जाने ? आदि जस्ता विषय अगाडि नै तय भएका हुन्थे । सोहीअनुसारको पहिरनहरू लगाएर तयारी हुनुपर्ने थियो । कतै जानुपर्ने छ भने पनि समय पनि अगाडि नै तय भइसकेको हुन्थ्यो । अर्थात् अघिल्लो दिन नै जानकारी हुन्थ्यो । भोलिपल्ट हुने कार्यक्रमको सम्पूर्ण जानकारी अघिल्लो दिन नै हुन्थ्यो । त्यसले गर्दा हामीलाई भोलि के गर्ने भन्ने विषयमा दुविधा हुँदैनथ्यो । भोलिपल्ट गर्ने नित्य कर्मबारे अघिल्लो दिन नै प्रष्ट हुन्थ्यौँ ।

स्वागत सम्मानमा खानेकुराका अनेक मेनुहरू प्राप्त गरेका थियौँ । कतिपय खानेकुराबारे जानकारी नै थिएन । कतिपय साथीभाइमार्फत् सुनेका सम्म थियौँ । तर त्यहाँ पुगेपछि भने आफैले अनुभूति गर्न पायौँ । नयाँ–नयाँ स्वादहरू लिने मौका जु¥यो । स्वागत कार्यक्रमपश्चात् एक–अर्काबीच तस्बिर साटासाट ग¥यौँ । मैले आफूले नेपालबाट लगेर गएको मायाको चिनो त्यहाँका मेयर तथा केही अतिथिहरूलाई वितरण गरेँ भने केही तस्बिरहरू पनि एकसाथ खिच्यौँ ।

त्यसपछि छविलाल शर्मा, सुधीर श्रेष्ठ र म चाहिँ घुम्नका लागि निस्कियौँ । हाम्रा टोलीका दुई सांसद्हरू भने तस्बिर खिच्नमै मग्न भए । हामी मिलिनियल पार्कको छेउ हुँदै मास्तिर लाग्यौँ । सडकको पेटीमा चिनियाँ नागरिकहरूले साङ्गीतिक माहौल बनाएका थिए । त्यहाँ निकैबेर बस्यौँ । केही बेरपछि प्यालेस्टाइन नागरिकहरू पनि आइपुगे । उनीहरू र हामी मिलेर केहीबेर टहलियौँ ।

सडक पेटीमा आनन्दसँग चाइनिज नागरिकहरू खाना खाँदै गरेका भेटिए । हामीलाई देखेपछि उनीहरुले ‘निहाओ’ भने । ‘निहाओ’ को खास अर्थ ‘हेल्लो’ भन्ने हुँदो रहेछ । केही समय त्यहाँको वातावरण हेरेर हामी होटल फर्कियौँ । होटलमा आइपुगेपछि श्रीमतीजीसँग वीच्याटमा केही समय गफ गरियो । तर होटलको नेट उतिसाह्रो राम्रो नचलेकाले टेक्स्ट मात्रै लेख्न मिल्ने भयो । केही समय हेल्लोहाईमा बिताइयो ।

त्यहाँ फर्किने दिनसम्म गरी ३ दिनसम्म बस्ने निधो भएको थियो । करिब १०ः५३ तिर सुत्ने तरखरमा लागियो ।

कात्तिक १

५ः०० बजे नै निन्द्राले छाड्यो । शौचालय जाने, नुहाइधुवाइपश्चात् अघिल्लो दिन दिएको समयअनुसार ठिकठाक हुन थालियो । ८ः२० मा बसमा आइपुग्ने भनी समय तालिका दिइएको थियो । खाजाको बारेमा भने जानकारी थिएन । सोहीअनुसार साढे ७ बजेपश्चात् होटलको लबी पुगियो । लबीमा एकछिन बसेपछि हामीसँगै गएकी क्युबाकी महिलाले खाजाबारे जानकारी दिइन् । खाजा खाइयो । ८ः२० अगावै गाडीमा प्रवेश गरेँ । हामीलाई कहाँ लाने भनी अघिल्लो दिन नै निधो गरिएको थियो । सबैभन्दा सुरूमा स्न्याक्स कम्पनी द क्यापिटल अफ सोर एन्ड स्पाइसी भर्मिकलिङ चाइना एक्जिबिसन सेन्टरमा लाने तयारी थियो । वैशाख यतादेखि मैले तयारी खाजाहरू विशेष गरी चाउचाउ, मम, बिस्कुटजस्ता मैदाजन्य चिजबाट दूरी बनाएको थिएँ ।

त्यहाँ पनि चाउचाउको उद्योगमा लाने भनेपछि एक प्रकारको धारणा बनेको थियो । तर, त्यहाँ पुगेपछि भने त्यो धारणा एकाएक परिवर्तन गराइदियो । कारण थियो, हामीकहाँ चाउचाउहरू सबै मैदाबाट बन्छन् तर त्यहाँ आलु र चामलबाट चाउचाउजन्य चिजहरू निर्माण गरिँदो रहेछ । चाइनिजहरूको दैनिकको खाना नै चाउचाउजन्य हुन्छ । नेपालीहरूको दालभाततरकारीजस्तै उनीहरूको दैनिक खाना नै चाउचाउजन्य खानेकुरा हुन्छ । त्यो कम्पनीमा दैनिक २ सय मेट्रिक टन चाउचाउजन्य खानेकुरा उत्पादन हुने रहेछ र चाइनासहित विश्वका थुप्रै देशमा पुग्ने रहेछ ।

त्यहाँ ९५ प्रतिशत महिला कर्मचारी र बाँकी पुरूष कर्मचारी रहेछन् । महिला कर्मचारीको तलब ५ हजार युआन रहेछ भने विभिन्न अन्य सुविधाहरू रहेछन् । त्यो कम्पनीमा कसरी डिजिटललाइजेसन भएको छ भन्नेबारेमा जानकारी दिइयो । उद्योगहरूमा अधिकांश रोबर्ट र स्वचालित मेसिनहरू जडान गरिएको रहेछ । त्यो फ्याक्ट्रीका लागि अधिकांश कच्चा पदार्थ सोही ठाउँबाट आउने रहेछ । काइफिङलाई अझै पनि कृषि क्षेत्र भनिँदो रहेछ । स्थानीय पर्यटक गाइड आरोनले त्यसबारेमा हामीलाई जानकारी गराएका थिए । सहरको बीचमा भन्दा पनि उद्योगहरू विशेषगरी छुट्टै क्षेत्रमा राखिएको हुँदो रहेछ । हामीलाई कम्पनीका बारेमा जानकारी गराएपश्चात् त्यहाँबाट उत्पादित विभिन्न स्वादका स्न्याक्सहरू चखाइयो ।

त्यसपश्चात् हामीलाई कसरी बनाइन्छन् भन्नेबारेमा जानकारी दिन कम्पनीका विभिन्न प्रोडक्सन हाउसमा पु¥याइयो । करिब ४५ मिनेटको अवलोकन भ्रमणपश्चात् सामूहिक तस्बिर खिचेर होटल फर्कियौँ । होटलमा लन्चको व्यवस्थाबारे पर्यटक गाइडले यात्राका क्रममा जानकारी गराए । उनले ४० जनाका लागि चारवटा टेबल रहेको जानकारी गराए । एउटा टेबलमा १० जना बस्नुपर्ने भनी जानकारी गराए । खानापछि केही समय रेस्ट दिइएको थियो ।

२ः२० मा पुनः गाडीमा आइपुग्नका लागि भनिएको थियो । सोहीअनुसार दुइटा कम्पनीमा जाने निधो भएको थियो । जानुअगावै हामीलाई वीच्याटमार्फत् पानी परिरहेकाले छातासमेत बोक्नका लागि जानकारी आइसकेको थियो । होटलबाटै केहीले छाता लिएर बस चढ्यौँ । सबैकुराको अगाडि नै जानकारी दिने भएकाले केही समस्या नहुने रहेछ । मौसम उति राम्रो नभएको र चिसो बढ्दै गएको थियो । गाडीको सबैभन्दा अगिल्लो सिटमा बसेँ । केही समयपश्चात् हामी अटोमोबाइल कम्पनी चेरीमा पुग्यौँ । सन् १९९७ मा स्थापित संस्थाले सुरूका दिनमा निकै सङ्घर्ष गरेको रहेछ । तर आजका दिनमा भने विश्व बजारमा उसका कारहरू पुग्दो रहेछ । डिजल र इलेक्ट्रिक दुवै गाडी उत्पादन गर्ने रहेछ ।

गाडीहरू सबै रोबोटको मद्दतबाट बन्दो रहेछ । सबै नै डिजिटलाइजेसन भएको । धेरै कामहरू रोबोटबाटै हुँदो रहेछ । कसरी डिजिटलाइजेसन भएको छ भन्नेबारेमा हामीलाई केही समय कम्पनीको कर्मचारी महिलाले जानकारी दिइन् । त्यहाँका अधिकांश कम्पनीमा महिला कर्मचारीको सङ्ख्या बढी नै हुँदो रहेछ । हामीलाई उत्पादनस्थलमा पनि लिएर गइयो । उत्पादनका प्रोसेसबारे जानकारी दिइयो । त्यहाँ पनि सामूहिक तस्बिर खिचेर अर्को कम्पनीमा लिएर गइयो । कृषिसम्बन्धी तथा बहुतले घर निर्माण गर्नका लागि प्रयोग गरिने औजार निर्माण गर्ने कम्पनी जुमलिनमा लिएर गइयो । त्यहाँ ठूल्ठूला क्रेन तथा ट्याक्टरहरू निर्माण गरिने रहेछन् । बुम क्रेनदेखि लिएर अनेक प्रकारका औजार निर्माणमा कसरी रोबोटको प्रयोग हुन्छ भन्नेबारेमा जानकारी दिइयो ।

कृषिमा आधुनिकीकरण गर्नमा चाइनाले कसरी भूमिका खेलेको छ भन्नेबारेमा पनि जानकारी दिइयो । केही समयको जानकारीपश्चात् पुनः बसबाटै होटलतर्फ आयौँ । होटलमा आउने क्रममा रातको खाना आफैले खरिद गरेर खानुपर्ने जानकारी दिइयो । होटलमा आइपुगेपछि पानी परिरहेको हुनाले के खाने भन्ने विषयमा केही क्षण छलफल भयो । बागमती प्रदेशकी सांसद् मायादेवी शर्माले भने स्यान्डविच खाने बताउनुभयो ।

सोहीअनुसार छविलाल शर्मा पौडेल सर र म खानेकुराको बन्दोबस्ततिर लाग्यौँ । खानेकुरा किनेर फर्किने क्रममा लाओसका एक जना साथी पनि आइपुगे । हामी डिपार्टमेन्ट स्टोर खोज्नतिर लाग्यौँ । झण्डै २० मिनेट हिँडिसक्दा पनि डिपार्टमेन्ट स्टोर फेला पार्न सकिएन । केही चाइनिजहरूलाई सोध्यौँ तर उनीहरू अङ्ग्रेजी नबुझ्ने र हामी चाइनिज नबुझ्ने हुँदा समस्या भयो । त्यसपछि पुनः होटलमा फर्कियौँ ।

होटलमा आइपुगेपछि कोशी प्रदेशकी सांसद् मीना श्रेष्ठले पनि मेरा लागि केही नल्याएको भनी सोध्नुभयो । उहाँले केही नभनेकाले हामीले उहाँलाई केही पनि ल्याएका थिएनौँ । हाम्रै खानूस् न त भन्दा उहाँले म मेरो भागबाट अरूको भाग खान्न भन्दै अड्डी कस्न थाल्नुभयो । पछि मैले छवि दाइले दुइटा खानेकुरा ल्याउनुभएको छ भन्दा उहाँले मान्दै मान्नुभएन । त्यसपछि करिब ८ बजेतिर हामी आ–आफ्नो कोठातिर लाग्यौँ । दिनभरिको थकानले हुनसक्छ त्यो दिन चाँडै निदाइएछ ।

कात्तिक २ गते

बिहान ८ः०० बजेसम्म तयारी हुन भनिएको थियो । आज काइफिङ सिटीको ४२ औँ वार्षिकोत्सव हुनेवाला थियो । त्यसका लागि हामीलाई अतिथिको रूपमा स्वागत गरिने तयारी थियो । त्यसका लागि कार्ड दिइएको थियो । बिहान खाजा खाइवरि हामी त्यसतर्फ लाग्यौँ । ९ बजेबाट कार्यक्रम हुने तय थियो ।

समयभन्दा अगावै पुग्नुपर्ने हामीलाई बाध्यता थियो किनकि चाइनिजहरू सबै काम समयभन्दा अगाडि र पछाडि पनि गर्दा रहेनछन् । समयका पक्का रहेछन् । त्यहाँ अतिथिहरूलाई बस्ने सुविधा थिएन । सबै उभिएका थियौँ । हामीलाई लाइनमा राखिएको थियो । त्यहाँका अतिथिहरू ८ः५८ मा आइपुगे । अनि लगत्तै कार्यक्रम सुरू भयो । कार्यक्रममा सिपिसीका सेक्रेटरी र एकजना मन्त्रीले आफ्नो वक्तव्य दिनुभयो । करिब १० मिनेटभित्र सबै कार्यक्रम समापन भयो । त्यसपछि मिलेनियल पार्कभित्र प्रवेश गराइयो ।

पार्क भव्य र व्यवस्थित थियो । जता हेरे पनि सुन्दर देखिने फूलहरू थिए । पहेँलो फूल त्यहाँको विशेष रहेछ । हेनानको अर्थ पनि पहेँलो नदी भन्ने हुँदो रहेछ । पहेँलो फूलबाट चियाहरू निर्माण गरिएको रहेछ । त्यहाँ अधिकांश चिजहरू व्यावसायिक हिसाबबाट निर्माण गरिएको हुँदो रहेछ । हामी सबैलाई कानमा लगाउने ‘विसपर’ दिइएको थियो । ताकि त्यहाँको बारेमा जानकारी दिने र कोही हराएमा विसपरमार्फत् जानकारी हुने रहेछ । साथै हाम्रा लागि स्वयम्सेवक युवायुवती पनि खटिएका थिए । त्यो पार्कको अस्तित्व सुङ वंशसँग गाँसिएको रहेछ । जसलाई पहेँलो ड्रागन पनि भनिँदो रहेछ । त्यहाँ अधिकांशले तस्बिरहरू खिचे । मैले तस्बिरसहित केही भिडियोहरू खिचेँ । केही घण्टाको घुमाइपश्चात् हामीलाई पुनः होटलमा पु¥याइयो । होटलमा पुग्नुअघि नै हामीलाई खाना खानेबारे जानकारी दिइएको थियो ।

हिजोको जस्तै चारवटा कोठामा चारवटा टेबल राखिएको र जहाँ बसेर पनि खान सकिने जानकारी आरोनले दिएका थिए । आज चाहिँ खानाको व्यवस्था छैटौँ तलामा थियो । हरेक क्याबिनमा १० वटा कुर्सी राखिएका थिए भने खाना चाहिँ घुम्ने टेबल राखिएको हुन्थ्यो । जसलाई जुन परिकार मनपर्छ, सोही परिकार खान मिल्ने गरी व्यवस्था गरिएको थियो । सिफुड त्यहाँको विशेष परिकार रहेछ ।

खानापछि २ः२० मा हामीलाई तयार रहन भनिएको थियो । सुरूकै दिनमा हामीलाई सुङ वंशले लगाउने पहिरन दिइएको थियो । सो पहिरन लगाएर आउन भनिएको थियो । त्यो पहिरनबारे जानकारी नभएकाले सुरूमा खोलेर हेरे । हेर्दै एकदमै ठूलो साइज भएकाले लगाउन एकदमै अप्ठ्यारो भयो । सुरूमा त आफैलाई लाज लाग्ने । होटलको लबीमा आई स्वयम्सेवकहरूले हामीलाई लगाइदिए । त्यसपश्चात् पार्कमा लगियो । त्यहाँ विभिन्न ठाउँमा विभिन्न खालका जानकारीहरू दिइयो । सुङ वंशको इतिहासदेखि लिएर कसरी सुङ वंशले काइफिङलाई बचाएका थिए भन्नेबारेमा प्रदर्शनमार्फत् जानकारी दिइयो ।

नाटकीय शैलीमा प्रस्तुत गरेका कारणले गर्दा हेर्नलायक थियो । त्यहाँ एक्रोब्याटिक गर्नेहरू, सुङ वंशको पालामा विवाह गर्ने शैलीका बारेमा जानकारी गराइएको थियो । विवाह गरिने घरमा लगेर केही समय राखियो । त्यो घरमा युवतीहरूले आफूलाई मन पर्ने केटा कसरी छान्छन् भन्नेबारेमा प्रदर्शन गरेर देखाइयो । त्यो क्रममा अजरबैजानका एक नागरिकले सुङ वंशका पालामा गरिने विवाह गरे । त्यसले माहौल झनै रमाइलो बन्यो ।

त्यहाँबाट पुनः होटल आई खाना खाएर काइफिङको ४२ औँ वार्षिकोत्सवको कार्निभलमा पुगियो । त्यसका लागि हाम्रो टोलीलाई बीको रोमा बस्ने सुविधा दिइएको थियो । त्यहाँ चिनियाँ नागरिकहरूले हामीलाई भव्य स्वागत गरे । त्यो कार्निभल एकदमै रोचक र हेरौँ हेरौँ लाग्ने किसिमको थियो । करिब २० मिनेटपश्चात् नै आतिसबाजी गरियो । त्यो झनै हेर्न लायक थियो । आर्कषक आतिसबाजीपश्चात् हामीलाई पुनः होटलमा ल्याउने तयारी गरियो । त्यसक्रममा हाम्रा टोलीमध्ये दुई सांसद्हरू छुटे । गाडीमा पुग्दा पनि उनीहरू थिएनन् । हामीले हाम्रो सुपरभाइजरलाई भन्यौँ । ‘हामी खोज्छौँ’ भन्दा उनीहरूले मान्दै मानेनन् । उनीहरूलाई खोज्न फ्र्यान्क र ओलिभिया हुन्छन् । पछि रिजर्भमा ल्याउँछौँ भनी भने ।

त्यसपछि नरमाइलो मान्दै हामी होटल फर्किदै गर्दा उनीहरू भेटिएको जानकारी आयो । त्यसपछि होटलकै लबीमा बसेर कुर्न लागेँ । करिब पौने १० बजेतिर पर्खिरहेको बेलामा आई किन छाडेको भन्दै रिसाउन थाल्नुभयो । मैले केही कुरा भन्न लाग्दा नै सांसद् मीना श्रेष्ठले ‘भो कुरा नगरौँ हिँड्नूस् दिदी’ भन्दै मायादेवीलाई लिएर जानुभयो । त्यो दिन रातको १ बजेसम्म निद्रा राम्रोसँग परेन । कतिबजे निदाइएछ थाहै भएन । बिहानको ब्रेकफास्टपछि ११ बजे होटल छाड्ने र बेइजि फर्किने कार्यक्रम थियो ।